कलंकी-महाराजगन्ज चक्रपथ पनि आठ लेनको बन्दै

चक्रपथ विस्तारको दोस्रो चरणको काम चाँडै सुरु हुँदै, इन्जिनियरिङ डिजाइन धमाधम
काठमाडौं चक्रपथअन्तर्गतको कलंकी–महाराजगन्ज खण्ड पनि चाँडै आठ लेनको बन्ने भएको छ । चक्रपथ विस्तार आयोजनाअन्तर्गत दोस्रो चरणमा कलंकी–महाराजगन्ज खण्डको विस्तृत इन्जिनियरिङ डिजाइनको काम भइरहेको काठमाडौं चक्रपथ आयोजनाका प्रमुख अमृतमणि रिमालले जानकारी दिए । पहिलो चरणमा कलंकी–कोटेश्वर खण्ड यसअघि नै आठ लेनको बनिसकेको छ ।

कुल २७ किलोमिटर लम्बाइ रहेको चक्रपथको दोस्रो चरणमा ८ दशमलव २ किलोमिटर सडक विस्तार तथा सुधार गरिनेछ । प्राविधिक तयारीअन्तर्गत डिजाइनको काम चिनियाँ टोलीले तयार गरिरहेको आयोजना प्रमुख रिमालले जानकारी दिए । विस्तारपछि सडक ५० मिटर चौडाइ भएको आठ लेनको हुनेछ । अहिले कलंकी–कोटेश्वरबाहेकका स्थानमा चार लेनको सडक छ ।

चिनियाँ प्राविधिक टोलीले तयार गरेको इन्जिनियरिङ डिजाइन प्रतिवेदन सडक विभागलाई बुझाउनेछ । त्यसपछि नेपाली प्राविधिकले आवश्यक सुधार गरी अन्तिम रूप दिनेछन् । अझै चिनियाँ टोलीले प्रतिवेदन बुझाउन बाँकी रहेकाले कहिलेसम्म इन्जिनियरिङ डिजाइनले तयार हुने स्पष्ट नभएको काठमाडौं चक्रपथ आयोजनाका अधिकारीहरूको भनाइ छ ।

निर्माणपूर्वको तयारी सुरु
काठमाडौं चक्रपथ आयोजनाले दोस्रो चरणअन्तर्गत विस्तार हुने खण्डमा निर्माणपूर्वको तयारी थालेको छ । यसअन्तर्गत विस्तार हुने क्षेत्रमा रहेका बिजुलीका खम्बा, पानीका पाइप, ढललगायत हटाउने तथा नयाँ स्थानमा व्यस्थापन गर्ने काम थालिएको छ । त्यसका लागि आयोजना कार्यालयले कागजी काम गरिरहेको छ । आयोजना प्रमुख रिमालका अनुसार नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् खम्बा हटाउन भनिसकेको छ । विद्युत् खम्बा हटाउन प्राधिकरणलाई सडकले आवश्यक लागत उपलब्ध गराउनुपर्छ । प्राधिकरणका अनुसार विद्युत् खम्बा हटाउन करिब २० करोड रुपैयाँ लाग्नेछ ।

त्यस्तै, सडक विस्तार क्षेत्रमा पर्ने रूख कटान गर्ने प्रक्रिया अघि बढाउन लागिएको छ । ढल, पाइपजस्ता संरचनालाई पनि व्यवस्थित गर्ने तयारी आयोजना कार्यालयले थालेको छ । पहिला नै जग्गा प्राप्ति भइसकेका कारण अहिले आयोजनाले जग्गा प्राप्ति गर्नुपर्ने भने छैन ।

कलंकी–कोटेश्वर सडक
चिनियाँ अनुदान र प्राविधिक सहयोगमा विस्तार हुने चक्रपथ आयोजनाअन्तर्गतको पहिलो चरणमा कलंकीदेखि काटेश्वरसम्मको १० दशमलव ३ किलोमटिर सडक विस्तार पूरा भइसकेको छ । सो विस्तारित खण्ड चीनले २५ माघ ०७५ मा नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । अब यसको व्यवस्थापन नेपाली पक्षबाट हुनेछ ।

सन् २०१३ देखि सुरु भएकोे कलंकीदेखि कोटेश्वरसम्मको सडकखण्ड सन् २०१६ मा सम्पन्न गर्नुपर्ने थियो । तर, २०१५ मा गएको भूकम्प, निर्माण सामग्रीको अभाव र अन्य कारणले २०१८ मा सम्पन्न भएको हो । भूकम्पपछि १ वर्षसम्म चिनियाँ ठेकेदारले विस्तारको कुनै काम गरेन । पछि सन् २०१८ सम्मको म्याद थपेर आयोजना सम्पन्न गरिएको हो । उक्त खण्डको निर्माण चिनिया कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपले रहेको हो ।

अनुमानित लागत ५ अर्ब रुपैयाँ
कलंकीदेखि कोटेश्वरसम्मको सडकखण्ड विस्तार तथा सुधारका लागि करिब ५ अर्ब रुपैयाँ खर्च भएको चक्रपथ विस्तार कार्यालयको भनाइ छ । तर, कुन कामका लागि कति खर्च भयो भन्ने जानकारी छैन् । चीनले अनुदान सहयोगमा पूरै चक्रपथ निर्माण गरिदिने सहमति भए पनि आयोजना नै आफैँले लिएर अनुदानमा निर्माण गरिएको हो । सोहीकारण पनि खर्चको यथार्थ जानकारी सार्वजनिक नभएको आयोजना प्रमुख रिमालले बताए । पहिलो चरणमा चीनले आफ्नै निर्माण कम्पनीमार्फत कलंकीदेखि कोटेश्वरसम्म निर्माण गरेको थियो । कलंकी–कोटेश्वर सडक विस्तारको डिपिआर सन् २००८ मै तयार भएको थियो । चक्रपथ निर्माणका लागि नेपाल र चीनबीच भने १८ डिसेम्बर २०१२ मा सम्झौता भएको हो ।

महाराजगन्ज–कोटेश्वर कहिले बन्छ ?
दुई देशबीच सम्झौता भइसकेका कारण तेस्रो चरणमा महाराजगन्जदेखि कोटेश्वरसम्मको करिब ८ दशमलव ५ किलोमिटर विस्तार कार्य हुनेछ । तर, दोस्रो चरणको काम नै प्रारम्भिक अवस्थामा भएकाले तेस्रो चरणको काम कहिले सुरु हुने अहिले नै जानकारी दिन नसकिने चक्रपथ आयोजना प्रमुख अमृतमणि रिमालले बताए ।

कलंकी–कोटेश्वरमा भएको कमजोरी सच्याउने
पहिलो चरणअन्तर्गत कंलकी–कोटेश्वर खण्डको डिजाइनमा अकासेपुल, बटुवा हिँड्ने स्पेस, ट्राफिक लाइट, ट्राफिक आइल्यान्ड, सडकबत्तीलगायतका आधारभूत विषय छुटेको थियो । त्यसो हुँदा सडक सुन्दर बने पनि आमनागरिकका लागि प्रयोग कठिन भइरहेको छ । ‘त्यस्ता विषयलाई अब हुने विस्तार चरणमा ध्यान दिइनेछ,’ आयोजना प्रमुख रिमालले भने ।