१६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने तीनजनालाई १३ वर्ष कैद

राजविराज : एक किशोरीलाई सामूहिक बलात्कार गर्ने राजविराजका तीन युवालाई अदालतले १३ वर्ष कैद सजायको फैसला गरेको छ। जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलाशले राजविराज नगरपालिका ४ का २४ वर्षीय शम्भु साह, राजविराज ८ का २८ वर्षीय नविन दत्त र राजविराज ९ मलेठका २१ वर्षीय फुदिन खानलाई कैद सजायको फैसला गरेको जिल्ला अदालतले जनाएको छ।

बलात्कारको कसुरमा आठ र सामूहिक बलात्कारको कसुरमा थप पाँच वर्ष गरी १३ वर्ष कैद सजायको फैसला गरिएको स्रेस्तेदार दिलकुमार वर्देवाले जानकारी दिए।एसएलसीको परीक्षा दिएर फर्किदै गरेकी १६ किशोरीलाई ०७१ चैत १३ गते राजविराज ८ स्थित भुपेन्द्र यादवको घरमा डेरा गरी बस्ने अमरकुमार यादवको कोठामा लगि सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।

पीडितले जिल्ला प्रहरी कार्यालयमा घटनाकै दिन आरोपितसहित राजविराज ८ का २५ वर्षीय कमल भनिने कमलकिशोर साह, राजगढ गाउँपालिका ३ नर्घोका २० वर्षीय दिपेशकुमार यादव, रुपनी गाउँपालिका ६ तेरहौताका २५ वर्षीय जितेन्द्र मण्डल खंग र सुनसरीको गढी गाउँपालिका ६ सतेरझोराका १८ वर्षीय दिपक खेरवार यादवविरुद्ध उजुरी दिएपनि प्रहरीले ११ दिनपछि मात्र उजुरी दर्ता गरेको थियो।

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल र मोरङ जिल्लास्थित विराटनगरमा उपचार गराएकी पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित अस्पतालमा घटनाकै दिन भएको थियो।

आरोपितमध्ये पक्राउ परेका जितेन्द्र जितेन्द्र ०७२ वैशाख २४ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेका थिए भने दिपक सोही दिन साधारण तारेखमा रिहा भएका थिए।

शम्भु, नविन, फुदिन, कमलकिशोर र दिपेशलाई अदालतले सोहि दिन वारेण्ट पूर्जी जारी गरेको थियो।साधारण तारेखमा रिहा भएका दिपक पुनरावेदन अदालतले जेठ २८ गते थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएपछि फरार थिए।आरोपित कमलकिशोरलाई प्रहरीले राजविराज ८ बाट ०७२ फागुन १८ गते राति पक्राउ गर्‍यो।

आरोपितमध्ये जितेन्द्र, दिपक र कमलकिशोरले ०७३ जेठ २४ गते अभियोग दावीबाट सफाई पाए भने शम्भु, नविन, फुदिन र दिपेशको हकमा मुद्दा मुल्तबी राखी दिने ठहरी अंश रोक्काको फैसला भएको अदालतले जनाएको छ।

जिल्ला अदालतमा ०७३ पुस ८ गते हाजिर भएका शम्भु र नबिन तथा ०७४ बैशाख ५ गते हाजिर भएका फुदिनलाई हाजिर भएकै मितिमा जिल्ला अदालतले जनही ४० हजार धरौटी राखी तारेखमा रिहा गर्‍यो।

सो आदेश बेरितको भएको भन्दै बदर गरी थुनामा राखी कारवाही गर्न माग गर्दै जिल्ला न्याधिवक्ताको कार्यालयले ०७५ असार ५ गते अदालती बन्दोबस्तको १७ नम्बर बमोजिम दिएको निवेदनमा उच्च अदालत जनकपुर राजविराज इजलाशले ०७५ कात्तिक १५ गते पुर्पक्षका लागि थुनामा राखी कारवाही गर्न आदेश गरेपछि प्रहरीले शम्भु र नविनलाई ०७५ मंसिर ३ गते पक्राउ गर्‍यो।

तारेख गुजारेका फुदिन ०७५ पुस ८ गते अदालतमा हाजिर भए।पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका शम्भु, नविन र फुदिनका हकमा जिल्ला अदालतले १३ वर्ष कैद सजायको फैसला गरेको र दिपेशको हकमा मुद्दा मुल्तबी नै रहेको अभियुक्तका अधिवक्ता गिरीशचन्द्र झाले समेत स्विकारेका छन्।