पहिरो छिचोलेको फस्ट लभ: प्रेम गरेर होइन, भएर हुने थोक हो

सम्झना-बिर्सना
प्रेम मान्छेको कमजोरी हो भने सोच्नुस्, संसारको एउटा कमजोर मान्छे म हुँ। किनकि यो गरेर होइन, भएर हुने थोक हो।

सन् १९९६ तिरको कुरा हो। निम्बोङको धेरै गाउँमा पहिरो गएको थियो। पहिरोले ग्यासोक र गिदाङका धेरै भाग चुँडाएको थियो। झन्डै तीन दर्जन मान्छेले ज्यान गुमाएका थिए। त्यही बेला हो, मेरा गाउँका ठूलाहरू पहिलो चोटि लालकोठी पुगे।

सन् १९८६ को गोर्खाल्यान्ड आन्दोलनपछि दार्जिलिङमा गोर्खा हिल काउन्सिल बन्यो। त्यही काउन्सिलको मुख्यालय बन्यो— दार्जिलिङको लालकोठी, जहाँ गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका प्रमुख सुवास घिसिङ बस्थे। रासन कार्डमा दार्जिलिङ जिल्ला लेख्दै आउने मेरो गाउँलाई लालकोठी पुग्नु पूरै १० वर्ष लाग्यो। पहिरोले सबथोक सोर्न थालेपछि मेरा गाउँलेहरूले बल्ल आफ्ना महामहिमलाई भेट्न पाए।

गाउँलेहरू लालकोठी पुगे र महामहिमलाई पहिरोको पीडा सुनाए। सुनेपछि महामहिम निकै भावुक बने। त्यसपछि लामो श्वास ताने र भने, ‘बाँदर बस्ने ठाउँमा मान्छे बस्छ। अन्त पहिरो नगएर के जान्छ ? अब कि माथि सैलुङतिर सर्नू। कि तल मानाबारीतिर झर्नू। म मिलाइदिन्छु।’

गाउँ सर्ने कुरा तपाईंलाई मनपर्छ ? अहँ मेरो गाउँलाई यो कुरा मन परेन। जब आमाले गाउँ नै सार्ने महामहिमको योजना सुनिन्, उनी ता धुरुधुरु रुन पो थालिन्। दुई दिन रोएपछि तेस्रो दिन आमाले घोषणा गरिन्, ‘यहाँ नाङ्लो जस्ता खेत छन्। यसलाई छोडेर कसरी जानु ? म ता यैं मर्छु, कहीँ जान्नँ।’

आमालाई धेर माया ता धान उमार्ने खेतको पो लागेको थिएछ। हो, महामहिमले घोषणा गरेको त्यही बाँदर बस्ने ठाउँको मान्छे हुँ म। जसलाई दुनियाँले मलबुङ भन्छन्। जुन ठाउँबाट निम्बोङ ग्राम पञ्चायत आइपुग्न मात्रै पनि घण्टौं लाग्छ।

यो कुरा अलग हो, आज गाउँमा कोत्रिएको भए नि सडक पुगेको छ। त्यो बेला सडक भेट्न मात्रै पनि तीन घण्टा हिँड्नुपथ्र्यो। कालेबुङ जानु परे बिहान ३ बजे उठ्नुपथ्र्यो। र पुल्ठो बालेर हिँडनुपथ्र्यो। मलाई आफ्नै गाउँसँग चित्त दुख्थ्यो। लाग्थ्यो, ‘यस्तो ठाउँको केटाहरूलाई कसले प्रेम गर्ने ? कुन चाहिँ निधार फुटेकी होली, जो यहाँ आएर जिन्दगी बिताउन चाहन्छे ? ’

जे होस्। पहिरो गएको ठीक सात वर्षपछिको कुरा हो। म बरबोट हाइस्कुल धाउँदै थिएँ। एउटीसँग मेरो प्रेम भयो। साँच्चिकै प्रेम भो। अहिलेको भाषामा भन्ने हो भने ‘ट्रु लभ’ भो। मेरो घरबाट स्कुल पुग्नलाई पूरा तीन घण्टा हिँड्नुपथ्र्यो। त्यसको अलग्गै कथा छ, पछि सुनाउँला। अहिलेलाई म फस्ट लभतिरै फर्किन्छु।

मैले उसलाई पहिलो चोटि कहाँ देखेँ ? त्यो मलाई थाहा छैन। तर जब देखेँ, मैले सबथोक भुलेँ। आफ्नै गाउँ भुलेँ। नाङ्लोजस्ता खेत भुलेँ। तीन घण्टा हिँडेर आउनुपर्ने बाटो भुलेँ। बाटोमा तर्नुपर्ने निम्बोङ खोला थियो, त्यसलाई भुलेँ। स्कुल युनिफर्मको एउटै पाइन्ट धुलोले फुस्रो भाथ्यो, त्यो भुलेँ। सेतो कमिजको कल्दर र कुममाथि लेग्रा लागेको थियो, त्यो भुलेँ। जुत्ताबाट बूढीऔंलाले साइडसिन गर्न लागेको थियो, त्यो पनि भुलेँ। र जीवनकै पहिलो प्रेमपत्र लेखेँ।

त्यो मेरो जीवनकै पहिलो अभिव्यक्ति थियो।

आहा ! त्यो पहिलो चिठी !

जुन चिठी लेख्दा मलाई पहिलो चोटी निद्रा लागेन। म खाता खोलेर टेबलमा बसेको थिएँ। धिपधिप टुकी बलिरहेथ्यो। बाहिर हावा जोरजोरले बहन थालेको थियो। घरिघरि घरको च्यादर उक्लिएला जस्तो गथ्र्यो। मैले सुस्तरी उसको अनुहार सम्झिएँ। आफ्नै अनुहार रातो भयो। हातखुट्टामा दौडरिहेको रगत तेज भयो। फेरि केही क्षण दिउँसो आँखा जुँधेको क्षण सम्झिएँ। मन तरंग भयो, जसरी शान्त तलाउमा ढुंगा फाल्दा हुन्छ।

त्यो चिम्सो अनुहार। त्यो थाई कट केश। अघि झरेको दुईचार कपाल। केशमा लगाएको रातो रिबन। चिटिक्क परेको सर्ट। प्रेस गरिएको स्कट। कालो जुत्ता। सेतो मोजा। ओठमा फुरेको क्याच्ची मुस्कान। बाफ रे ! मैले अरू सहन सकिनँ। र प्रेमको पहिलो हरफ लेखेँ—

‘डियर जिन्दगानी…।’

त्यसपछि ता सुरु भो, हाम्रो प्रेम कहानी।

मैले त्यो चिठी तीन दिन किताबमा च्यापेर हिँडेँ। दुई दिन गोजीमा बोकेँ। मेरो छेउमा रोहित बस्थ्यो। म उसलाई त्यो चिठीबारे भन्न चाहन्थेँ। अहँ तर, सक्दिनथेँ। त्यसैले पाँच दिनसम्म चिठी गोजीमै कोचिरहेँ। यस्तो बेला शनिबार आइदियो। सार्वजनिक बिदा सुरु भयो। स्कुल दुई दिनलाई बन्द भयो। मलाई पहिलो चोटि लाग्यो, घडी ढिलो घुम्दै छ। घाम ढिलो उदाउँदै छ। रात ढिलो पर्दै छ। किन यस्तो भाको होला हँ ?

बल्ल आइतबारे साँझ पर्‍यो। म नुहाइधुहाइ सकेर चिटिक्क भएँ। एकचोटि आफंैले लेखेको प्रेमपत्र पढेँ। केही हरफ नमिलेको जस्तो लाग्यो। फेरि रिराइट गरेँ। दुईवटा डायलग थपेँ। खुसीले छाती हिमाल बन्यो। ‘भोलि ता जसरी नि रोहितलाई भन्छु’, मनमनै घोषणा गरेँ। फेरि सोमबार उसरी नै आएँ, जसरी अरू बेला आउँथेँ। बिहानै उठेँ, सिम्मल तरुल पोको पारेँ। केशमा खाने तेल धसेँ र हिँडेँ। उसलाई सम्झिँदै कमेरेको तेर्सो झरेँ। पाङग्रेबारीको उकालो चढेँ। पाइला लाइनको भीर चढेँ। बाहुन गाउँ पुगेँ। त्यसपछि युनिफर्म चेन्ज गरेर बल्ल बरबोट पुगेँ। पुग्नासाथ एसेम्ब्ली लाग्यो। म दगुरेर लाइनमा उभिन आइपुगेँ। स्कुलले राष्ट्रिय गान गाउन थाल्यो। आफ्नो ता छातीमा प्रेमगीत बजिरहेथ्यो। त्यसैले चुपचाप उसलाई हेर्न थालेँ। आँखा दगुरेर आर्यभट्टा हाउसतिर पुगे। रातो रिबन अलिकति देखेँ। मन शान्त भो।

अनि बल्ल क्लासतिर दगुरेँ। इन्टरभल सकियो। टिफिन सकियो। साढे दुईको ब्रेक सकियो। मेरो चिठी गोजीमै खुइलिएर च्यातिन लाग्यो। तैपनि रोहितलाई भन्ने आँट गर्न सकिनँ। हात घरिघरि गोजीमा पस्थ्यो। चिठी मुसार्थें। केही बोल्न खोज्थें। शब्द घाँटीसम्म आउँथ्यो। फेरि फर्केर तलै झथ्र्यो। ‘रोहित, यो चिठी दिन सक्छौं ? ’ ३ बजेको घण्टी लाग्नलाग्दा हो, मैले संसारको जम्मै तागत लगाएर भनिदिएँ, ‘म उसलाई साह्रै मन पराउँछु, क्या। सक्छौ भने प्रपोज ठोकिदेऊ ना यार ? ’

सुनाइसकेर म कति मायालाग्दो भएँ भने नि ? कल्पना गर्न सक्दिनँ। म यति नर्भस थिएँ नि, साथीकै अनुहारधरि हेर्न सकिनँ। बरु किताब टिपेर ब्यागमा खाँदे र काँप्दै दगुरें।

‘साले। कैलेदेखि मनपराको हँ ? ’ रोहित फिस्स हाँस्यो र भन्यो, ‘पर्खी मसँगै हिँड्। ऐले दिन्छु चिठी ? ’

मैले नसुनेजस्तो गरेँ र चुपचाप दगुरिरहेँ।

त्यसपछि ?

न ‘एस’ भन्छे, न ‘नो’।

६ महिना म पेन्डुलम बनिरहेँ। त्यसपछि पो बल्ल उसको रिप्लाई पाएँ। रोहितले दिएको त्यो पत्रको पहिलो रिप्लाई पक्रिँदा म कति खुसी भएँ भने नि, त्यति खुसी ता उपन्यास लेखिसक्दा नि भइनँ हुँला ? त्यो दिन म साँच्चै हावामा उडेँ। हिमालको चुचुरा छोएँ। मलाई हरथोक प्यारो लागिरहेथ्यो। हर थोक आफ्नो लागिरहेथ्यो। त्यसैले होला, पहिलो चोटि संसार आफ्नै मुठीमा बसेको अनुभव गरेँ।

उफ्, साला प्रेम। यसमा कत्ति धेरै तागत हुन्छ है ? म पहिलो चोटि सुपरम्यान बनेँ। अनि आठ पन्नाको लामो चिठी लेखेँ। मलाई थाहा छैन। ऊ मलाई प्रेम गर्थी ? वा मेरो प्रेमपत्रलाई ? जेसुकै होस्, त्यसपछि हामीले दैनिक चिठी लेख्न थाल्यौं। कुनै एउटा दिन हुन्थेन, जुन दिन हाम्रो चिठीको ओहोरदोहोर हुन्थेन।

म दिनभरि कल्पना गर्थें। रातभरि लेख्थेँ। अहिले सोच्छु, खासमा ऊबेला नै म अलिअलि लेखक ता बनिसकेको थिएछु। प्रेम गर्ने मात्रै होइन, अलि अलि देखाउनुपर्ने थोक पनि रहेछ। जब मेरो चिठीको कुरा चल्न थाल्यो, मैले त्यस्तै अनुभव गरेँ।

बिस्तारै मेरो चिठीबारे स्कुलभरि चर्चा हुन थाल्यो। साथीहरू गर्वसाथ कुरा काट्थे, ‘इनेर दुईको ट्रु लभ चल्दै छ नि। छुदेनले चिठी ता क्या लेख्छ नि। त्यतिको ता प्रकाश कोविदको उपन्यासमा पनि हुँदैन ! बुझिनस् ? ’ म मनमनै भन्थेँ, ‘उसले एक्सेप्ट नगरिदिएको भा ता म मर्थें नै होला हौ ? ’

तर गर्ने के ? म ता प्रपोज एक्सेप्ट भएपछि पनि ता हरदिन मर्दै थिएँ। किनकि उसको छेउमा गएर म चुइँ बोल्न सक्दिनथेँ। पत्याउनुहुन्छ ? जोसँग म रातदिन चिठी लेख्थेँ नि। ऊसँग एक शब्द बोल्न सक्दिनथेँ। जब ऊ मेरो छेउतिर आउँथी, सास बन्द होलाजस्तो हुन्थ्यो। उसको छेउबाट जब म हिँडथेँ, हावा चल्न छाडेजस्तो लाग्थ्यो।

यस्तो बेला १५ अगस्ट आयो। स्कुलमा स्वतन्त्र दिवसको रमझम सुरु भयो। फुटबल टुर्नामेन्टको तयारी हुँदै थियो। त्यसैले आफ्टरनुन क्लास अफ हुन्थ्यो। नाटक सिक्नेहरू रिहर्सल गर्थे। डान्स गर्नेहरू म्युजिकमा उफ्रिन्थे। हो त्यही बेला हो, उसका साथीहरूले वाचा गरेछन्। मैले थाहै पाइनँ, ‘अफ टाइममा हामीलाई बोलाएरै छोड्ने घोषणा भएछ।’

उफ। कस्तो सकस ?

उसको साथीसँग म अलि–अलि बोल्न थालेको थिएँ। उसैले आएर मलाई क्लास रूममा बोलाएर लगी। म अञ्जान थिएँ। त्यसैले उसको पछिपछि हिँडिरहेँ। जब क्लासरुमभित्र छिरेँ, तब पो झन्डै बेहोस भएँ। त्यहाँ त्यहीँ मुस्कान थियो, जसको अनुहारमा म दिउँसै घाम, जून, तारा देख्थेँ। म यति नर्भस भएँ नि, हातखुट्टा चल्न छाडे। अनुहारमा जन्डिस लाग्यो। ‘१५ अगस्टको बेलुकी प्रोग्राम हुन्छ’, उसले मेरो आँखैमा हेरेर भनी, ‘हामीसँगै बसेर हेरुङ ना ल।’ ‘हुन्छ’, मरेर एक शब्द मुखबाट फुत्कियो। त्यसपछि काँप्दै त्यहाँबाट निस्किएँ।

दैलोबाट निस्केर भुइँ टेकेको मात्रै थिएँ। रोहितले पछिबाट करायो, ‘ छ्या थु ….इ …..या….काफरे ? यस्तो पाराले घन्टाको गर्छस् लभ ? ’ मैले केही सुनिनँ। चुपचाप दगुरिरहेँ।

०००

१५ अगस्ट आयो।

मेरो सेन्टअप नजिकै थियो। त्यसैले कोठा भाडा लिएर बरबोटतिरै बस्दै थिएँ। मसँग पढाइको टेन्सन थियो। त्यसमा १५ अगस्टको अर्को टेन्सन थपियो। केटीसँग बसेर कसरी प्रोग्राम हेर्ने होला ?

पढाइ ता मेरो उसै पनि चिलिम थियो। फिजिकल साइन्स मेटरसम्म मात्रै पुगेको थियो। म्याथ अलजेब्राको पहिलो फर्मुलामै घिस्रिरहेथ्यो। लाइफ साइन्स, फोटोसेन्थिसिसबाट अघि बढेकै थिएन। बस्तीको स्कुल, गज्जब थियो। हेड मास्टर औंसीपूर्णेमा झुल्किन्थे। विज्ञान पढाउने टिचर रक्सी गन्हाउँदै आइपुग्थे।

त्यो बेलाको बरबोट हाइस्कुल आजको जस्तो थिएन। जेहोस्, सबैसँग एउटै फर्मुला थियो। बाग्राकोट गएर ट्युसन पढ्ने हो। अलिअलि चिट गरेर पास हुने हो। मेरो समस्या ता यो थियो कि, म चिट सार्न पनि सक्दिनथेँ।

अहिले म पढेको स्कुल राम्रो भएको छ। बरबोट हाइस्कुलको अलग्गै नाम छ। भवन पनि नयाँ बनेको छ। शिक्षकहरूले खटेर काम गरिरहेका छन्। म सोच्छु, यतिकै लेभलमा मैले पढ्न पाएको भए नि ! म यहाँ हुन्थिनँ, जहाँ छु। त्यहाँ हुन्थें, जहाँ छुइनँ।’ १५ अगस्ट आयो। दिनभरि प्यारेड खेलियो। फुटबल टिमलाई चियरअप गरियो। त्यसपछि हल पुगियो। जहाँ नाइट प्रोग्राम हुने थियो।

दिनभरि हाम्रो आँखै मात्रै जुझिरहेथ्यो। आँखाले बोल्थ्यौं, इसाराले कुरा गथ्र्यौं। चित्त नपरे ओठले हल्का हाँस्थ्यौं। उसरी नै ता दिन बितेका थिए। जब साँझ पर्न थाल्यो, तब पो मेरो समस्या बढ्दै गयो। अचानक श्वास स्पिड दगुर्न थाल्यो। मुटु अझ जोडसँगले उफ्रिन लाग्यो।

तैपनि लडाइँको मैदान छोड्नेवाला सिपाही थिइनँ। जे पर्ला पर्ला, काँप्दै हल पुगिदिएँ। स्वतन्त्र दिवसको दिन भारतमा विशेष उत्सव हुन्छ। कम से कम त्यो दिन सिम्मल तरुल खानु हुँदैन क्यारे ! त्यैसेले ता होला नि, आमाले मलाई पहिलो चोटि २० रुपैयाँ खाजा खान दिनुभएको थियो। मैले १० रुपैयाँको थुक्पा खाएर १० रुपैयाँ बचाएको थिएँ, जसले बेलुकी दुईवटा टिकट किन्नु थियो !

नर्भस म बल्ल हलको ढोकामा पुगेँ। टिकट कहाँ पाइन्छ होला ? बिस्तारै भित्र चियाउन लागेँ।

ठीक त्यही बेला हो, मेरी प्रेमिका हलभित्रबाट फुत्त निस्किई। स्कटको गोजीबाट दुईवटा टिकट निकाली। त्यसपछि उसकै पछि हिँड्ने इशारा गरी। म सफेराको साँप बनेँ। र, उसको पछिपछि लम्किइरहेँ।

त्यो दिन मैले के गफ गरेँ होला ? अहँ केही गरिनँ। उसले बोलेका दुईचार कुरा सुनेँ। कपालबाट एक किसिमको बासना आइरहेथ्यो। त्यही सुँघिरहेँ। अनि कल्पना गरिरहेँ। मनमनै सुस्तरी भनेँ, ‘संसारको सबैभन्दा भाग्यमानी प्रेमी मै ता हुँ नि, जसले यति धेरै माया गर्ने प्रेमिका पाएको छ। मलाई जिन्दगीभर यसरी नै माया गरिरहनू है। तिमीले छोड्यौ भने ता म बाँच्दिनँ नि फेरि ! तर, मलाई थाहा छ, तिमी पनि ता मबिना बाँच्न सक्दैनौ नि, है ? ’

सोच्दासोच्दै नाटक सकियो। गीत सकियो। पूरै प्रोग्राम सकियो। त्यसपछि बिस्तारै हामी हलबाहिर निस्कियौं। हलबाट दुई मिनेट हिँडेपछि सडक आइपुग्थ्यो। हामीले त्यहाँ पुग्न १० मिनेट लायौं। अनि, बल्ल सडक निस्कियौं। अघिल्तिर ठूलो चर्च उभिरहेथ्यो। छेउमा अर्को डिस्पेन्सरी थियो। ठीक त्यहीँ आइपुग्दा हो, उसले मेरो हात समाई।

बाफरे। म उभिएको धर्ती पूरै हल्लियो। भुइँचालो आयो। एक क्षण श्वास रोकेँ र कहिलेदेखि सोचेको कुरा काँप्दै भनिदिएँ, ‘सेप्टेम्बरमा ता म बाग्राकोट जान्छु। अब कसरी भेट्ने होला है, हामी ? ’ ‘म त बस्न सक्दिनँ तिमीबिना’, बाफरे, उसले निमेषभरमा मैले अघि भर्खरै सोचेको कुरा भनी, ‘म क्लास नाइन त्यैं जोइन गर्छु। अर्को साल उधैं झर्छु। तिमी पनि पास भयो भने त्यै पढ्नु नि ल।’

पत्याउनुभो होला नि ? उसले मलाई कति माया गर्थी ? मेरा आँखाबाट खुसीका आँसु दगुरे।

०००

सेप्टेम्बरमा क्लास टेनको फेयरवेल भयो। उसले मलाई क्याटबरी दिई। डटपेन र कार्डबोर्ड दिई। त्योभन्दा ठूलो थोक चार पन्नाको लभलेटर दिई, जो आँसुले ओतप्रोत थियो। मैले चिठी पढेँ। रातभरि भक्कानिएँ। जति चोटि पढें, त्यति चोटि रोइदिएँ। र जवाफमा आठ पन्नाको आँसु गीत लेखेँ। त्यसपछि रुँदैरुँदै बाग्राकोट झरेँ।

अब म त्यो मुस्कान देख्न पाउँदिनथें, जुन मुस्कानमा म संसार भुल्थें। त्यो चिठी पढ्न पाउँदिनथें, जहाँ म हरेक पीडा भुल्न सक्थेँ। त्यो आँखामा आँखा जुझाउन पाउँदिनथेँ, जहाँ म आफ्नै आधा संसार देख्थेँ। बाग्राकोटमा म एक्लो थिएँ। एकदम एक्लो। पहिलो चोटि हो, फस्ट लभदेखि म टाढा भएको थिएँ। त्यसैले होला, उसैलाई सोचेर सुकसुकाइरहन्थेँ।

कतै सुनेको थिएँ। प्रेमले मान्छेलाई यति बलियो बनाउँछ कि ऊ दुनियाँसँग लड्न सक्छ। कमजोर यति बनाउँछ, कि एउटा मान्छेका निम्ति ऊ मर्न पनि सक्छ। जे होस्, मलाई प्रेमले बलियो बनाएथ्यो। म उनको प्रेमका निम्ति संसारसँग लड्न सक्थेंँ। उनैलाई सम्झेर हर संघर्ष गर्न सक्थेँ। हर बखत म यही सोच्थेँ र रातदिन पढिरहन्थेँ। लाग्थ्यो, ‘मैले पढेकै उसैका लागि ता हो नि। हामी दुवैको लागि ता हो नि।’

मैले गज्जब पढेँ। चिट गरिरहनु परेन। सेन्टअपमा उत्तिकै छिरेँ। मेरा केही साथीहरू अल्झिए। हामीले फाइनल परीक्षाका निम्ति अरू समय निकाल्यौं। र गोरु बथानतिर लाग्यौं। हाम्रो सिलेबस ट्युसनले पूरा गरिदियो।

०००

गोरु बथानको पानडाँडा नजिक हाम्रो पेङगेस्ट थियो। मसँग साथी लीलाबहादुर थिए। हामी लेखनबारे अलिअलि कुरा गर्ने भइसकेका थियौं। उनी पनि त्यो बेला प्रेममा चुर्लुम्म डुबेका थिए। कहिलेकाहीँ दिनमा तीन वटासम्म गजल लेख्न भ्याउँथे। म उनको त्यही प्रेमिल गजल पढ्थेँ। आफ्नै प्रेमिका सम्झिन्थेँ र दुःखी आत्मा भएर केके लेख्न खोज्थेँ। त्यही बेला हो, रोहितकोबाट मैले सुनेँ, ‘मेरी फस्ट लभले बाग्राकोट स्कुल जोइन गरी।’

म निकै खुसी भएँ। फेब्रुअरी सिद्धियो। हाम्रो परीक्षा सकियो। त्यसैले घर फर्किनलाई तयार भयौं। एक अँगालो अनुभव र एक मुठी खुसी बोकेर हामी बसको हुडमा चढ्यौं। त्यसपछि गीत गाउँदै गाउँदै बाग्राकोट आइपुग्यौं। त्यो दिन उत्तिकै बित्यो। त्यो बेला हामीसँग फोन थिएन। त्यसैले मैले आफ्नो प्रेमिकाको नयाँ ठेगाना खोज्नु निकै समय खर्चिनुपर्‍यो। त्यति सानो डुवर्सको बाग्राकोटमा आफ्नो प्रेमिका खोज्न मलाई पूरै एक दिन लाग्यो। अर्को बेलुकी बल्ल मैले उसको ठेगाना पाएँ।

मभित्र खुसीको सुनामी छचल्कियो। त्यसैमा बेरिएर केही क्षण बगिदिएँ। अनि, बल्ल उसको कोठाको सिँढी फुत्त उक्लिएँ। साँझ निकै परिसकेको थियो। सडकमा दुईचार वटा रिक्सा मात्रै दगुर्दै थिए। म उसको कोठाबाहिर उभिइरहेको थिएँ। मेरो श्वास बन्द होला जस्तो हुँदै थियो। तैपनि म हिजोको छुदेन कहाँ थिएँ र ? अलि आँटिलो छुदेन भइसकेको थिएँ। त्यसैले सीधा गएर अधिकारसँग उसको दैलो धकेलेँ।

दैलो फुत्त उघ्रियो। मैले पहिलो चोटि खुलेर उनको नाम बोलाउन लागेको थिएँ। अचानक कसैको अँगालोमा बाँधिइरहेकी राम्री केटीसँग मेरो आँखा जुध्यो, जो मलाई देखेर आत्तिएकी थिई। र अँगालोबाट छुट्ने कोसिस गर्दै थिई।

म तीनछक परेँ। अञ्जान मान्छेको अँगालोमा बाँधिएकी त्यो राम्री केटी को थिई, भन्नुस ता ? ऊ ता मबिना बाँच्नै नसक्ने मेरै ‘फस्ट लभ’ थिई। अब सोच्नुस् ? त्यो बेला मेरो हालत कस्तो भयो होला ?

होइन। होइन। तपाईंले सोचे जस्तो बिल्कुल भएन। खासमा मान्छे प्रेम गरिदिने मान्छेबिना होइन, प्रेमबिना पो नबाँच्ने रहेछ ता। मलाई पनि सुरुमा ठ्याक्कै त्यस्तै लाग्थ्यो, ‘म ऊबिना मर्छु होला।’ तर होइन रहेछ। जिन्दगी त्यस्तो नहुने रहेछ। मलाई ता ऊबिना पो खास जिन्दगी बाँच्नु थिएछ। र मैले त्यहीँबाट सुरु गरेँ, जीवनको नयाँ बचाइ, जुन बँचाइले नै मलाई आजको दिन देखायो।

०००

आज म यहाँ छु। फस्ट लभ अर्कैको अँगालोमा छे। मलाई थाहा छ, ऊ जिन्दगीसँग दुःखी हुने मान्छे होइन। हुने हो भने मेरो पछिको अँगालोलाई पनि उसले लत्याउने थिइन। त्यसैले ऊ आज पनि मभन्दा अलि धेरै खुसी छे। म पनि आफ्नो दुनियाँमा रमेकै छु।

दुःख एउटै कुरामा लाग्छ, हाम्रो प्रेमको पुल बनिदिने रोहित आज हामीसँग छैनन्।

०००

अचेल कहिलेकाहीँ दोबाटोमा फस्ट लभसँग मेरो जम्काभेट हुन्छ। ऊ चुपचाप मुस्कुराउँछे। मलाई ‘धन्यवाद’ भन्न मन लाग्छ। तर सक्दिनँ। उसको अघि मेरो बोली फुट्दैन नि ता। त्यसैले हाँस्दैहाँस्दै बाटो छोडिदिन्छु।

खासमा मैले यो ‘प्रेमको पहिलो किस्सा’ (लेखेको उसैलाई धन्यवाद भन्न पनि हो। म जुन कुरा मुखले भन्न सक्दिनँ, त्यो कलमले भन्न खोज्छु। यसैले कलमले नै अन्तिम चोटि लेखिदिएँ, ‘थ्याङ्क यू डियर फस्ट लभ। तिमीले त्यति बेला मलाई नालायक सम्झियौ र नै ता म अलिकति लायक भएँ।’

लेखको फेदमा पुगेर म सोचिरहेछु, कास त्यो बेला उसले मलाई लायक सम्झिदिएको भए के हुन्थ्यो होला ? हाम्रो प्रेम सफल भएको भए के हुन्थ्यो होला हँ ? म सोच्न पनि सक्दिनँ डियर। त्यसो भएको भए म उहिल्यै ड्रपआउट भइसकेको हुन्थेँ। केटाकेटीमै हाम्रो बिहे हुन्थ्यो। अरू केटाकेटी जन्मिन्थे। यति बेला नाङ्लो जस्तो खेतहरूमा म गोरु जोत्दै गरेको हुन्थेँ। न गाउँको समस्या लेख्न सक्थें, न गाउँको पीडा देख्न सक्थेंँ। त्यसैले त्यो कोतरा परेको सडक पनि गाउँमा पुग्दैनथ्यो। र मेरो गाउँलाई देखाउँदै राजनीतिक महामहिमहरू पहिले जस्तै हाँसिरहेका हुन्थे, ‘यस्तो बाँदर बस्ने ठाउँमा पनि मान्छे बस्ने हो र ? ’

उफ् माई डियर फस्ट लभ। म हर बखत सोच्ने गर्छु, त्यो समय कति भयानक हुन्थ्यो होला ? तिमीले कहिल्यै यसरी सोचेकी छौ ? फुर्सदमा एकचोटि सोचेर हेर नै है ? मलाई थाहा छ, तिमीसँग यी सब कुरा सोचिबस्ने फुर्सद नै कहाँ छ र ?
अन्नपुर्ण पोस्ट बाट