भीआईपी प्याराफिटका सामान २ दिनदेखि भारतको रुपैडिहामा अलपत्र

८औं राष्ट्रिय राष्ट्रिय खेलकुद
रुपैडिहा : नेपालगन्ज रंगशालाको भीआईपी प्याराफिटका लागि कलकत्ताबाट ल्याइएका तीन कन्टेनर गाडी दुई दिनदेखि सीमावर्ती भारतीय बजार रुपैडिहामा अलपत्र परेका छन्।सोमबार दिउँसो नेपालगन्ज रंगशालामा ८औं राष्ट्रिय खेलकुदका लागि मिडिया सेन्टर उद्घाटन गरे लगत्तै इन्जिनियरहरुले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुामार विष्टलाई तीन कन्टेनर नेपालगन्ज भन्सारमै आइपुगेको जानकारी दिएका थिए। अन्नपूर्णले राति अबेरसम्म नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलासँग सम्पर्क गर्दा कन्टेनर आएका थिएनन्।

नेपालगन्जदेखि झन्डै सात/आठ किलोमिटर टाढा भारतको उत्तर प्रदेशमा पर्ने रुपैडिहादेखि दुई किलोमिटरको दूरीमा रहेको जैतापुर ग्रामसभाको जैतापुर गाउँमा बिहान ९ बजेतिर पुग्दा चालकहरु भन्सार गर्न आउने व्यक्तिको प्रतिक्षामा थिए।

त्यहाँ अन्नपूर्ण संंवाददातालाई निर्माण कम्पनीकै मानिस सम्झेर उनीहरु भनिरहेका थिए, ‘साब छिटो भन्सारको काम सक्नु प¥यो। होली मनाउन गाउँ जानुपर्छ।’सोमबार बिहान ७ बजे तीनवटा गाडी जैतापुरमा ल्याइएको थियो। थप दुईवटा गाडी मंगलबार बिहान ७ बजेतिर आइपुगेका थिए। एनएलओ १ जी ४५४९ नम्बरको गाडीका चालक लालबिहारी मौर्यले भने, ‘सामान आएको १२ घण्टापछि साँझतिर दुई जना आउनुभएको थियो। आज भन्सारको काम हुन्छ भनेर जानुभयो। अहिलेसम्म आउनुभएकोे छैन।’

कन्टेनर १५ घण्टा जाममा
काठमाडौंको सुनकोशी वल्र्ड वाइड जेभीले चीनबाट अर्डर गरेर कलकत्ता ल्याएको भीआइपी प्याराफिटको सामान कलकत्ताको मल्लिक सिपिङ कम्पनीले सी ब्रीज ट्रान्सपोर्टमार्फत १३ मार्चमा ६ वटा कन्टेनरमा लोड गरी १४ मार्चको बिहान १ बजे पठाएको थियो। पाँचवटा रुपैडिहा पुगे पनि एउटा गाडी अझै आइपुगेको छैन।

एनएलओ १ के ९६६९ नम्बरको गाडीका चालक चन्द्रमणि मौर्यका अनुसार उत्तर प्रदेशको गाजिपुरमा पुल भत्केका कारण १५ घण्टा कन्टेनरहरु जाममा परेका थिए। त्यसपछि बनारस, जोनपुर, आजमगढ, बहराइच हुँदै कन्टेनरहरु रुपैडिहा ल्याइएको थियो। उनले भने, ‘पुल भाँचिएपछि सानो गाडी पनि जान दिएनन्। झन्डै दुई सय किलोमिटर उल्टो घुमेर आउँदा एक दिन ढिलो भयो। तीनदिन तीनरात पूरैै गाडीमै छौं।’
उनीहरुले कलकत्ताको सप्लायर्सलाई भने पटक–पटक अवस्थाबारे जानकारी गराएको बताए। तर १२ घण्टासम्म कोही पनि सम्पर्कमै आएनन्।

कन्टेनर रंगशाला नजाने
कलकत्ताबाट ल्याइएका कन्टेनर नेपालगन्ज रंगशालामा पु¥याउन कठिन छ। ६० फिट लम्बाइको जाडीमा ४०/४० फिटको कन्टेनर राखिएको छ। एनएलओ १ के ७२८० नम्बरको गाडीका चालक चन्द्रेश मौर्य भन्छन्, ‘लम्बाइ ६० फिट र अग्लो साढे १६ फिट छ। यस्तो गाडी आउट रोडमा जान सक्दैन।’

नेपालगन्ज रंगशाला पुग्न घुम्ती नै घुम्ती रहेको र बजारभरी तार नै तार रहेकाले सुर्खेत रोडको कुनै स्थानमा कन्टेनर राख्नुपर्ने देखिन्छ। सामान चोरीबाट जोगाउन गाडी पठाएर कन्टेनर मात्र राख्दा पनि हुने चालकहरु बताउँछन्।