ओलीसहित ९ जनालाई राज्यविरुद्धको अपराध मुद्दा

काठमाडौं : शुक्रबार राति काभ्रेबाट पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नौ नेताविरुद्ध राज्यविरुद्धको अपराधसहित चार मुद्दामा म्याद थप भएको छ।आइतबार ललितपुर जिल्ला अदालतले आठ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

विप्लवका तेस्रो नम्बरका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’सहित नौ नेतालाई हातहतियार तथा खरखजना, विस्फोटक पदार्थ, राज्यविरुद्धको अपराध र संगठित अपराध मुद्दामा अनुसन्धान गर्ने समय दिएको हो।

शुक्रबार राति प्रहरीले ओलीसँगै शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सन्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्का पक्राउ गरेको थियो।

विप्लवले पार्टीभित्र धेरै विश्वास गर्ने नेतामा ओली पर्छन्। उनकै योजनामा फागुन १० गते ललितपुरको नख्खुमा रहेको एनसेल टावर अगाडी बम विस्फोट भएको प्रहरीको निष्कर्ष छ। विस्फोटमा एकजनाको मृत्यु भएको थियो।

ओली विप्लवको पार्टीका तेस्रो नम्बरका नेता हुन्। दोस्रो नम्बरका मानिएका प्रकाण्डलाई भन्दा विप्लवले स्थायी समिति सदस्य ओलीलाई विश्वास गर्छन्। ओलीले नख्खु बम विस्फोटको जिम्मेवारी लिएका थिए। सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएसँगै प्रहरीले उनका नेतालाई गाउँगाउँ पुगेर प्रकाउ गरिरहेको छ।

शुक्रबार राति १ बा १७ च ४८९३ नम्बरको स्कार्पियो गाडीसहित उनीहरू पक्राउ परेको ललितपुर प्रहरी स्रोतले जनाएको छ। स्रोतका अनुसार उनीहरूको साथबाट एउटा पेस्तोल र ६ राउण्ड गोली लोड भएका २ वटा म्यागजिन समेत बरामद गरेको हो।

बम बनाउन प्रयोग हुने जिलेटिन ५ थान, एउटा ल्यापटप र २२ वटा मोबाइल समेत बरामद गरेको ललितपुर प्रहरी स्रोतले जनाएको छ।