राहत वितरण र उद्दारमा धुर्मुस र रवि

पुरैनिया: हुरीले बितण्डा मच्चाउँदा घरबारविहीन भएका बारा पुरैनियाका पीडितलाई कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र सञ्चारकर्मी रवि लामिछानेले राहत वितरण गरेका छन्।

हुरीले बढी प्रभावित पुर्‍याएको फेटा गाउँपालिका-६ को पुरैनिया पुगेर कलाकार धुर्मुसले राहत वितरण गरेका हुन्। सोमबार दिउँसो बारा आएका धुर्मुसले ४ सय थान त्रिपाल, ९ क्विन्टल चामल र ४ सय कार्टुन चाउचाउ पुरैनियाका वडाअध्यक्ष जाकिर हुसेनलाई हस्तारन्तरण गरे।
कलाकार धुर्मुसले प्राकृतिक विपतिबाट भएको यस्तो क्षतिमा थोरै भएपनि सहयोग गर्न सकिन्छ कि भनेर राहत लिएर बारा आएको बताए। उनले प्रभावित क्षेत्रमा आएर पीडितको अवस्था हेर्दा अत्यन्तै दुःख लोको प्रतिक्रिया दिए।

‘घटनाबाट अकल्पनीय क्षति भएको छ, थुप्रै वस्ती विनास भएका छन् र मानिसको बिचल्ली भएको छ,’ धुर्मुसले भने,’यस्तो अवस्थामा राहतका लागि जुट्न सबैलाई आग्रह पनि गर्न चाहन्छु।’
यसैगरी सञ्चारकर्मी रविले पनि पुरैनिया क्षेत्रमा राहत वितरण गरेका छन्। घटनाबाट ठूलो जनधनको क्षति भएको र थुप्रै स्थानीयको घर उजाडिएपछि राहत लिएर बारा आएको रविले बताए। उनले सोमबार साँझ पुरैनिया क्षेत्रमा राहत वितरण गरेका हुन्।

यसैगरी सिमराका स्थानीय युवाले पनि पुरैनिया क्षेत्रमा राहत वितरण गरेका छन्। सिमरा फाउण्डेसन, होटल व्यवसायी संघ र हाम्रो समन क्याम्पलगायत स्थानीय युवाले राहत संकलन गरी पुरैनिया क्षेत्रमा वितरण गरेको सिमराका युवा त्रिलोक ठकुरीले जानकारी दिए।

यसैगरी हुरी प्रभावित क्षेत्र पुरैनिया, भलुई भरवलियालगायतका स्थानमा राहत वितरणका लागि विभिन्न सामाजिक संघसंस्था आउनेक्रम जारी छ।