‘आफ्टरसक’ले देउवाको निद्रा गायब

प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतमा वाइडबडीको भ्रष्टाचारको छानविनको माग गर्नेमा अग्रपंक्तिमा थिए, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तर उनको माग सम्बोधनअगाडि नै संसद्कै लेखा समितिले उपसमिति बनाएर छानबिन गराइदियो । जसको नतिजाले सरकारमा हल्का भुइँचालो नै गयो । कारण, बहालवाला मन्त्री नै कार्बाहीको सिफारिसमा परे । अन्य दुई पूर्व मन्त्रीसँगै कर्मचारी पनि पोलिए । सरकारले हतार–हतार आयोग गठन ग¥यो । आयोगप्रति कांग्रेसले शंका व्यक्त गरेपछि सरकारले ‘देउवाजीको मागको सुनुवाई गर्दै समिति गठन गरेको’ प्रतिउत्तर दियो ।

यत्तिसम्मले देउवा संकटमा पर्ने कुरै भएन । उनी र कांग्रेसका नेताहरु वाइडबडीलाई देखाएर सरकारमाथि निरन्तर आक्रमणमा सक्रिय रहेकै बेला शक्तिशाली वाइडबडी आफ्टर सक आइदियो कि देउवा अहिले उल्टै ‘म हैन, म हैन’ भन्दै प्रस्टीकरणदिँदै हिँडिरहेका छन् ।

त्यो आफ्टर सक थियो वाइडबडीको भुक्तानीको समयमा प्रधानमन्त्रीको रुपमा देउवा र पर्यटन मन्त्री रहेको तथ्य । त्यही आधारमा टेकेर जितेन्द्र देवलाई नैतिकताको कठघरामा उभ्याएको थियो उपसमितिले । तर, त्यो मितिमा देवको साटो देउवा पो रहेछन् पर्यटन मन्त्रीसमेत । भ्रष्टाचारमा मुछिएर रन्थनिएका देवले पनि यो सुइँको पाएपछि विज्ञप्ति निकालेर उपसमितिलाई ‘तथ्य नै नहेरी मानमर्दन गरेको’ भन्दै विज्ञप्तिमार्फत् झपारे ।

उपसमितिको प्रतिवेदनको आधारमा लेखा समितिले पारित गरेको प्रतिवेदनमा नाम देवको भए पनि समयअनुसार देउवाको काँधमा जिम्मेवारी रहेकाले त्यसको भागिदार देउवा हुने नै भए । अनि कसरी आओस् त देउवालाई निन्द्रा !

चड्कन पनि विकेन्द्रित
बिर्सनुभएको छैन होला कुनै जमानामा एक मन्त्रीले सरकारी कर्मचारीलाई ट्वाइलेटमा थुनेको । बिर्सनु भयो ? उही क्या, अहिलेका पनि मन्त्री नै छन् मात्रिका यादव ! पहिलो पटक माओवादीले सरकार बनाएसँगै मन्त्री बन्न सफल भएका उनले क्रान्तिकारी कदम चाल्न अवरोध गरेको भन्दै आफ्नै मन्त्रालयका कर्मचारीलाई ट्वाइलेटमै थुनिदिएका छन् । नेकपाको सरकारमा उनी अहिले पनि मन्त्री छन् । सायद चेते होला यस्तो हर्कत दोहो¥याएका छैनन् तर यादवको सन्कीपन सरेर प्रदेश नम्बर २ पुगे जस्तो छ यसपालि । प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले मात्रिका यादवको पुरानो रुप धारण गर्दै सचिव तहका कर्मचारीलाई ड्याम्काड्याम लबटा लगाइदिएछन् । सचिव पनि कम रैनछन् । लबटा खाएको झोँकमा मन्त्रीलाई यति गाली गरे कि मन्त्री नै बेहोस् झन्नै बेहोस !

सचिवले झोँकैझोँकमा मन्त्रीको पोल पनि खोलिसकेका छन् । सचिव विद्यानाथ झाको दाबी पत्याउने हो भने गरिवी निवारणका लागि उद्यम नामक सरकारी कार्यक्रमको बजेट दिन मन्त्री यादवले उनलाई आफ्नो गोजीबाट चिट निकालेर नाम दिएका रहेछन् ‘सहकार्य नेपाल, गोलबजार’ सिरहाको तर संस्था छनोटमा परेन । त्यसैको झोँक लबटाबाट निकाले । मन्त्री यादव भने ‘हैन हैन’ भन्दैछन् ।
घटना ढाकछोप गर्न लागेका मुख्यमन्त्री अब समिति गठन गरेर घटनाको छानविन गराउन लागेका छन् । उनको ताल हेर्दा रिपोर्ट त के आउँला र ! तर जे होेस्, यो घटनाले केन्द्रका मन्त्रीमा रहेको सनकपन प्रदेश सरकार गठनसँगै विकेन्द्रित भएर पुगेको पुष्टि भने भयो ।

‘विवेक’ छुटेको ‘साझा’
‘यी ठूला दल फटाहा भए, अब हामी गर्छौ असल राजनीति’ भन्थे रवीन्द्र मिश्र तर दुई वर्ष नबित्दै उनलाई झट्का लाग्यो ४४० भोल्टको । सञ्चारमाध्यम अनि एनजिओमा काम गर्दाको छविलाई क्यास गरेर खतरा पोलटिसियन बन्ने उनको सपनालाई साझाका ‘आँलाकाँचा’ विवेकशीलले निर्वाचन आयोगमा डिभोर्स पेपर बुझाएर झट्का दिए ।

‘तिमीहरुको बदमासीले देश बर्बाद भो’ भन्थे मिश्र । उही पुरानै पाराको पुरानै दललाई रोजे श्राप दिन्छुझैँ गरेर मतदातालाई उनी तर्साउँथे । हामी त नयाँ शैली र नयाँ संस्कारका पो हौ भन्दै फकाउँथे तर अब केही महिनासम्मका लागि उनका यस्ता बोलीमा पक्कै चुकुल ठोकियो ।

वैकल्पिक राजनीति भन्दै ठूला कुरा गरे पनि आखिर बोली व्यवहारमा उतार्न कति कठिन रहेछ भन्ने देखियो ! संस्कारै त हो । यत्ति चाँडो कहाँ हट्छ र ? हट्न सक्थ्यो भने १७ महिने उज्ज्वल थापा समीक्षालाई तह लगाउन रातारात केन्द्रीय सदस्य थपेर विवेकशीललाई अल्पमतमा पार्ने खुरे उपाय किन फुथ्र्यो र साझाको दिमागमा । बाहिर कारण जे जस्तो देखाए पनि आखिर साझाबाट विवेकशीललाई अलग बनाउने कारक त त्यही खुरापाती प्रयास नै त देखियो ।

आफूसँग बसेसम्म सतिसावित्री श्रीमतीलाई छोडपत्र भएसँगै चरित्रहीनको आरोप लगाएझैँ सामाजिक सञ्जालमा साझा र विवेकशील नभिडेका भए पनि फरक संस्कार, फरक धारणा र फरक लक्ष्य बोकेको समूह भनेर हल्का विश्वास बाँकी रहन सक्थ्यो । तर ‘निर्मम समीक्षा’ भन्दै आएका ङयारङयार ङुरङुरले त्यो भ्रम पनि हटाइदियो ।

हिजो नभै नभएको विवेकशीलको समूह हिँडेलगत्तै ‘आँलाकाँचा’ देख्ने साझाको नेताको दृष्टिकोणले उनीहरुको प्रशिक्षण तह प्रस्टियो । विवेकशील समूह आर्थिक पारदर्शिता र उही पुरानै पाराको गन्हाउने राजनीतिक चाल चलेको भन्दै औंला उठाउन सक्रिय छ ।

मिश्र ‘म हिलो छ्याप्दिन’ भनेर मौन बस्ने प्रयास गर्दै सुक्कसुकाउँदै डिभोर्स पेपर बुझाएर बाटो लागिसकेकालाई ‘कुनै मोडमा फेरि भेटौं है’ भन्दै फकाइरहेका छन् तर भेटिने लक्षण भने देखिन्न ।
भेट्नु छुट्नु त रीतै हो तर यो प्रकरणले वैकल्पिक राजनीतिको राग अलाप्ने समूह आफैं पुराना दलभित्र हुने गन्दा अभ्यास भन्दा पनि तल्लो तहको खेलमा कति माहिर रहेछन् भन्ने खुलासा भयो ।

१७ महिनाको समीक्षा गरेर यसमा विवेकशील जोगियो । आफूले चाहेको भन्दा भिन्न मतलाई तह लगाउन लुसुक्क केन्द्रीय सदस्य थप्ने सकुनी चाल सार्वजनिक हुँदा साझावालाहरु नाङ्गिए । नाङ्गोपन ढाक्न अनेक बहानाको खोजी जारी छ । तर जति बहाना गरे पनि कुरीकुरी त भइहाल्यो ! यो प्रकरणमा आखिर साझा नै विवेकहीन देखियो ।