समाचारबिना बस्नै नसक्ने प्रियंका

प्रियंका कार्की समाचारबिना बस्नै सक्दिनन्। सुटिङ सेटबाट थरिथरिका तस्बिर सार्वजनिक गर्ने उनको बानीले यही संकेत गर्छ।
प्रियंकाका निम्ति फिल्म लिनु अनि फिल्मको प्राइभेसी बचाइराख्नु बिलकुल असम्भव कुरा हो।

निर्माण टिमले उनलाई जतिसुकै सम्झाओस्, उनको बानी बदलिएको छैन। केही समयअघिको कुरा हो, प्रियंका आफ्ना हुनेवाला श्रीमान् आयुष्मान जोशीसँग ‘प्रेम दिवस’को सुटिङमा थिइन्। त्यो समयमा आयुष्मानसँगका थरिथरिका फोटो त बाहिरिए नै, सुटिङका फोटो पनि बाहिरिए।

उनले यो क्रममा फिल्ममा थुप्रै लुकाइएका कुरा सार्वजनिक गरिदिइन्। यतिबेला प्रियंका आर्यन सिग्देलसँग सिक्किममा अर्को फिल्मको सुटिङ गरिरहेकी छिन्। यहाँबाट पनि उस्तै तस्बिर सार्वजनिक हुने क्रम रोकिएको छैन।

घरी आफ्नो अनुहार छोपेर फोटो राख्छिन् त, घरी सुटिङको। प्रियंकाले यो सबै फ्यानसँग अन्तरक्रिया गर्न गरेकी होइनन्। कारण स्पष्ट छ, समाचारमा आउने लोभ। उनलाई थाहा छ, कुन फोटो राख्यो भने कस्तो समाचार बन्छ ? अनि, त्यसमाथि पकेटका दुई चार युट्युब च्यानल त छँदै छन्। समाचारमा आउनलाई फिल्मको सस्पेन्स नै खोलिदिने ?