अख्तियार–आयुक्तको गोप्य भिडियो खिच्ने राष्ट्रिय खेलाडीकोे बयान ‘पाठक ‘स्वाँठ’ घुस्याहा’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको भिडियो त सार्वजनिक भयो तर कसले खिच्यो ? अनि खिच्नुको प्रयोजन के ? रहस्यमै रह्यो । सञ्चार माध्यममा नाम त आए तर परिर्वतित । ‘शुक्रवार’ ती व्यक्तिसम्म पुग्न सफल भयो मंगलबार तर उत्तर आयो, ‘अहिले नबोलौँ ।’ उत्तर निराशाजनक आयो ।

दोहोर्याएर गरेको अनुरोधमा उनी भेट्नसम्म तयार भए तर पाठकको बदमासीको पोल खुलाउन गरिएको फेहरिस्त खुलाउँछन् या खुलाउँदैनन् अन्योल थियो । भेट्ने लोकेशन पछ्याउँदै अनामनगर पुग्दा चौरमा चिया खाँदै साथीहरुसँग गफिँदै थिए उनी । छोटो भलाकुसारीपछि नजिकैको आफ्नै कार्यालयमा लगे ।
‘गोप्य भिडियो खिच्दाको अनुभव बाँडौँ न ?’

उनी अक्मकाउँदै साथीतिर हेरे र सर्तसहित राजी भए । सर्त थियो, नाम नखुलाउने, अनुहार देखिने फोटो नखिच्ने । दुवै शर्त स्वीकारेपछि उनी राजनारायणको घुसको कहानी सुनाउन तयार भए । स्टिगंकाे नालिबेली उनकै शब्दमा :
……………………………..
मेरा एक जना मित्र हुनुहुन्थ्यो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकका भाइ शुभनारायण पाठक ती साथीलाई भेट्न आए । उनले भेटमा पूर्वाञ्चल विश्वविद्यालयको डिन बन्ने इच्छा राखेछन् ।

‘डिनमा सिफारिस गराइदिनुप¥यो, डिन बनेपछि तपाईंलाई एउटा इन्जिनियरिङ कलेजको सम्बन्धन दिन्छु’ भनेछन् । ती साथीको सहयोगमा उनी डिन पनि बने तर डिन भएपछि उनको व्यवहार बद्लियो, सम्बन्धन दिएनन् । उता साथीको लगानी भइसकेको थियो ।

साथीले ‘यत्रो सहयोग गर्दा पनि किन सम्बन्धन नदिएको’ भन्दा शुभनारायणले ‘मेरी छोरी बंगलादेशको ढाकामा एमबिबिएस पढ्न जाँदैछ । मलाई केही खर्च चाहिन्छ, १५ लाख दिनुस्, म सम्बन्धन पनि दिन्छु’ भनेछन् । लगानी भइसकेकाले ती साथीले पैसा दिए ।

भक्तपुर, चाँगुनारायणमा रहेको नेपाल इन्जिनियरिङ कलेजको विवाद चल्यो । सञ्चालक थिए लम्बोदर न्यौपाने । सम्पत्तिको विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको थियो, राजनारायणले शिक्षा क्षेत्र हेर्थे ।

मेरा साथी इन्जिनियरसमेत भएकाले चाँगुनारायणस्थित सो कलेजको विवाद उनीसम्म आइपुग्यो । लम्बोदरलाई मेरो साथी र राजनारायण पाठकका भाइ शुभनारायण बीचको सम्बन्ध थाहा रहेछ ।
न्यौपानेले साथीलाई ‘अख्तियारका आयुक्त राजनारायण पाठकको भाइसँग तपाईंको राम्रो सम्बन्ध छ । भाइमार्फत् अख्तियारमा रहेको मेरो मुद्दा तामेलीमा लैजानुपर्यो’ भन्ने प्रस्ताव राखे ।

मेरा साथी राजी भए । राजनारायणसँग सम्पर्क गर्दा उनले घरमा बोलाए । आयुक्त राजनारायणले ‘भाइमार्फत् रोकिएको सम्बन्धन पनि दिलाइदिन्छु र नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिन्छु’ भन्दै मुद्दा तामेलीमा राख्न एक करोड ६५ लाख मागे । डिल पनि भयो ।

मिठाईको बट्टामा ७८ लाख
सहमति एकै पटक सबै रकम दिने थिएन । पहिलो पटक ४० लाख दिए । राजनारायणले फेरि मागेपछि दोस्रो पटक ३८ लाख बुझाए । दुवै पटक पैसा लैजाँदा अरुले चाल नपाऊन् भनेर मिठाईको बट्टामा ल्याउनु भने । रामेश्वर स्विटको मिठाईको प्याकेटमा पैसा राखेर बुझाइयो ।
दोस्रो खेपको पैसा लिएपछि पनि उनले काम गरेनन् । उनले डिल भएको एक करोड ६५ लाखमध्ये बाँकी ८७ लाख ५ दिनभित्र दिन दबाब दिन थाले । ‘मुद्दा तामेलीमा राख्ने प्रयास अगाडि बढिसक्यो, अब पाँच दिनभित्रमा बाँकी पैसा नदिए, म पनि चुप, तिमीहरु पनि चुप । काम थाँति राखिदिन्छु’ भन्न थाले ।
७८ लाख गइसक्यो । काम गर्दिन पो भन्छन् !

उनले भनेअनुसार काम गरिदिएनन् । मेरो साथीलाई जसले पैसा दिएका थिए उनले ‘काम नहुने भए पैसा फिर्ता चाहियो’ भन्न थाले । पटक–पटक राजनारायणलाई ‘कि काम, कि पैसा फिर्ता’ भन्दा टारेको टार्यै गर्ने !

मेरा साथीले राजनारायणसँग मोबाइलमा भएको कुराकानी रेकर्ड गरेका रहेछन् । तनाव बढेको बढ्यै भएपछि उनी मेरो सम्पर्कमा आइपुगे । के भयो भनेर सोध्दा उनले फोन रेकर्ड सुनाए ।
रेकर्डमा राजनारायणले प्रस्टै पैसाको बार्गेनिङ गरेका थिए । कुराकानीमा ७८ लाख लिएको र बाँकी पैसा दिन दबाब दिएको प्रस्टै सुनिन्थ्यो ।
यसरी भ्रष्टाचार नियन्त्रण गर्ने ठूलो निकायका आयुक्तले नै घुसको कारोबार गरिरहेको सुनेपछि सहनै सकिनँ । अडियो सुन्दा भाउन्नै भयो ।

ती साथीले भने, ‘सहयोग गर्न खोज्दा आफैँ फँसे, यसलाई कार्बाही गराउनु पर्यो ।’ कतै भनेको मानी पो हाल्छन् कि भनेर एक पटक राजनारायणसँग भेटेर कुरा गर्ने योजना बनाएँ ।
त्यत्तिकै भेट्न खोज्दा नमान्ने सम्भावना थियो । शिक्षा क्षेत्रमा काम गरिरहेको व्यक्ति र विवाद आएर पैसा फँस्न लाग्यो भन्दै सहयोग माग्दा पक्कै भेट्छन् भनेर फोन गरेँ । मोबाइल आफैँले उठाएः
‘हेल्लो, सर नमस्कार’
‘को हो ?’
‘हजुर म ……….।’
‘ए, के काम थियो ?’
‘हजुरले अख्तियारमा शिक्षा क्षेत्र हेर्नु हुँदोरहेछ । मेरो पनि एउटा कलेज छ । विवाद आएर हैरान भएँ । सहयोग पाउँछु कि भनेर भेट्न खोजेको ।’
कुनै विवाद भन्नासाथ उनी ‘पैसा आउने मुर्गा फेला पर्यो’ भन्ने सोच्ने रहेछन् । तु. भेट्न राजी भइहाले ।
भोलिपल्ट अख्तियारको कार्यालयमै बोलाए ।
‘ठ्याक्कै १ बजे आइपुग्नु नि, ढिला भए त भेट्दिनँ’ भने ।
‘हस्’ भनेँ ।

कालो सुटपिस, हातमा ब्रिफकेस
म खेलकुद क्षेत्रको व्यक्ति । राजनीतिमा पनि सक्रिय छु । आफ्नो जस्तो हुलिया हो, त्यस्तैमा गयो भने त उनले पत्याउने सम्भावना थिएन । ठूलै मुर्गाको भ्रम दिन गेटअप चेञ्ज गर्नैप¥यो । त्यसपछि चट्ट परेको थ्रिपिस कालो सुट ल्याएँ, कालै ब्रान्डेड चश्मा किनेँ र ब्रिफकेस पनि भिआइपीवाला बोकेँ ।

२०७४ माघ १४ गते तोकिएकै समयमा अख्तियारको गेटमा पुगेँ । नाम र पेशा उनलाई जे भनेको थिए त्यही टिपाएँ र सरासर उनको च्याम्बर बाहिर पुगेँ । नाम टिपाएको केही समयमै भित्र बोलाइहाले ।
कोठामा पुगेलगत्तै उनले खुब नियालेर हेरे । सोफामा बस्न इशारा गरे । कोठामा अरु पनि थिए । सायद ती कार्यालयका कर्मचारीहरु थिए क्यार ! केही समयमा उनले सबै कर्मचारीलाई कोठाबाट बाहिर पठाए र म बसेको सोफा नजिकै बसे ।
‘ल भन्नुस् म के सहयोग गर्नसक्छु ?’ उनले कुरा शुरु गरे ।
‘तपाईंले मलाई हैन, मैले तपाईंलाई सहयोग गर्न आएको हुँ’ भनेँ ।
उनी अक्क न बक्क भए ।
उनले ‘हैन के भन्नुहुन्छ ? तपाईंले मलाई के सहयोग गर्नसक्नहुन्छ र ?’ भने ।
मैले कुरा शुरु गरेँ ।
‘तपाईंलाई भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजको विवादबारे थाहा छ ?’
टाउको हल्लाउँदै थाहा छैन भने ।
मैले मेरो साथीको नम्बर देखाएर सोधेँ, ‘यो नम्बर कसको हो चिन्नुहुन्छ ?’
उस्तैगरी टाउको हल्लाएर नचिन्ने संकेत गरे ।
झोँक चल्यो ।
‘तपाईंको मोबाइलमा यो व्यक्तिको नम्बर छैन त ?’
उनले ‘छैन’ भने । मान्छे ज्याद्रै लाग्यो मलाई ।

तपाईं ढाँट्दै हुनुहुन्छ । यो नम्बर (साथीको) र तपाईको नम्बरबीच भएको सबै कुराकानी मैले डिभाइस प्रयोग गरेर रेकर्ड गरेको छु । तपाईंले इन्जिनियरिङ कलेजको मुद्दा मिलाइदिन्छु भनेर घुस खाएको हो कि हैन ? केरेपछि बल्ल उनको अनुहारको रङ बद्लियो ।

उनको छटपटी बल्ल देखिन थाल्यो । कहिले पानी पिउँथे, कहिले शौचालय जान्थे । उनी डराएको संकेत पाएपछि ‘तपाईंले पैसा लिएको स्वीकार गरेर फिर्ता गर्ने कि प्रक्रियामा जाउँ ?’ भनेँ ।
‘म यो व्यक्तिलाई चिन्दा पनि चिन्दिनँ, मैले पैसा लिएको पनि छैन’ भन्न थाले तर उनको हात, खुट्टा कामिरहेको देखिरहेको थिएँ ।

त्यहाँ धेरै समय बस्न उचित लागेन । ‘चिने चिन्नु, नचिने नचिन्नु, म तीन दिनको समय दिन्छु, त्यो भित्रमा गल्ती स्वीकार्नु भएन भने जे गर्नुपर्ने हो त्यो गर्छु’ भनेर म निस्किएँ ।

गुण्डा र प्रहरी नेताको दवाव

तीन दिन समय दिएको ३५ दिनसम्म भेटघाटै भएन तर यस बीचमा खुब दुःख दिए । म र मेरो साथीलाई तर्साउन जे–जे गर्न सक्छन् सबै गरे । प्रहरी लगाएर बिना कारण थुनाए, कार्यालयमा गुण्डा पठाएर तर्साए । नेतामार्फत् फकाउन एजेन्ट पठाए । सरकारी कर्मचारी आए ।

सबैको प्रयास मिल भन्ने नै हुन्थ्यो । कतिपयले चैँ फोन रेकर्ड फुत्काउने प्रयास गरेका थिए तर फेला परे पो !

बढी चैँ प्रहरीले दुःख दियो । एक दिन मेरो साथी कफी खाएर बसिरहेको बेला ११ जना प्रहरी आएर उठाएर लगेछन् । प्रहरीले आधा घण्टा राखेर पनि नछाडेपछि साथीले ‘एक पटक फोन गर्न पाउँछु ?’ भनेर मोबाइल मागेछन् ।

उनले मलाई फोन गर्दा प्रहरीले मोबाइल स्क्रिनमा नाम हेरेछन् । मेरो नाम देखेपछि ‘पाठकलाई फोन गरेर भनिदिए । म पाँच मिनेटमै पाठकको घरमै पुगेर ‘मेरो साथीलाई प्रहरीले छाडेनन् भने सबै सार्वजनिक हुन्छ’ भनेपछि बल्ल साथी छुटे ।

त्यसपछि पनि पक्राउ गर्ने क्रम रोकिएन । अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहको टोलीले उठाएर टेकु लगेर केराकार गरे ।

पक्राउको कारण सोधखोज गर्दा राजनारायणको भाइ शुभनारायण पाठकले दिएको मौखिक उजुरीका आधारमा पक्राउ गरेको खुल्यो । आरोप चैँ धम्क्याएको भन्ने रहेछ !

खाली कागजमा साइन गर्न लगाए । बयानहरु लेखिए । हामीले दिएको बयान पढ्दा बीचबीचमा खाली ठाउँ राखिएको थियो । खाली ठाउँ राखेर साइन गर्दैनौं भनेर खाली ठाउँ कोर्दै हस्ताक्षर गर्यौं ।

मेरो साथीको आमा बिरामी हुनुहुन्थ्यो । टेकुबाट फोन आयो । ‘तपाईं………हो’ भनेर सोधे । मैले ‘हो’ भनेँ ।
उताबाट ‘तपाईं शुभनारायण पाठकलाई चिन्नुहुन्छ ?’ भनेर सोधे ।
मैले ‘आफ्नो पैसा लिएर नदिनेलाई चिनिहाल्छु नि !’ भनेँ ।

फोन गर्नेले धम्क्याएको हो भनेपछि मैले ‘आफ्नो पैसा माग्नु पनि धम्क्याएको हुन्छ र ? यो टेक्नोलोजीको जमानामा घर गएर माग्ने हो ? फोन गरेर, एमएमएस गरेर माग्ने त हो नि ! कि तपाईं पैसा उठाइदिनुस्’ भनेँ ।

त्यसपछि दुई दिन प्रहरीको फोन आएन ।
फेरि प्रहरीले बोलायो । १० बजे भनेकाले ९ बजे नै पुग्यौं । बिहानदेखि बेलुकासम्म कार्यालयमा राखे तर केही सोधेनन् । सोधपुछ भन्दा पनि मानसिक तनाव दिने उद्देश्य देखियो । म अगाडि मेरो साथीलाई त दुई दिनसम्म गैर कानुनी रुपमा हिरासतमा राखेर मानसिक तनाव दिएको थियो प्रहरीले ।
त्यो दिन पनि बयान लियो । त्यसपछि रिस उठ्यो ।

‘मौखिक उजुरीको आधारमा ल्याएर दुःख दिइरहनुभएको छ । यो सब राजनारायण पाठकले भनेर गरेको थाहा छ । विचार गर्नुस् । तपाईंहरु पनि मुछिनुहोला’ भनेपछि छाडे ।

भोलिपल्ट फेरि फोन आयो । बोलाएकै समयमा पुग्दा पनि एसएसपी सिंहले भेटेनन् । उनी १ बजे निस्किएर हिँडेपछि म २ बजे हिँडे त्यहाँबाट ।

म हिँडेको केही समयमै फेरि फोन आयो, ‘तपाईं कहाँ जानु भयो ? यहाँ एसएसपी सा’पले बोलाउनु भाथ्यो’ भने ।

‘बिहानदेखि कार्यालयमै हुँदा किन भेट्नु भएन ? बिनाकारण दुःख दिनु भयो । पुर्जी काट्नुस्, प्रहरी पठाउनुस् अनि मात्र आउँछु, नत्र आउन्न’ भनेँ ।प्रहरीले डर देखाएर हामीले गल्ती गर्यौँ भन्दै प्रमाण बुझाउन लगाउने नियत देखिएको थियो तर उनीहरुले मुखै खोलेर रेकर्डको कुरा भने गरेनन् ।

तर मलाई ‘साना मान्छे भएर ठूलो मान्छेसँग लड्ने ? महाभारत गर्ने ? तिमीलाई सिध्याइदिन्छ, तिम्रो टिमलाई सिध्याइदिन्छ’ भनेर धम्क्याउँथे ।

नौ पटकपछि बल्ल सफल
राजनारायणको कालो काम सार्वजनिक गर्नु नै थियो तर उनी चानचुने व्यक्ति थिएनन् । अख्तियारको आयुक्त जस्तो व्यक्ति उनले घुस लिने र काम गरिदिने भन्दै पैसा उठाएर उल्टो थर्काउने गरेको पुष्टि फोन रेकर्डकै भरमा मात्र विश्वास दिलाउन गाह्रो थियो । स्वर मात्र हुँदा हैन भनेर पन्छिने र अरुले पनि विश्वास नगर्ने जोखिम देखेपछि गोप्य रुपमा भिडियो खिच्ने योजना बनायौं ।

५० करोडको अफर
फोन आएन । ३५ दिनपछि आफैंले फोन गरेँ । उनले ‘जनकपुरमा छु’ भने ।
‘तीन दिन टाइम दिएको, ३५ दिन भयो । भेटघाट पनि गर्नुहुन्न, के पारा हो ? प्रमाण सरकारलाई बुझाउँ ?’ भनेपछि उनले ‘भोलि तपाईं मेरो घर आउनुस् । तपाईंसँग म कुरा गर्छु । तपाईंले मलाई सहयोग गर्नुपर्छ’ भने ।

भोलिपल्ट बाटैमा गोप्य क्यामरा अन गरेर शान्तिनगरमा रहेको उनको घरमा गएँ । पहिलो दिन उनले हैन भनेरै टारे, दोस्रो दिन पनि केही खोलेनन् । थर्काएर मात्र काम हुने देखिएन । उनको कमजोरी पैसा थियो । उनलाई फोन रेकर्डको टेन्सन भने थियो ।

अख्तियारका प्रमुख आयुक्त परिर्वतन हुँदै थियो । उनीसँग नमिली कुरा ओकल्न सकिन्न भन्ने देखिएपछि तेस्रो भेटमा ‘अब तपाईं नआत्तिनु, म साथ दिन्छु । अब तपाईं प्रमुख आयुक्त हुनुपर्छ’ भनेँ ।
उनले भने, ‘हो र ? म प्रमुख आयुक्त हुन्छु भनेर कसरी चाल पाउनुभयो ?’

‘अरु को छ र सक्षम ? सबै त विवादित हुन् नि !’ भनेपछि हौसिँदै उनले भने, ‘हो सबैलाई मुद्दा हाल्यो भने जान्छन् ।’ म नेकपामा आबद्ध रहेको उनलाई जानकारी थियो । ‘लौ न पार्टीमा भनिदिनुप¥यो’ भन्न थाले ।
मैले सक्दो सहयोग गर्ने वचन दिएँ । अनि उनी प्रमुख आयुक्त नभइञ्जेल फोन रेकर्डको टेन्सन नलिन भनेँ । उनले पत्याए ।

कुराकानीकै क्रममा ‘सर मैले जीवनमा पहिलो पटक नचाहिने काम गरेँ । अब म त्यस्तो गर्दिनँ । मैले गल्ती गरेको हो । एक पटकलाई माफ दिनुस्’ पो भने ! अलिकति काम भयो ।

उनको शान्तिनगरमा रहेको घरमा पटक–पटक जान थालेँ । प्रायः बिहान या बेलुकातिर बोलाउँथे । उनको घरमा जाँदा सधैँ क्यामरा राखेको हुन्थेँ । एक, डेढ घण्टा कुरा हुन्थ्यो । जे भन्दा उनी पत्याउँथे त्यही प्रस्ताव राख्थे । उनी बिस्तारै खुल्दै आए । ६ पटकसम्म जाँदा त उनी त्यतातिर जाँदै गएनन् । ‘अब चैँ कुरा मिल्यो’ भनेर विश्वस्त भएपछि मात्रै अलिअलि खुल्न थाले ।

प्रमुख आयुक्त भएपछि मिलेर काम गर्ने, ५० करोडसम्म कमाउने, पुरस्कृत गर्ने जस्ता के–के भन्न थाले उनले ।

८ महिनासम्म पछ्याएको पछ्याई
यस बीचमा नौ घण्टा जतिको भिडियो खिचिएछ । ती भिडियोमा उनले आफूले गरेका बदमासी स्वीकारेका छन् । भाइ शुभनारायणको बदमासी पनि भनेका छन् । यी सबै संकलन गर्न ६ महिना लाग्यो । माघबाट पछ्याउन थालेको, भदौसम्म निरन्तर भेटिरहे ।

चाहिने प्रमाण आएको देखेपछि भदौमा उनको घर गएर ‘तपाईंले घुस खाएको स्वीकार गरेको सबै रेकर्ड मसँग छ, अब यो सबै सरकारलाई बुझाउँछु’ भन्दा उनले पत्याउँदै पत्याएनन् ।
‘हैट्, तपाईंसँग त्यस्तो के छ र ?’ भन्न थाले ।

त्यो दिन ल्यापटप बोकेर गएको थिएँ । उनको कोठाको टेबलमा ल्यापटप राखेँ । उनलाई अगाडि राखेर गोप्य रुपमा खिचेको भिडियो देखाएँ, जसमा उनले पैसा लिएर गल्ती गरेको बोलेका थिए ।
भिडियो हेरेपछि अनुहार बिगार्दै ‘मलाई गद्दारी गर्नुभयो’ भने ।

‘मेरो साथीलाई गद्दारी गर्ने अनि तपाईंलाई चाहिँ किन गद्दारी नगर्ने ?’ भनेँ । केही समय त उनी बोल्नै सकेनन् । सुस्केरा हाल्दै सोफामा बसे । पानी खाए अनि प्रलोभन देखाउन थाले ।

‘अब जेल जान तयार हुनुस्’ भनेर निस्कन खोजे । उनले हात जोड्दै ‘यस्तो नगर्नुस्, यो सबै बाहिर आयो भने त म त बर्बाद हुन्छु’ भने ।

रमाइलो के भने, उनले ल्यापटपमा आफ्नो गोप्य भिडियो हेरेको, बर्बाद हुन्छु भनेको सबै दृश्य पनि गोप्य रुपमा खिचिरहेको थिएँ । उनले ‘म त बर्बाद हुन्छु, मलाई दया गर्नुहोस्, म बिरामी मान्छे’ भन्दै अति गर्न थालेपछि ‘यो पनि खिचिरहेको छु नि’ भनेपछि आत्तिदै ‘अरे यार के के गर्नुहुन्छ, बर्बादै गर्नुहुने भयो, क्यामरा बन्द गर्नुस्’ भन्दै पर गए ।

बालुवाटारमा तीन घण्टा
साथीसँग भिडियो फुटेज हेर्दै अब उनलाई कसरी कार्बाही गराउने भन्ने छलफलमै रहँदा पाठकले आफ्नो सहयोगी खटाएर प्रदेश नम्बर २ का स्थानीय निकायका एक हजार जनासँग पैसा उठाउने योजना बनाइरहेको सूचना आयो । उनको लिस्टमा वडा अध्यक्षदेखि मेयरसम्म थिए । सबैलाई भ्रष्टाचारको मुद्दा लगाउने भनेर धम्क्याएर २५ करोडसम्म उठाउने योजना बनाएको सूचना आएपछि उनलाई कार्बाहीमा पार्न ढिला गर्नहुन्न भन्ने भयो ।

आयुक्तमाथिको कार्बाही जटिल थियो । यसका लागि सरकारै लाग्नुपथ्र्यो । त्यसका लागि नेकपाका नेताको सहयोग आवश्यक थियो । कमरेड रविन कोइराला (झापाका नेकपा नेता) सम्झिएँ । उहाँले पाँच घण्टाको फुटेज हेरेपछि ‘हैट् तपाईंले कसरी गर्नुभयो ? तपाईंको मुटु कहाँ छ ?’ भन्नुभयो ।

फुटेजमा आयुक्त राजनारायण आफैँले बोलेका कुरा सुनेपछि ऊ घुस्याहा हो भन्नेमा उहाँ कन्भिन्स हुनुभयो र पार्टीमा कुरा अगाडि बढाउने भयौँ । दोस्रो चरणमा सुवास नेम्वाङ, अग्नि खरेल र कोइराला कमरेडसहित बसेर भिडियो हेर्यौँ । भिडियो हेरेपछि सबै कार्बाही अगाडि बढाउन सहमत देखिए ।

कार्बाही अगाडि बढाउन प्रधानमन्त्रीज्यूलाई त्यो देखाउन आवश्यक थियो । नेम्वाङ र खरेल कमरेडले यसमा सहयोग गर्नुभयो । बालुवाटारमा समय मिल्यो । कमरेड नेम्वाङ, खरेल, कोइरालासँगै प्रधानमन्त्रीज्युले पनि भिडियो हेर्नुभयो । बालुवाटारमा करिब ३ घण्टा बस्यौँ ।

सबै कुरा सुनेपछि प्रधानमन्त्री केपी ओली राजनारायणमाथि कार्बाही गर्न तयार हुनुभयो । महाअभियोगको तयारीका लागि निर्देशनै दिनुभयो । प्रमाण बुझाएर हामी बालुवाटारबाट निस्कियौं ।
भोलिपल्ट राजनारायणले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको खबर आयो ।

‘स्वाँठ’ घुस्याहा
अख्तियारको आयुक्त भएपछि उसले हामीलाईझैँ धेरैलाई धम्क्याएर पैसा असुलेका थिए । भ्रष्टाचारको मुद्दा लगाइदिने भन्दै धम्क्याएर अर्बाैं उठाएका छन् । मैले रेकर्ड गरेकै भिडियोमा बोलेअनुसार उनले पूर्वाञ्चल विश्वविद्यालयका भिसी घनश्याम दासलाई धम्क्याएर भाइलाई दोस्रो पटक डिन नियुक्त गर्न लगाए ।
रेल्वेका महानिर्देशक बलराम मिश्रलाई धम्क्याएर ३० लाख उठाएका छन्, आफ्नी छोरीको नाम एमडिमा निकाल्न दबाब दिएपछि आइओएमका डिन राकेश श्रीवास्तव राजीनामै दिएर हिँडे ।

उनका भाइले घुस खाएको पुष्टि हुने भिडियो पनि छ । एक पटक कुराकानीका क्रममा ‘तपाईंको भाइले लिएको पैसा त फिर्ता हुनुपर्यो नि !’ भनेपछि उनले भाइलाई फोन गरेर मेरो नाम लिँदै ‘१५ लाख फिर्ता दिनुपर्यो नि’ भने ।

उनका भाइ शुभनारायणले ‘तपाईं आयुक्त भएर त उसलाई केही गर्न सक्नु भएको छैन । मलाई ऊसँग नजोड्नुस्’ भन्दै फोन काटिदिएपछि मतिर हेर्दै ‘हेर्नुस् त, मेरो हालत कस्तो भइसक्यो !’ भनेका थिए ।
मलाई आएको सूचनाअनुसार उनले भारतको मधुवनीमा ससुरालीको नाममा टन्नै पैसा राखेका छन् । नेपालमै पनि उनी, उनको परिवार र आफन्तको नाममा जोडेको सम्पत्ति केलाउने हो भने पनि उनको सबै कर्तुत छर्लङ्ग हुन्छ ।

सरकार कार्बाही गर्न प्रतिबद्ध देखिएको छ । अख्तियारले नै छानविनका लागि समिति गठन गरेको समाचार सार्वजनिक भएका छन् । धेरै प्रमाण त मैले रेकर्ड गरेकै भिडियोले दिन्छ । यति भएपछि कार्बाही त होला कि !