रेखाको असफल ध्यानाकर्षण

रेखाको ध्यानाकर्षणपत्र नजाने गाउँको बाटो सोधेजस्तो प्रतीत भयो जबकि यो एउटा गम्भीर मुद्दा थियो । यसमा के गर्न सकिन्थ्यो ? बाटो के बाँकी छ ?

गएको साता रेखा थापाले श्रम मन्त्री गोकर्ण विष्टलाई भेटेर विमानस्थलमा श्रमिकका सामग्री जफत नगर्न ध्यानाकर्षण पत्र हस्तान्तरण गरिन् । एउटी फिल्म अभिनेत्रीले पीडित श्रमिकका लागि यति ध्यान दिनु निकै सकारात्मक पहल थियो र यसलाई जुन अभियानका रुपमा अघि बढाउनुपर्ने थियो, त्यो भने हुन सकेन ।

एउटी चर्चित अभिनेत्रीले लिएको चासोमाथि मिडिया र अन्य समुदायलाई किन तातो लागेन ? यसले मलाई एक साथ तीन वटा घटनाको स्मरण दिलायो ।

पाकिस्तानी किशोरी मलाला युसुफजाईलाई तालिबानले प्रतिबन्धका बाबजुद स्कुल गएको र तालिबानविरुद्ध बोलेको अभियोगमा गोली हाने । गोली उनको मस्तिष्कको ‘ब्लाइन्ड स्पट’मा अड्कियो । चिकित्सकहरुको अहोरात्र मिहिनेतका कारण उनी बाँचिन् । बाँचेपछि उनको जीवनको उद्देश्य नै महिला तथा बालबालिकाको शिक्षामा जीवन अर्पण गर्ने रह्यो । यसका लागि उनले ‘मलाला फन्ड’ बनाइन् ।

पाएका पुरस्कारको राशि त्यही फन्डमा हालिन् र जुटिन् महाभियानमा, जसले महिला तथा बालबालिकाको शिक्षाको पैरवी गरिरहेको छ । उनको अभियानले संसारका लाखौँ बालबालिका र महिलाले शिक्षा हासिल गर्न पाइरहेका छन् । उनको अभियानकै कारण अफ्रिकी तथा एसियाली मुलुकका महिलाहरुले नयाँ आशा र साथ पाएका छन् ।

फेसबुककी चिफ अपरेटिङ अफिसर सेरिल स्यान्डबर्ग त्यो बेला गर्भवती थिइन् । उनी कार्यालय आउँदाजाँदा जुन गाडी प्रयोग गर्थिन्, त्यो आफ्नो कार्यालयभन्दा लगभग पाँच सय मिटर पर रोक्नु पथ्र्यो । आधा किमि पैदल हिँडेर आफ्नो कार्यस्थलसम्म पुग्दा उनलाई यति अप्ठेरो भयो कि उनले फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गसँग गुनासो गर्दै भनिन्, ‘गर्भवती भएका कारण मलाई हिँड्न गाह्रो भयो, तिमीले मेरो कार्यस्थल नजिकै पार्किङको व्यवस्था मिलाइदिनु प¥यो ।’ जुकरबर्ग यसमा सहमत भए । भोलिपल्टदेखि सेरिललाई हिँडाइको अप्ठेरो झेल्नु परेन ।

जसै आफूलाई सजिलो भयो, उनको दिमागमा विचार कुद्यो– यो अफिसमा गर्भवती महिला अरु पनि होलान् । उनीहरुले पनि मैलेझैँ अप्ठेरो भोगिरहेका होलान् । अफिसमा जसै उनले यसबारे छलफल चलाइन्, अनेकौँ अप्ठेराका कुरा निस्किए । धेरै जनाले आफ्ना ती अप्ठेरा अफिसले नसुनिदेला भनेर नउठाएका सेरिलले बुझिन् । यसपछि उनले कार्यस्थलमा हुने अप्ठेराका बारेमा छलफल मात्र चलाइनन्, बुझ्दै जाँदा महिलाका समस्याबारे नबोल्नु, जानकारी नगराइनु र जानकारी गराउँदा पनि बुझपचाइनुजस्ता अनेकन झमेला समेत थाहा पाइन् ।

आफ्नो यस्तो अनुभूतिपछि उनले एउटा पुस्तक लेखिन्, ‘लिन इन्’ । सन् २०१३ मा आएको यो पुस्तक रातारात सुपरहिट भयो । पहिल्यै अर्बपति रहेकी सेरिललाई यसबाट आएको पैसाले गर्जो टार्नु थिएन । कार्यस्थलमा हुने अनेकन समस्याका बारेमा बोल्ने संगठन नै चाहिने महसुस गर्दै त्यो पैसाले संस्था खडा गरिन्, ‘लिन इन् अर्गनाइजेसन ।’ यस संगठनले अहिले संसारभरि महिलाले भोगिरहेका ससाना कुरा उठाउन प्रेरित गर्ने, कार्यस्थलका समस्या समाधानका लागि महिलाहरुलाई तालिम दिने लगायत अनेकौँ काम गरिरहेको छ ।

र, अर्को अभियान पनि कम सशक्त थिएन । सन् १९९८ ताका एउटा पुस्तक निस्केको थियो, ‘भजाइना मनोलग’ । यस पुस्तकमा लेखिका इभ एन्स्लरले संसारभर योनिको पूजा किन र कसरी हुन्छ, इतिहासमा पूज्य मानिएका स्त्री जाति समयक्रममा कसरी पतीत बनाइए र अहिले जबजब युद्ध र हिंसा हुन्छ, सबैभन्दा प्रताडित त्यही ‘भजाइना’ किन हुन्छ भन्नेबारे व्याख्या गरेकी थिइन् ।

उनले संसारभर पीडित महिलासँग कुरा गरिन् र तिनका व्यथालाई सशक्त रुपमा पुस्तकमा उठाइन् । यो पुस्तक त्यो बेलाको बेस्ट सेलर बन्यो । लेखिकाका विचारमा सहमत हुनेहरू उनीसँग हातेमालो गर्न आए । पुस्तकमा आधारित नाटक मञ्चित भयो । नाट्यघरमा कहिल्यै नसुनिएका अश्लील शब्दका कारण विरोध मात्र भएन, प्रतिबन्ध नै लगाउनु पर्ने आवाजसमेत उठ्यो तर महिलामाथि हुने जुन हिंसाको मुद्दा जुन नियतका साथ उठाइएको थियो, त्यसका कारण दिनदिनै यसको लोकप्रियता बढ्यो ।

यसपछि लेखिका इभले ‘भजाइना मनोलग’बारे एउटा विश्वव्यापी संस्थाका लागि पहल गरिन् । संस्थाले महिलामाथि हुने हिंसाविरुद्ध सशक्त कार्यक्रम बनायो भने महिला अधिकारका लागि काम गर्न थाल्यो ।
माथिका तीन वटै अभियानले बुलन्दी हासिल गर्नुमा ती अभियानको वैचारिक धरातल कति सशक्त थियो भन्ने स्पष्ट बताउँछ । कुनै अभियान सुरु गर्नका लागि त्यसको धरातल बलियो हुनुपर्छ । धरातलले मानिसलाई प्रभावित तुल्याएपछि सशक्त अभियान चलाउन सम्भव छ भन्ने कुरा माथिका तीन पुस्तक, तिनका लेखिका र अभियानले प्रस्ट्याउँछ ।

विदेशमा परिश्रम गर्न गएका नेपालीका दुःख बयान गरी साध्य छैन । तिनमाथि हुने अत्याचार दलालबाट सुरु भएर श्रम विभागसम्म पुग्छ र त्यहाँबाट विदेशी भूमिसम्म लम्बिन्छ । जसै त्यहाँबाट साना पोका ल्याउँछन्, त्यसमा पनि आँखा लगाउने र ¥याल चुहाउनेको कुनै कमी छैन ।

यति सशक्त मुद्दामाथि व्यङ्गय गर्दै अभिनेत्री थापाले श्रममन्त्रीलाई ध्यानाकर्षण गराइन् । विदेशबाट फर्किएका निम्छराको पसिनामाथि ‘सरकारी रजाइँ’ स्वीकार्य विषय पक्कै हैन । यस्तो मुद्दालाई रेखाले ध्यानाकर्षण गरेर मात्र छाड्नु हुन्न अभियानको रुपमा अघि बढाउनुपर्छ ।

रेखाको आफ्नै अभियानले भने यतिबेला गाउँगाउँमा सकारात्मक प्रभाव पार्दैछ । उनले फिल्म ‘मालिका’मा बालविवाहबारे कुरा उठाएकी छन् र देशका दुरदराज इलाकामा त्यही फिल्म प्रदर्शन गर्दै बालविवाह र यसले ल्याउने विषमताबारे सशक्त अभियान सञ्चालन गरिरहेकी छन् । उनले सुरुदेखि नै महिला सशक्तीकरणका मुद्दा फिल्ममार्फत् पस्किरहेकी छन् र यसै क्षेत्रमा उनले काम गर्नुको परिणाम पनि सकारात्मक आउनु स्वाभाविक नै थियो ।

जति सफलता उनले नारी सशक्तताका पक्षमा कुरा उठाउँदा सुनिन सक्छ, त्यति विदेशमा पसिना खर्चिरहेकाहरुको हकहित विषयमा नसुनिन सक्छ ।

बरु वैदेशिक रोजागारीको पीडाका बारेमा जनकराज सापकोटाले ‘कहर’जस्तो सशक्त पुस्तक लेखेपछि उनले यसलाई अभियानको स्वरुप दिन सक्थे । उनले यस पुस्तकलाई आफ्नो अभियानको आधारशीलाका रुपमा सशक्त रुपमा उपयोग गर्न सक्थे तर गरेनन् ।

जसरी सापकोटालाई अभियान सञ्चालन गर्न अप्ठेरो छ, रेखालाई सजिलो छ उनको व्यक्तित्व, लोकप्रियता र प्रभावकारिताका कारण । रेखाले जसै चासो दिइन्, श्रममन्त्रीले अर्थमन्त्रीसँग समन्वय गरेर यस दिशामा के काम गर्न सकिन्छ चासो लिने बताइसकेका छन् ।

रेखा वा जो सुकै सेलिब्रिटीले वैदेशिक रोजगारीमा गएर दुःख पाएकाहरुका बारेमा कुनै महाअभियान शुरू गर्नुअघि त्यसको सशक्त धरातल स्थापित गर्नैपर्छ । त्यो स्थापना नगरुञ्जेल जतिसुकै ध्यानाकर्षण पत्र पेस गरे पनि, जतिसुकै आन्दोलन गरे पनि र अनसन–विरोध प्रदर्शन गरे पनि बहिरो सत्ताले कान दिँदैन भन्ने कुराको अनेकन उदाहरण यो देशमा छताछुल्ल छन् । झन् वैदेशिक रोजगारीमा त ठूल्ठूला र अदृश्य ‘हातहरू’ छन्, जसले यो मुद्दालाई हल न चल पारिदिन्छन् । उदाहरणका रुपमा मलेसियाको रोजगारी जुन ‘कोमा’मा परेको छ, त्यसबाट नै प्रस्ट हुन्छ ।

त्यसैले अभिनेत्री रेखा थापाको अभियान लहड होइन, सशक्त अनुभूतिका साथ लडिने लडाइँमा परिणत हुनुपर्छ । यसका लागि उनले बृहत् जनमत बनाउन सक्नुपर्छ, कयौँ मनकारीको मन जित्न सक्नुपर्छ । अन्यथा उनको यो अभियान जतिसुकै पुनीत उद्देश्यका साथ सुरु गरिएको भए पनि टाइँटाइँ फिस्स हुने सम्भावना बढेर जान्छ ।

कुनै अभियान सुरु गर्न असल नियत भएर मात्र हुँदैन, जति गम्भीर मुद्दामा हात हालिन्छ, उति नै व्यापक तयारी र आधारभूमि बलियो पनि हुनुपर्छ । नत्र भने यो अभियान एउटा फेन्टासीमा परिणत हुन बेर लाग्ने छैन ।