अधुरै रहयो रवीन्द्र अधिकारीको जर्मनी पुगेर नेपाल प्रवर्द्धन गर्ने सपना

काठमाडौं : संस्कृति पर्यटन नागरिक तथा उड्डयनमन्त्री रवीन्द्र अधिकारी बिहीबार बिहान जर्मनी जाने कार्यक्रम तय भएको थियो।

संयुक्त राष्ट्र संघको विश्व पर्यटन संगठनको आयोजना शनिबारदेखि मंगलबारसम्म हुने कार्यक्रममा जाने निर्धारित कार्यक्रम मन्त्री अधिकारीको थियो। ‘युरो एसिया माउन्टेन कन्क्लेभ’ नाम लिएको कार्यक्रममा भाग लिएर नेपालको प्रवर्द्धन गर्ने मन्त्री अधिकारीको सपना अधुरै रहेको छ।

मन्त्री अधिकारी स्वकीय सचिव दीपक थापा र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीसँगै बिहीबार बिहान ८:५० बजे कतार एयरवेजमार्फत् कार्यक्रममा जाने निश्चित भएको थियो।

जर्मनीको म्युनिख एयरपोर्टले नेपालमा विमानस्थल निर्माणमा चासो देखाएकाले सो विमानस्थलको व्यवस्थापन अध्ययनसहितको विषयमा जानकारी लिन मन्त्री अधिकारी त्यहा जान लागेका थिए। अधिकारी शनिबार र आइतबार जर्मनीको कार्यक्रममा सहभागी हुने पूर्वनिर्धारित कार्यक्रम थियो।

उक्त कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने, नेपालको पर्वतीय पर्यटनमा भएको नकारात्मक विषयलाई चिर्न सकारात्मक सन्देश दिने खालको प्रवद्र्धन गर्ने र नेपाललाई हिमालयन डेस्टिनेशनको रूपमा प्रवर्द्धन गर्ने तयारी थियो।

जर्मनीको कार्यक्रम सकेर बर्लिनमा हुने आइटीबी नामक पर्यटन मेलामा सहभागी हुने कार्यक्रम पनि तय भएको बोर्डका सीईओ जोशीले जानकारी दिए। उनका अनुसार बर्लिनमा आगामी सोमबार जाने र आगामी मंगलबारको उद्घाटन कार्यक्रम, बुधबार नेपाल प्रवद्र्धन र बिहीबार नेपाल भ्रमण वर्षको प्रवर्द्धन गर्ने मन्त्रीसहितको कार्यक्रम तह भएको थियो। दुर्घटनापछि जर्मनीको कार्यक्रम स्थगित भएको छ।