प्रतिपक्षको भूमिकामा फेसबुक

स्वभावैले मानिस एक सामाजिक प्राणी हो । मार्क जुकरवर्गले यही सोचेर मानिसलाई भर्चुअल दुनियाँमा सामाजिक बनाउने प्रयासस्वरूप फेसबुक बनाए । सामाजिक सञ्जाल मानिसहरूलाई जोड्ने एउटा माध्यम हो । तर, अहिले यो माध्यमका रूपमा मात्र नभई युवापुस्ताको राम्रो साथी बनिरहेको छ । आफ्ना भावनाहरू सामाजिक सञ्जालमा पोख्नेदेखि सरकारको विरोध गर्ने राम्रो माध्यम बन्दै गएको छ ।

रमाइला क्षणहरू शेयर गरेर खुसी बाँड्नेमात्र नभई दुःख बाँड्ने ठाउँ पनि बन्दैछ सामाजिक सञ्जाल । सामाजिक सञ्जाल ठूला–ठूला राजनीतिक बहस गर्ने वा एजेण्डा सेट गर्ने ठाउँ त हुँदै हो, सूचनाको स्रोत पनि यही बनेको छ । कसैसँग खुशी हुँदा धन्यवाद भन्न होस् या कसैसँग रिस उठ्दा रिस पोख्न, सामाजिक सञ्जाल सहयोगी बनेको छ । एक्लै हुँदा पनि सामाजिक बन्न सघाउने साथी बनेको छ । फेसबुक, ट्विटर, इन्स्टाग्राम युवाहरूले बढी प्रयोग गर्ने सामाजिक सञ्जाल हुन् । फेसबुकमा पारिवारिक र साथीसँगका अनुभवहरू साट्ने गर्छन् भने ट्विटरमा राजनीतिक विचारहरू व्यक्त गर्छन् ।

आफ्नो दैनिकी, भावना, दुःख–सुख ‘शेयर’ गर्न प्रायःले फेसबुक नै चुन्छन् । तर सामाजिक सञ्जालमा दुःखको कुराचाहिँ ‘शेयर’ गर्न अलि हिच्किचाहट हुन्छ । प्रायः सबैले दुःखभन्दा सुख बढी बाँड्ने गर्छन् । तर, आफ्ना दुःख शेयर गर्दा त्यसको समाधान पाउने माध्यम सामाजिक सञ्जाल बनेको छ । विशेषगरी फेसबुकमा साथीहरूले दिने सल्लाहले आफ्ना कामहरू बन्ने गरेको अनुभव धेरैलाई छ । सामाजिक सञ्जाल नभइदिएको भए मनको कुण्ठा पोख्ने ठाउँ कहाँ हुन्थ्यो होला ? साथी वा परिवारलाई चाहेकै बेला भेट्न सम्भव नहोला तर आफ्नो मनको बह कहने व्यक्ति भेट्ने समय कुर्दासम्म त्यो कुण्ठाले कति पोल्छ होला ? तर, सामाजिक सञ्जालमा तुरुन्त शेयर गर्नासाथ तपाईंको मनले राहत महसुस गर्नेछ ।

आफ्ना कतिपय व्यक्तिगत कुरा सार्वजनिक गर्नलाई गलत ठान्नेहरू पनि छन् । कतिका लागि भने मानसिक राहत महसुस गर्ने माध्यम सामाजिक सञ्जाल बनेको छ । कस्तो प्रतिक्रिया आउला भन्ने नसोची आफ्नो भावना पोख्ने पहिलो साथी बनेको छ सामाजिक सञ्जाल । स्वतन्त्रपूर्वक विचार राख्ने वातावरण र माध्यम् भएको कारणले नै सोसियल मिडियाको महत्व र शक्ति बढेको हो । तर त्रासलाई विश्वासले जित्न नसक्दा कतिपय हामी सामाजिक सञ्जालमा पनि स्वतन्त्रपूर्वक आफ्ना विचार राख्न र अरुका राम्रा विचार शेयर गर्न चुकेका हुन्छौं । जसले समाज र आफू स्वयम्लाई क्षति पुर्याइरहेको हुन्छ ।

झूठले सत्यलाई कलङ्कित गर्छ । सत्यको सामना गर्न नसक्दा मान्छेले झूठको सहारा लिन्छ। समाजिक सञ्जालमा झूठको सहारामा आफ्नो ढोँगी व्यक्तित्वको उन्नत खेती गर्नेहरू पनि धेरै छन् । हाम्रो मस्तिष्कमा जे छ, व्यवहारमा त्यही प्रदर्शित हुन्छ । सामाजिक सञ्जाल मान्छेको मस्तिष्क घोप्टिने भाँडो पनि हो । त्यहाँ रिस, द्वेष र घृणा पनि पोखिएका हुन्छन् । सोसियल मिडियाको यो साइड इफेक्टबाट बच्न धेरैले सामाजिक सञ्जाललाई अविश्वास पनि गर्ने गरेका छन् । शब्दको शक्तिले मान्छेको मस्तिष्क ब्युँझाउँछ । सामाजिक सञ्जालले समाजमा ल्याएको चेतना र परिवर्तनलाई सोझा आँखाले हेर्दा सायद यो कुरा स्पष्ट हुन्छ ।

हामी सुधार चाहन्छौं तर सुधार रातारात सम्भव छैन । सुधारका लागि हामीले हामीलाई हरेक ठाउँमा सुधारेर लानुपरेको छ । सधैँ आफ्नो कमजोरी लुकाएर अरुको गल्ती कोट्याउँदै आफूलाई राम्रो देखाउनुको सट्टा सबैले आ–आफ्नो ठाउँमा कमजोरी औंल्याउँदै जानसके सबैतिर सुधार सम्भव हुन्छ । सामाजिक सञ्जालमा अरुलाई दिक्क लाग्ने गरी सधैँ ‘राम्रा लुगा’ लगाएका सेल्फी र वाक्क लाग्ने गरी पार्टी, भोजभतेर, मःमः र मासुका फोटा राख्नुको सट्टा चेतना र सन्देकमूलक दुई–चार शब्द राख्नसके ती शब्दको शक्ति विस्तारै फैलिँदै जान्छ । त्यही शक्तिले समाजलाई विस्तारै सुधार्दै, बलियो बनाउँदै लैजान्छ । शब्दमा कति शक्ति रहेछ त ? सामाजिक सञ्जाल मनोरञ्जनको खालमात्र हैन, शब्दास्त्रको सञ्जाल पनि हो भन्ने स्पष्ट भैसकेको छ ।

प्रतिपक्षको भूमिकामा फेसबुक
देशमा दुई तिहाई बहुमत प्राप्त शक्तिशाली सरकार भएर पनि नागरिक निराश छन् । न त शक्तिशाली सरकार अवरोधलाई पन्छाउँदै नागरिक हितका काम गर्न सक्छ, न त प्रतिपक्षले सृजनशील भएर सशक्त प्रतिपक्षको भूमिका नै निभाउन सकेको छ । सामाजिक सञ्जाल अहिले सरकारको गतिलो प्रतिपक्ष बन्न पुगेको छ । अहिले सामाजिक सञ्जालमा सरकारमाथि दैनिक रूपमा हुने प्रहार हेर्दा लाग्छ, सरकारको प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेस नभएर सामाजिक सञ्जाल अर्थात् फेसबुक, ट्वीटर आदि हुन् । राष्ट्रपतिको कार, हेलिकोप्टरदेखि लिएर सरकारका स–साना निर्णयमा समेत सामाजिक सञ्जालमा सरकारको विरोध हुने गर्छ ।

निर्मला पन्तको न्यायका विषयमा त सामाजिक सञ्जालमा सरकारको यति धेरै बदनाम गरिएको छ कि लाग्छ, सरकारले अपराधीको संरक्षण मात्रै गर्छ, अहिलेसम्म कसैलाई न्याय नै दिएको छैन । हुन त सामाजिक सञ्जालमा सरकारप्रति भइरहेका विरोधका धेरैजसो विषयहरू सञ्चारमाध्ययममा आएका समाचारमा आधारित हुन्छन् । समाचारमा आएको सानो जानकारी सामाजिक सञ्जालको मैदानमा पुगेपछि महाभारत युद्धजस्तै बन्छ । अनि सञ्चारमाध्ययम पनि के कम, सामाजिक सञ्जालमा पोखिएका आक्रोसका विषयलाई खोतलखातल बनाएर छताछुल्ल बनाइदिन्छन् । सामाजिक सञ्जाल र सञ्चारमाध्यमको यही सम्बन्धका कारण दुई तिहाईको बलियो सरकार बेकामे जस्तो देखिन्छ भने निम्छरो बन्दै गएको प्रमुख प्रतिपक्षी आफ्नो काम तमाम भएकोमा आनन्द मान्छ ।

दुरुपयोग बढ्दै
फेसबुक, ट्विटर, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालको जथाभावी प्रयोग भइरहेको छ । भर्खरै ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका मन्त्रीसहितको ७ जना मृतकको बारेमा समेत नकारात्मक विश्लेषण भयो । ‘कुनै व्यक्तिलाई जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साहित गर्ने, हप्काउने, घृणा तथा द्वेष उत्पन्न गराउने वा प्रापकलाई भ्रमित पार्ने आसयले सन्देश सम्प्रेषण गर्न पाइने छैन ।

तर अधिकांश सर्वसाधारण सामाजिक सञ्जालकै कारण नकारात्मक पनि हुँदैछन् भन्दा फरक नपर्ला । विद्युतीय माध्यमबाट जातीय भेदभाव वा छुवाछुत दुरूत्साहन गर्ने, श्रमको अवहेलना गर्ने, अपराध गर्न दुरूत्साहन गर्ने, शान्ति सुरक्षा भङ्ग हुने कामलाई बढावा दिने सामग्री प्रसारण गर्ने नपाउने नियमलाई कडाइ गर्दै लैजानुको विकल्प छैन । हैन भने सामाजिक सञ्जालमा सकारात्मक भन्दा पनि नकारात्मक बहस धेरै नहोला भन्न सकिन्न । आलोचना र विरोध गर्न मात्र फेसबुक प्रयोग गर्नेहरूले सोच्नु पर्छ ।