प्रचण्ड भन्छन् : विप्लवका गतिविधि गम्भीर, हतियारको जिम्मा लिँदैनौं

राजनीतिक-प्रशासनिक दुवै समाधानका विकल्प
विराटनगर : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द विप्लव समूहका गतिविधिमा राज्य गम्भीर हुनुपर्ने बताएका छन् । विप्लव नेतृत्वको नेकपाबाट उब्जिएको समस्या समाधानका लागि सरकारले छलफल थालिसकेको पनि उनले बताएका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अतिवाद नियन्त्रण गर्न सरकारले गम्भीररूपले सोच्ने बताए । ‘विप्लवबाट उत्पन्न समस्या राजनीतिक र प्रशासनिक दुवै विधिबाट समाधान खोजिन्छ’, उनले भने ।

प्रचण्डले विप्लवसँग सरकारले राजनीतिक सहमतिको प्रयास गरिरहेको पनि बताए । ‘सरकारले राजनीतिक रुपमा सहमतिको प्रयास गर्छ’, उनले भने, ‘त्यसलाई कसैले मान्दैन भनेमा त्यो अतिवाद हो । सरकारले त्यसपछि प्रशासनिक ढंगले हल खोज्छ ।’

अध्यक्ष दाहालले तत्कालीन नेकपा माओवादीले सबै हतियार क्यान्टोन्मेन्टमा राखिसकेकाले त्यहाँ भन्दा बाहिरका हतियारको जिम्मा आफूले नलिने पनि प्रष्ट पारेका छन् ।

एक साताअघि मात्रै नेपाली सेनाले मात्रै प्रयोग गर्ने एम-१६ र एलएमजी राइफल प्रहरीले धरानको पानमाराबाट बरामद गरेको थियो । त्यही सन्दर्भमा अध्यक्ष दाहालले यस्तो भनेका हुन् । विप्लव नेतृत्को नेकपाका कार्यकर्ताको साथबाट सशस्त्र संघर्षका समयमा नेपाली सेनाको ब्यारेकबाट लुटेका हतियार प्रहरीले बरामद गरेपछि प्रचण्डले यस्तो स्पष्टिकरण दिएका हुन् ।