टीकापुर घटनामा फैसला : केन्द्रको निर्णय कुर्दै राजपा कार्यकर्ता

टीकापुर : रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसलापछि राजपा कार्यकर्ता केन्द्रको बाटो कुरेर बसेका छन्। एक नाबालकसहित आठ सुरक्षाकर्मीको ज्यान गएको टीकापुर घटनामा बुधबार कैलाली जिल्ला अदालतले फैसला सुनाएको थियो। अदालतको निर्णयले अन्यायमा पारेको राजपा कार्यकर्ताले बताएका छन्। राजपाले फैसलामा असहमति जनाउँदै सरकारलाई गरेको समर्थन फिर्ता लिने घोषणा गरिसकेको छ। तर, अन्य कदम नचाल्दा कार्यकर्ता अन्योलमा देखिएका छन्।

रेशम कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। थुनामै हुँदा उनलाई सांसद पदको शपथ गराइएको थियो। जन्मकैदको फैसला सुनाएपछि उनका समर्थक विरोध कार्यक्रम गर्ने तयारीमा छन्। तर, पार्टी केन्द्रबाट कुनै निर्देशन नआएको राजपाका पूर्वक्षेत्रीय अध्यक्ष लक्ष्मणकिशोर चौधरीले बताए। ‘केन्द्रको सर्कुलरपछि संघर्षका कार्यक्रम तय गर्छौं’, उनले भने।

उनका अनुसार एउटै घटनामा संलग्न भनिएका केही व्यक्ति छाडिएका छन्। ‘कसैलाई जन्मकैद हुने फैसलाले दोहोरो मापदण्ड अपनाएको देखिन्छ’, उनले भने, ‘अदालतले जनमतको कदरसमेत गरेन। यो सम्पूर्ण टीकापुर क्षेत्रवासीकै मतको अपमान हो। यसविरुद्ध हामी संघर्ष गर्छौं तर केन्द्रको निर्देशन आएपछि।’ यसका लागि थारू संघसंस्थासँग छलफल चलिरहेको छ।

प्रदेशसभा सदस्य कृष्णप्रसाद चौधरीले केन्द्रको निर्देशनबिना कुनै कार्यक्रम तय नगरिएको बताए। अदालतको निर्णयले राजपा समर्थकलाई निराश तुल्याएको उनले सुनाए। ‘थारूको माग सम्बोधन हुनुपर्छ भन्दै संघर्षरत सबै जना अदालतको निर्णयले निराश बनेका छन्’, उनले भने, ‘केन्द्रको निर्देशनपछि हामी संघर्षका कार्यक्रम गरेर शान्तिपूर्ण रूपमा सरकारलाई दबाब दिन्छौंं।’

रेशमलाई शपथ खुवाएर जन्मकैदको फैसला सुनाउँदा सरकारको दोहोरो चरित्र देखिएको आरोप समर्थकले लगाएका छन्। स्थानीयवासीले प्रतिनिधिसभा सदस्य पाउने आशा गरेका थिए। धनगढीमा बिहीबार थारू कल्याणकारिणी सभा र राजपाका नेताहरूबीच छलफल भएको थियो। राजपा क्षेत्र नम्बर १ का सचिव टीकाराम चौधरीले अदालतको निर्णयलाई सम्मान गर्ने र शान्तिपूर्ण रूपमा संघर्षका कार्यक्रम गर्ने सहमति भएको बताए। उनका अनुसार केन्द्रका कार्यक्रम नआउँदासम्म विभिन्न जिल्लामा टीकापुर घटनाका सबै बन्दीलाई निसर्त रिहा गर्नुपर्ने मागसहित शान्तिपूर्ण रूपमा संघर्षका कार्यक्रम गर्ने सहमति भएको छ।

‘हामी शान्तिपूर्ण रूपमा टीकापुर घटनाका बन्दीहरूलाई रिहा गरिनुपर्छ भन्दै संघर्षका कार्यक्रम गर्दै छौं’, उनले भने। टीकापुर घटनालाई राजनीतिक रूपमा लिन थारू समुदायले माग गर्दै आएका थिए।

टीकापुरमा थप सुरक्षाकर्मी

टीकापुर घटनाको फैसला सुनाइएसँगै स्थानीय प्रशासनले कैलालीको पूर्वी क्षेत्रमा सुरक्षा कडा पारेको छ। टीकापुर २०७२ भदौ ७ गतेको घटनापछि संवेदनशील क्षेत्रका रूपमा थियो। टीकापुर नगरपालिका, जानकी, जोशीपुर, भजनी गाउँपालिकालगायत क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएका छन्।

टीकापुरमा थप सुरक्षाकर्मी मगाइएको इलाका प्रहरी प्रमुख डीएसपी शिवबहादुर सिंहले बताए। ‘कुनै खालको घटना नहोस् भन्नका लागि हामीले सुरक्षाकर्मी परिचालन गरेका छौं’, उनले भने, ‘सुरक्षा व्यवस्था चुस्त र दुरुस्त राख्नका लागि पनि थप सुरक्षा बल तैनाथ गरिएको छ।’