गृहमन्त्रीको आशंका : सरकार ढाल्न देशी–विदेशी शक्तिको मोर्चाबान्दी

सिकेसँग सम्झौता देशलाई अखण्ड बनाउन
भैरहवा : गृहमन्त्री तथा नेकपाका सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ ले नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकार ढाल्न देशी–विदेशी शक्तिले मोर्चा कसेको बताएका छन् ।

रुपन्देहीको भैरहवामा सोमबार आयोजित नेकपाको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बादलले अहिलेको राज्य व्यवस्था उल्ट्याउन एउटा वर्ग लागिरहेको आरोप लगाए ।

‘पराजित शक्तिहरु यो सरकार उल्ट्याउन र पराजित गर्न चहान्छन्’, उनले भने, ‘प्रतिगामी शक्तिहरु यसमा लागि रहेका छन् । साम्राज्यवादी र प्रतिगामीका लागि कम्युनिष्ट सरकार तारो बनेको छ ।’

नेकपाले चमत्कारिक उपलब्धी हाँसिल गरेको बताउँदै पराजितहरु यसलाई उल्ट्याउन लागिरहेको बादलले पटक पटक दोहोर्‍याए । ‘सरकार गिराउन षड्यन्त्र भइरहेका छन्, भित्र र बाहिरका शक्तिहरु मिलेर यस्तो खेल खेलिरहेका छन्’, उनले भने, ‘तर समाजवादका आधार यही सरकारले निर्माण गर्छ । हामी यी चुनौतीलाई चिर्दै अघि बढेका छौँ ।’

बादलले एक वर्षको अवधिमा सरकारले सोचेजति काम गर्न नसकेको स्वीकारे । ‘हामीले कमजोरी पनि गरेका छौँ’, उनले भने, ‘पार्टी एकता केही अड्किएको छ । तर अब हामी अन्तिम बिन्दुमा छौँ । चैतदेखि विकास र समृद्धिका लागि देशव्यापी अभियानमा जाँदैछौँ ।’

जनमत संग्रह होइन
बादलले सिके राउतको आडमा देशलाई टुक्राउने प्रतिगामी शक्तिहरु लागेको अवस्थामा सरकारले बेलैमा ध्यान दिएर सम्झौता गरेको बताए । ‘स्वतन्त्र मधेस गठबन्धनको नाममा यो समूह २०६७ देखि सक्रिय भएको हो’, उनले भने, ‘अब सिके राउतहरुले तराईलाई टुक्राउने लक्ष्य त्यागेका छन् । त्यसमा राजनीतिक सहमति भएको छ ।’

मन्त्री बादलले सिके राउतहरुले आफ्नो उद्धेश्य फेरिसकेका पनि बताए । ‘सरकारले पृथकतावादीसँग घुँडा टेक्यो, जनम संग्रहबाट देशलाई टुक्राउने कुरामा सहमत भयो भन्ने अफबाह फैलाइएको छ’, उनले भने, ‘सिके राउतलाई पनि मधेसको मुद्दा छाडेर खस पहाडी उपनिवेशवादीसँग आत्मसर्मपण गर्‍यो भन्ने आरोप छ ।’

तर जनमत संग्रह देश टुक्राउका लागि नगरिने पनि उनले प्रष्ट पारे । ‘संविधानले पनि यसलाई रोकेको छ’, उनले भने, ‘सरकारले चहाँदैमा जनमत संग्रह सम्भव छैन ।’