पाँचौं साफ महिला च्याम्पिसनसिप आजदेखि, नेपाल र भुटान भिड्दै

विराटनगर : विराटनगरको सहिद रंगशालामा मंगलबारबाट सुरु हुने पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको ट्रफी सोमबार सार्वजनिक गरिएको छ प्रतियोगितामा सहभागी मुलुकका कप्तानले संयुक्त रूपमा ट्रफी सार्वजनिक गर्दै उपाधिमा दाबेदारी पनि प्रस्तुत गरे।

च्याम्पियनसिपमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका र मालदिभ्स सहभागी छन्। विराटनगरमा अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आयोजित पत्रकार सम्मेलनमा ट्रफी सार्वजनिक गरिएको हो। पहिलोपटक महिला साफ आयोजनाको अवसर पाएको नेपालले प्रतियोगिता भव्य बनाउन विराटनगरस्थित सहिद रंगशालालाई नयाँपन दिएको छ।

पत्रकार सम्मेलनमा सबै देशका प्रशिक्षक र कप्तानले उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्ने बताए। महिला साफमा अहिलेसम्मकै शक्तिशाली मानिएको भारतले उपाधि रक्षा गर्ने हिसाबले तयारी गरेको जनाएको छ। चारपटक नै साफको उपाधि हत्याएको भारतकी मुख्य प्रशिक्षक मेमोल रोकीले उपाधिकै लागि आफूहरू नेपाल आएको बताइन्। उनले केही समयअघि भारतमै भएको हिरो वुमन्स गोल्डकपमा नेपालसँग बेहोरेको पराजयको नतिजा बिर्साउने र त्यसको बदला लिने दाबी पनि गरिन्।

नेपालका प्रशिक्षक हरि खड्काले खेलाडीले उपाधि लक्ष्यसहित उच्च मनोबलका साथ प्रदर्शन गर्ने बताए। नेपाली टोलीकी कप्तान नीरू थापाले घरेलु मैदानको फाइदा उठाएरै छाड्ने दाबी गरिन्। उनले यसपटक नेपाललाई इतिहास रच्ने सुनौलो अवसर रहेको बताइन्। अन्य देशका प्रशिक्षक र खेलाडीले पनि उत्कृष्ट प्रदर्शन गर्ने बताए।

च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै छन्। नेपालसँग भिड्नका लागि आतुर रहेको भुटानी टोलीले यसअघि नेपालसँग भएका कुनै पनि प्रतिस्पर्धामा सफलता भने पाउन सकेको छैन। घरेलु मैदान र यसअघि जित्न नसकेका कारण पनि भुटानमाथि जित निकाल्न त्यति गाह्रो नभएको नेपाली टिमको विश्लेषण छ।

प्रतियोगिताको उद्घाटनपूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने तय भएको छ। नौ वर्ष अघिबाट सुरु भएको साफमा हालसम्म नेपालले तीनपटक उपविजेतामा चित्त बुझाएको छ। भारतले चारैपटक उपाधि हात पारेको छ। समूह ‘ए’मा नेपाल, भुटान र बंगलादेश छन्। ‘बी’मा श्रीलंका, माल्दिभ्स र भारत छन्।