अभिनेत्री लक्ष्मीको तिताे अनुभव ‘‘नाम चलेका निर्देशकले रिसोर्टको रुमको ताल्चा खोल्न लगाए’

सात वर्षअघि ख्यालख्यालमै फिल्म क्षेत्रमा भित्रिएकी थिइन्, लक्ष्मी बर्देवा । तर, आज उनी नेपाली फिल्म क्षेत्रमा राम्रो अभिनय गर्ने अभिनेत्रीको दुर्लभ सूचीमा पर्छिन् । उनले दर्जन बढी नाटक र ‘डमरुको डन्डिबियो’, ‘घामपानी’ लगायत दर्जन जति फिल्ममा अभिनय गरेकी छन् । दुई साताअघि हलमा रिलिज भएको फिल्म ‘बुलबुल’मा उनले ‘भीमा’ बनेर निर्वाह गरेको महिला टेम्पो चालकको भूमिकाले यतिबेला फिल्मवृत्तमा खुब तारिफ बटुलिरहेको छ । उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानी :

फिल्म संख्या कति पुग्यो तपाईको ?
सबै रोल गन्ने हो भने १३–१४ वटा पुग्छ । १–२ सिनभन्दा बढी रोल पाएको फिल्म त त्यही ६–७ वटा पुग्यो ।

छोटो–छोटो रोल किन नि ?
मेरो ‘माला’मा पनि छोटो रोल थियो । ‘सेतो बाघ’मा त वाइड सिनबाट एउटा रोल गरेकी थिएँ, जहाँ म आफैँले पनि आफूलाई चिन्न मुश्किल पर्छ । ‘धुलो’मा पनि जम्मा एक सिन नै थियो । तर, ती सब मैले नाटक सिक्न आएका बेला आइपरेर गरेको फिल्म थियो । यसको अर्थ छोटो रोल गर्नै हुन्न भन्ने होइन । एउटा एक्टरले लिड क्यारेक्टर मात्रै गर्नुपर्छ भन्ने कुरालाई त म मान्दै मान्दिनँ । हरेक क्यारेक्टरको फिल्ममा उत्तिकै महŒव हुन्छ । सिनको अनावश्यक लम्बाईले मात्रै एक्टरको काम निर्धारण गर्नु ठीक होइन । फिल्ममा ‘पासिङ सिन’ मात्रै गर्दैछु भने पनि आफ्नो तर्फबाट हन्ड्रेड पर्सेन्ट एफोर्ट लाउनुपर्छ ।

मैले सोध्न खोजेको– लिड रोलमा अफर नै नआएर, स–सानामा चित्त बुझाउनुपरेको हो कि ?
आ’को भए त कसले छोड्थ्यो होला ! (हाँस्दै) । यद्यपि म अहिले जे काम गरिरहेकी छु, त्यो पनि क्यारेक्टर मन पराएरै गरिरहेको छु । म मान्छु, मसँग हिरोइन मेटरियल छैन । म डाइरेक्टरले खोजेजस्तो स्लिम र चार्मिङ पनि छैन होला तर म जे गर्छु आफ्नो तर्फबाट लिड रोल गरे जत्तिकै मिहिनेत गर्छु । ‘बुलबुल’मा ‘भीमा’को भूमिका निभाउँदा पनि मैले त्यत्तिकै मिहिनेत गरेकी थिएँ ।

तपाईंलाई कहिल्यै हिरोको वरिपरि घुमेर नाच्ने ‘सो कल्ड हिरोइन’ बन्न मन लागेन ?
रोमान्स त मैले पनि ग¥या छु नि चंगा भन्ने फिल्ममा (लामो हाँसोसहित)। तर सिरियस्ली भन्नु पर्दा हामीकहाँ दर्शकले हिरोइन मेटरियल पनि खोज्छन्, नखोज्ने होइन । दर्शकले खोजेपछि मेकर्सले किन नखोजुन् ! त्यसैले आफ्नो कमजोरीलाई ढाकछोप गर्न दुइटा आदर्शको कुरा गरेर केही पनि हुँदैन । सबै कलाकारको आ–आफ्नो फर्म हुन्छ । जो जहाँ अटाउँछ, त्यही काम गर्ने हो । हुन त म आफूलाई एकदमै राम्री देख्ने मान्छे हो तर अरुको नजरबाट पनि कहिलेकाहीँ आफूलाई हेर्नुपर्छ । म कस्तोमा सुहाउँछु, कस्तोमा सुहाउँदिनँ, त्यो आफूलाई थाहा हुनुपर्छ ।

नेपालमा हिरोको परम्परागत मानसिकता त तोडियो । दयाहाङ राई, खगेन्द्र लामिछाने, विपिन कार्कीहरु यसका उदाहरण हुन् । तर, हिरोइनका मामिलामा सोच अझै उस्तै छ । के कारण होला ?
हो, यो प्रश्न उठाउनु एकदमै आवश्यक छ । हिरो हुनलाई अब मिलेको जिउ हुनुपरेन तर हिरोइन हुनलाई किन स्लिम र क्युट हुनुप¥यो ? सायद फिल्ममेकर्सले आँट नगरेर हो कि ! कसै न कसैले सुरुवात गरेपछि पक्कै त्यो परम्परागत मानसिकता हट्थ्यो कि !

हलमा हिरोइनकै कारण फिल्म चल्ने वातावरण नभएर पनि हो कि ?
त्यो पनि होला । म फेमिनिस्ट होइन तर सन्दर्भ आइहाल्यो । एउटा समय थियो, जतिबेला रेखा थापाकै कारण हलमा दर्शक आउँथे । उहाँको फिल्ममा हिरो को छ भनेर कोही दर्शकले सोध्दैनथे । म त अहिले त्यो समय खुब मिस गर्छु । हामीकहाँ त रिस्क मोल्न नचाहेरै हो क्या ! दयाहाङ राई त्यत्तिकै कहाँ हिरोजस्तै चलेका हुन् र ! सुरुमा कोही न कोहीले रिस्क मोल्यो र पो उनी हिट भए । अब महिलाको हकमा पनि त्यस्तै रिस्क मोल्ने मान्छे चाहियो ।

तपाईंलाई दर्शकमाझ कुन फिल्मले नोटिस गरायो भन्ने लाग्छ ?
‘डमरुको डन्डिबियो’ले जस्तो लाग्छ । त्यहाँ क्यारेक्टर हुनुको जस्टिफाई कथाले नै गथ्र्यो । फेरि दर्शकले चिन्नलाई त धेरै सिन चाहिने भन्ने पनि हुँदैनरैछ । ‘मिस्टर झोले’ मा पनि मेरो सानो क्यारेक्टर थियो तर दर्शकले याद गरिराखे । म आफैँलाई दुई सिन मात्रै गरे पनि सन्तुष्टि मिलेको क्यारेक्टर ‘हरि’को पनि हो ।

अहिले त ‘बुलबुल’ को ‘भीमा’ पनि थपिनुपर्ने हो !
हो नि ! समीक्षकहरुले पनि एकदमै रुचाइदिनुभएको छ । यो फिल्मको क्यारेक्टरमाथि त बजारमा बहस नै भइरहेको देख्दा खुशी लाग्छ । फेरि दर्शकले क्यारेक्टर नोटिस गर्न त फिल्म हिट नै हुनुपर्दो रैछ क्या ! मैले खेलेको फिल्मकै कुरा गरौँ न, दर्शकलाई बरु ‘मिस्टर झोले’, ‘घामपानी’को क्यारेक्टर अलिअलि याद छ तर ‘हरि’ त धेरैले सुुनेकै छैनन् । अब म कसरी भनौँ, त्यो कति बुलन्द फिल्म थियो भनेर !

तपाईंका लागि ‘भीमा’ बन्न कति सहज थियो ?
सहज त कुनै क्यारेक्टर हुँदैन । त्यसो त गाह्रो पनि हुँदैन । यो फिल्मको वर्कशपमा मैले खुब समय दिएको हो ।

भीमाजस्तै महिला टेम्पो चालक पनि पछ्याउनुभयो ?
टेम्पो कुदाउन सिकेँ । त्यस्तै क्यारेक्टरसँग हिडेँ पनि । विनोद दाइ (निर्देशक)ले नै एकजना टेम्पो चलाउने दिदी चिनाइदिनुभएको थियो । उहाँसँगै म हिँडे । मैले फिल्ममा गाडीको पैसा उठाउने भाइलाई ‘कति राम्रो भाइ’ भन्दै जिस्काउँछु नि, हो त्यो सब त्यो दिदीबाट प्रभावित हो । त्यो दिदीले त्यसरी नै ट्राफिक पुलिसलाई जिस्क्याउँथिन् ।

फिल्ममा भीमाले ब्लु फिल्म हेर्ने दृश्य गज्जब छ । तपाईंको यथार्थसँग यो कत्तिको नजिक छ ?
त्यो जसले पनि हेर्छ होला जस्तो लाग्छ (हाँस्दै) । मैले हेर्दिनँ भन्दा तपाईं पत्याउनुहुन्छ र ?

फिल्मभित्र तपाईको क्यारेक्टर बाहिर बोल्ड देखिन्छ तर घरभित्र निरीह । श्रीमान् आफैँ स्त्रीलम्पट छ, ब्लु फिल्म हेर्छ तर श्रीमतीले ब्लु फिल्म हेरेको थाहा पाउँदा बेस्सरी पिट्छ । यथार्थमा यस्तो पुरुषवादी मानसिकताको शिकार कहिल्यै हुनुपरेको छ ?
त्यस्तो त भा’को छैन । हामी अभिव्यक्ति स्वतन्त्रताको युगमा बाँचिरहेको मान्छे हो । अझ त्यसमाथि हामी आर्ट फिल्डमा काम गरिरहेको मान्छेलाई के लाग्छ भने हामी आफ्नो ढंगमा बाँच्ने हो । म त आफ्नो जिन्दगी आफू अनुशासित भएर आफ्नो हिसाबले बाँच्न पाउनुपर्छ भन्ने लाग्छ । तर फिल्ममा ‘भीमा’ त्यस्ती देखिन्न । आफ्नो श्रीमान्को स्वभारबारे जानकार हुँदाहुँदै पनि उनी यौन प्रताडित छ । उसले पर्दामा ब्लु फिल्म हेरिरहँदा ऊ भित्रको अपूर्ण यौन इच्छा पनि बोलिरहेको हुन्छ । मलाई त के लाग्छ भने बाहिर जत्तिसुकै बोले पनि घरभित्र बोल्न नसक्नु हाम्रोजस्तो समाजमा हरेक घरको समस्या हो । त्यसैले मलाई ‘भीमा’ हाम्रै समाजको यथार्थ जस्तो लाग्छ ।

अब थोरै विगत कोट्याउन चाहेँ । कलाकारिता तपाईको पुरानै गन्तब्य हो ?
होइन, यो हिँड्दै गर्दा भेटिएको बाटो हो । कसैले भोलि ठूलो भएर तँ के बन्छस् भन्दा म ‘एक्टर’ बन्छु भनेर मैले कहिल्यै भनेको होइन । मलाई त जहाँ जे देख्यो त्यही बन्न मन लाग्थ्यो । डाक्टर देख्दा डाक्टर बन्न मन लाग्ने, पाइलट देख्दा पाइलट नै । सानैदेखि मन स्थिर थिएन । बरु लेखनमा एकदमै रुचि थियो । यत्ति हो, मनमा म भोलि ठूलो भएर आर्ट फिल्डमै जान्छु होला भन्ने चाहिँ थियो ।
प्लस टु पढ्दापढ्दै युएनमा जागिर लाग्यो– स्वीच बोर्ड अपरेटरका रुपमा । तर, बिहान ८ बजे नै अफिस पुग्नुपर्ने भएकाले कलेज जान पाउँदिनँ थिएँ । तलब आकर्षक थियो । तर पैसाकै लागि मात्रै काम गरिरहेजस्तो थियो, मनमा खुशी थिएन । अनमिन फिर्ती भयो, जागिर छुट्यो । पत्रकारिता भूतले छोडेको थिएन । प्लस टु पत्रकारिता नै पढेँ । एउटा दाइ हुनुहुन्थ्यो, उहाँले मेरो तस्बिर आइडियल कलेजको ब्रोसरमा देख्नुभएछ । फेस फोटोजेनिक लागेछ । त्यसकै आधारमा एउटा बैंकको विज्ञापनमा कामको अफर आयो, गरेँ । त्यही दाइले ‘माला’ फिल्मका लागि सुमिना घिमिरे (अभिनेत्री)को साथीको रोल गर्ने केटी चाहिएको छ, तिमी गर भनेर अफर गर्नुभयो, मैले गर्दिनँ भनेँ । धेरै कर गर्नुभएको थियो फोनमा । ममीले सुन्नुभएछ । ममीले गर्न सुझाव दिनुभयो । त्यसपछि फिल्म खेल्न तयार भएँ ।

अनि ?
निर्देशकलाई भेट्न गएँ । सुरुमा मलाई देखेर निर्देशकले सिधै रिजेक्ट गर्नुभयो । स्क्रिन टेस्ट गरेपछि मात्रै उहाँ कन्भिस हुनुभयो । त्यसरी मैले ‘माला’ भन्ने फिल्ममा दुई सिन गरेँ । उहाँलाई नयाँ एक्टर, टेक धेरै खान्छ, समय धेरै लाग्छ भन्ने डर रै’छ तर मेरो सिन वन टेकमा ओके भयो । सुटिङ माहोलले लोभ्यायो । नाइट सुटिङ पनि हेर्न गएँ । पाँच हजार पारिश्रमिक पनि पाएँ ।

तपाईं फिल्ममा काम गरेपछि मात्रै पो थिएटरमा आइपुग्नुभएको हो ?
हो नि !

हलिउड÷बलिउडमा अझै चर्किरहेको ‘मीटू मुभमेन्ट’बारे तपाईको धारणा के छ ?
कसैले पनि दुव्र्यवहारमा नपरी बोलेजस्तो लाग्दैन । तत्काल रिएक्ट गर्न नसके पनि त्यो घटना लामो समयसम्म मस्तिष्कमा हानिरहेपछि व्यक्त गरेको हो जस्तो लाग्छ । त्यत्तिकै आफ्नो इज्जत कसैले पनि उडाउन चाहँदैन । तर, तत्काल रिएक्ट गर्नसक्दा झन् राम्रो हुन्थ्यो ।

हाम्रो कला क्षेत्र लगभग यो विषयमा मौनजस्तै देखियो । यहाँ दुव्र्यवहार नै नहुने भएर हो ?
हामीकहाँ मान्छेलाई भगवान् बनाउने चलन छ । भगवान् कस्तोलाई बनाइन्छ ? अवश्य पनि त्यस्तोलाई बनाइन्छ, जो ठाउँमा छ । र, उसको नराम्रो कुरा कसैले ग¥यो भने ऊ त्यो क्षेत्रबाट बहिष्कृत हुन्छ । किनभने दुनियाँले देउता मानेको मान्छेलाई उसले आरोप लाग्यो । हो, यसकै डरले यहाँ कोही बोल्न सक्दैनन् ।

तपाईंसँग त्यस्तो दुव्र्यवहारको भएको छ कि छैन ?
थिएटरमा आइपुगेपछि मलाई त्यस्तो भएको छैन तर यहाँ पनि नहुने भन्ने छैन । यहाँ समस्या के छ भने मैले नाम लिइनँ भने नाम लिएर भन्नुपर्छ । नाम लिएँ भने किन लिइस् भन्ने हुन्छ ।

पाँच वर्षअघि, मलाई एउटा फिल्मका लागि अडिसन भनेर बोलाइएको थियो । अडिसन कहाँ–कसरी हुन्छ, त्यति बेलासम्म त्यसको खास ज्ञान थिएन । अडिसन गोठाटार (काठमाडौं)मा भनिएको थियो । विश्वास गरेकै दाइले त्यहाँ लिएर जानुभयो । पुल नपुग्दै एउटा रिसोर्ट रैछ । म गएँ । फिल्म क्षेत्रको एकदमै नाम चलेका निर्देशक हुनुहुन्थ्यो । दुई–तीन वटा हिट फिल्म दिइसक्नुभएको थियो । एकदमै पिएको हुनुहुन्थ्यो । म त भर्खर १९–२० वर्षकी केटी, सबैकुरा बारे एकदमै निर्दोष थिएँ ।

बच्चा ठानेर होला मलाई उहाँले ‘तिम्रो फोटो हेरेको थिएँ, ठीकै छ । हामीलाई तीन जना लेडिज क्यारेक्टर चाहिएको छ । खेल्ने हो त ? एउटामा तिमीलाई खेलाउन सकिन्छ भन्न थाले । मैले पनि थिएटर र घरमा सोध्नुपर्छ भनेँ । त्यसपछि उहाँले रिसोर्टको सहयोगीलाई बोलाउनुभयो । अनि ‘भाइ, त्यो पछाडिको रुमको ताल्चा खोल त भन्नुभयो’ मैले किन भनेर सोधेँ । एकदमै डराइसकेकी थिएँ ।

रात पनि पर्न लागेको थियो । उहाँले ‘मैले फिल्म खेलाइसकेपछि बदलामा केही पाउनुपर्छ’ भन्नेखालको कुरा गर्न थाल्नुभयो । अझ साइडमा बसेको मान्छेले पनि ‘उहाँको पालो सक्किन्छ अनि मेरो पालो’ भनिरहेको थियो । त्यसपछि त म झन् थरथर काम्न थालेँ । रुन थालेँ । मलाई जसले बाइकमा लिएर जानुभएको थियो, उहाँ पनि गायब ! सायद पहिल्यै केही सेटिङ भइसकेको थियो । मैले उहाँको प्रस्ताव इग्नोर गरेपछि उहाँले मलाई सिधैँ ‘तँ फिल्म खेल्ने, तँलाई म यो इन्डस्ट्रीमा टिक्न पनि दिन्नँ’ भन्नुभयो ।

त्यतिबेला नाम चलेका हिरोहरुलाई मैले नै डेब्यु गराएकोसम्म भन्दै हुनुहुन्थ्यो उहाँ । मलाई पनि अलि आँट आएछ, सिधै ‘मलाई त यहाँ कसैले चिन्दैन तर मैले अहिले चिच्चाएँ भने तपाईंलाई यहाँ सबैले चिन्लान्’ भन्दिएँ । फेरि हामी रुममा छैनौँ है, बाहिर खुला ठाउँमै छौँ । मैले त्यो निर्देशकलाई एकदमै सम्मान गर्थें । एकाएक त्यो सम्मान हटेर गयो । मैले त उसको अनुहारमै थुक्दिएछु । मलाई ऊ मुख छाडिरहेको थियो । त्यसपछि म रुँदैरुँदै भागेँ ।

एक दुई दिन म पूरै डिप्रेस भएँ । यो क्षेत्र मेरो लागि होइनजस्तो लाग्यो । तीन चार दिन काममा पनि गइनँ । साथीहरुले त्यसको कारण छोड्न लागेको ? भनेर सम्झाएपछि फेरि ज्वाइन भएँ । आज पनि मलाई त्यो मान्छे छेउछाउ देख्दा डर लाग्छ । त्यो मान्छेले मलाई यो क्षेत्रमा टिक्न नदिने कुरा गरेको थियो । त्यसैले मेरो एउटा सपना छ– कुनै दिन त्यो ऊ मेरो अगाडि फिल्मको अफर लिएर आओस् अनि मैले त्यो बेलाको घटना सम्झाउँदै मुखैभरको जवाफ दिन पाऊँ । मैले मेरा एक दुईजना साथीलाई नाम लिएरै यो घटना सुनाएको छु । सुनाकै मध्ये एकजना साथीलाई उसले त्यसैगरी फिल्मको अफर गरेर बोलाइराको थियो रे ! उसले थर्काएर पठाइदिछे ।