संसद्कै हालत यस्तो… अन्त को त के कुरा गरौँ !

काठमाडौं : राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समिति शुक्रबार मध्याह्न अनुगमनमा निस्कियो। सरकारी निकायको ‘सुशासन अवस्था’ हेर्नु उसको जिम्मेवारी हो। पहिलो अनुगमन संसद् सचिवालयबाटै गर्ने तय भयो।

छड्केमा निस्किएका समिति सदस्यहरू सिंहदरबारस्थित पुरानो संसद् भवनतर्फ लागे। भूकम्पले मक्किएको ऐतिहासिक संसद् भवन सञ्चालनमा नरहेकाले ताल्चा लगाइएको थियो। पहिलो संविधानसभाको बैठक नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसेपछि यो भवन बन्द थियो। तर त्यसको जगेर्नामा कसैको ध्यान गएन। २०७२ को भूकम्पले त यो ऐतिहासिक भवन थला पर्‍यो।

शुक्रबार गरेको अनुगमनमा देखिएका पुरानो संसद् भवनभित्र जताततै राखेर थोत्रिएका साइकल, कम्प्युटरलगायत सरसामान र, वर्तमान संसद् सचिवालयको क्यान्टिनमा कुहेका गोलभेडा । तस्बिर सौजन्य : दिगो विकास तथा सुशासन समिति

लामो समयदेखि बन्द रहेको संसद् भवन प्रवेशमा रोक लगाइएको छ। सांसदहरू संसद् सचिवालयलाई जानकारी नदिई छड्के अनुगमनमा गएकाले त्यसको ढोका खोल्ने कर्मचारीसमेत थिएनन्। ‘आग्रह गरेर कर्मचारीलाई बोलायौं। सुरुमा त उनी ढोका खोल्नै अनकनाए’, समाजवादी फोरमकी सांसद प्रमिला कुमारीले भनिन्, ‘भित्र छिर्दा पत्याउनै सकिएन, यो त्यही संसद् भवन हो जो नेपालको संसदीय इतिहासको धरोधर हो ? ’

भवनभित्र संसद् सचिवालयले प्रयोग गरेका सामान भद्रगोल थिए। भुइँतलामा पुराना साइकल, टुटेफुटेका सामान र काठका टुक्रा असरल्ल थिए। त्यहाँ पुराना कम्प्युटर, ल्यापटप, प्रिन्टर, फर्निचरका सामग्रीको चाङै थियो। ‘त्यहाँको दृश्य हेर्दा यो त संसद् भवन नभई डम्पिङ साइटजस्तै लाग्थ्यो’, नेकपा सांसद दिनानाथ शर्माले भने, ‘सय वर्ष पुरानो भवनको दुरवस्था देखेर मन रोयो। संसद् सचिवालयको चरम लापरबाही त्यहाँ प्रस्ट देखिन्थ्यो।’ ग्यालरी बैठक भुइँतलामा थन्क्याइएका फर्निचरका सामग्री र इलेक्ट्रिक सामानले भरिभराउ थिए।

कामै नलाग्ने सामान मात्र होइन कि सामान्य मर्मत गरेर पनि प्रयोगमा ल्याउन सकिने सामग्री बेवारिसे रूपमा संसद् भवनभित्र फालिएका थिए। ‘राज्यको सम्पत्तिको ठूलो दुरुपयोग भएको हामीले पायौं’, शर्माले अन्नपूर्णसँग भने, ‘अलिकति बिग्रियो कि गोदाममा थन्काइदिहाल्ने प्रचलन लामो समयदेखिको रहेछ।’

सोफा, दराज, र्‍याक, कुर्सी, कम्प्युटर, प्रिन्टर, ल्यापटप, कार्पेटलगायत सामानले भरिएको छ, पुरानो संसद् भवन। ‘लाखौं रुपैयाँ पर्ने सामान कबाडीजस्तै फालिएका छन्। तिनीहरुको मर्मत र प्रयोगमा सचिवालयले चासो नदिइएको पाइयो,’ सांसद कुमारीले भनिन्, ‘एकदम नयाँ देखिने कुर्सी, सोफासेट र कार्पेट पनि फालिएका छन्।’

पहिलो संविधानसभा निर्वाचनपछि विभिन्न दातृ निकायले संसद् सचिवालयलाई ठूलो संख्यामा फर्निसिङ र इलेक्ट्रिक सामग्री उपलब्ध गराएका थिए। आज ती सामग्री कहाँ कुन अवस्थामा छन् भन्ने सचिवालयसँग हरहिसाब त परै जाओस्, रेकर्डसम्म नरहेको पाइएको अनुगमनमा गएका सांसदले बताए। ‘विदेशीले सहयोग गरेर दिएका महँगा सामग्रीको दुरुपयोग गरेको हामीले पायौं,’ सांसद शर्माले भने, ‘अनुगमनले हामीलाई गम्भीर बनाएको छ। यसलाई सुधार गर्न सचिवालयलाई निर्देशन पनि दियौं।’

फोहोर क्यान्टिन

समितिले पुरानो संसद्को अनुगमनपछि वर्तमान सचिवालयभित्रै रहेको क्यान्टिन पनि अनुगमन गर्‍यो। भान्सामा सरसफाइको कमी देखिन्थ्यो। कुहिएका गोलभेडा थिए। पकाउने भाँडाकुँडादेखि बेसन निकै फोहोर थिए। ‘क्यान्टिनको हालत हेर्दा त्यहाँको पानी पनि खान मन लाग्दैन,’ सांसद कुमारीले भनिन्, ‘खानाको गुणस्तर सुधार्न र सरसफाइमा ध्यान दिन निर्देशन दिएका छौं।’ समितिले अर्काे अनुगमनमा समस्या दोहोरिए कारबाही गर्ने चेतावनी दिएको छ।


अनावश्यक कर्मचारी

संसद् सचिवालयको अनुगमन गर्ने क्रममा त्यहाँका कर्मचारीबारे पनि समितिले जानकारी लियो। सचिवालयमा तीन सय ४५ कर्मचारी कार्यरत छन्। ‘यो त ओभरस्टाफिङ हो, एक त दरबन्दी धेरै छ, अर्काेतर्फ करार नियुक्ति गरेर कर्मचारीको संख्या अत्यधिक देखियो’, समितिको निष्कर्ष छ, ‘पदाधिकारीले आफ्ना मान्छेलाई रोजगारी दिन जथाभाबी भर्ना गरेका रहेछन्।’

‘हामीले अनुगमन गर्दा अधिकांश कर्मचारी देखेनौं, काम छैन, जागिरका लागि भर्ना गरिएको छ, हाजिर गर्ने अनि जाने’, सांसद कुमारीले भनिन्।

गाडी खोइ ?

संसद् सचिवालयसँग ८२ वटा गाडी रहेको रेकर्ड छ। पुराना गाडी कहाँ गए भन्नेबारे सांसदले सचिवालयका महासचिव मनोहर भट्टराईसँग सोधेका थिए। महासचिव भट्टराईले पुराना र बिग्रेका गाडी प्रधानमन्त्री कार्यालयमा पठाएको जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री कार्यालयले मर्मत गरेर ती गाडी प्रदेश र स्थानीय तहमा पठाएको छ।

समिति सभापति तारादेवी भट्टले सिंहदरबारभित्रका सबै मन्त्रालयलगयत अन्य सरकारी कार्यालयको अनुगमनमा जाने बताइन्। ‘समिति सबै मन्त्रालयको अनुगमनमा जान्छ, सिंहदरवारबाहिरका सरकारी कार्यालयको पनि अनुगमन गर्नेछौं’, भट्टले भनिन्, ‘अरू कार्यालयको अनुगमन गर्नुभन्दा पहिला आफ्नै संसद् सचिवालयको स्थिति के छ भनेर हेर्ने निर्णयअनुसार अनुगमन गरेका हौं। स्थिति दुःखद पाइयो।’

समितिका तीन निर्देशन

पुरानो ग्यालरी भवन भूकम्पले क्षतिग्रस्त भई प्रयोग हुन नसकेकाले ऐतिहासिक एवं पुरातात्िवक महत्वको संरक्षणको पहल गर्न समितिले निर्देशन दिएको छ। उसले पुराना सरसामान (मेच, टेबल, दराज, कम्प्युटर, फोटोकपी) ले ग्यालरी बैठक र भुइँतला पूरै भरिएकाले त्यसको व्यवस्थापन तीन महिनाभित्र गरिसक्न सचिवालयलाई निर्देशन दिएको छ। सचिवालयमा आवश्यक कर्मचारीको संख्या, सवारीसाधन र प्रयोग गर्ने पदधिकारीको नाम समितिलाई उपलब्ध गराउन पनि निर्देशन दिइएको छ।