एनसेल सुपर सेलर योजना: बम्पर उपहार युरोप भ्रमण र आईफोन

काठमाडौं : एनसेल प्राइभेट लिमिटेडले आफ्ना देशभरिका खुद्रा विक्रेतालाई लक्ष्य गरी ‘एनसेल सुपर सेलर’ योजना ल्याएको छ। यस योजनाअन्तर्गत खुद्रा बिक्रेताले बम्पर उपहार स्वरूप युरोप भ्रमण र आईफोन एक्सजस्ता आकर्षक उपहार जित्न सक्नेछन्।

यो योजना चैत १ गतेबाट लागू भएको छ र १० महिनासम्म सञ्चालनमा रहनेछ। यस योजनामा सामेल हुन खुद्रा विक्रेताले एनसेलको रिचार्ज कार्ड, सिम कार्ड वा भीएफटी (भर्चुअल फन्ड ट्रान्सफर) खरिद तथा विक्रीको कारोबार गरी आफ्नो प्रत्येक कारोबारका आधारमा अंक जम्मा गर्दै जानुपर्छ।

यस योजनाअन्तर्गत खुद्रा बिक्रेताले प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज गरी चार प्रकारका समूहमध्ये कुनै एकमा आफूलाई सहभागी गराई उपहार पाउन सक्छन्। बम्पर उपहारबाहेक खुद्रा विक्रेताले निश्चित अंक संकलन गरेपछि बाइक, स्कुटर, ५५ इन्चको स्मार्ट टीभी, एअर कन्डिसनर, आईप्याड, इलेक्ट्रिक ट्रेडमिल, वासिङ मेसिन र ल्यापटपलगायत विभिन्न उपहार जित्न सक्नेछन्।

‘एनसेल सुपर सेलर’ योजना लागू भएको ६ महिनापछि खुद्रा बिक्रेताले आफूले संकलन गरेका आवश्यक अंकका आधारमा उपहार दाबी गर्न सक्नेछन्। यस योजनामा सहभागिता जनाउन खुद्रा विक्रेताले रिचार्ज कार्ड, सिम कार्ड वा भीएफटी एनसेलको सेल्स एन्ड डिस्ट्रिब्युसन एपबाट खरिद गरेको हुनुपर्नेछ।

यस योजनाको चार समूहअन्तर्गत खुद्रा बिक्रेताले तीन हजार सात सयभन्दा बढी उपहार जित्नेछन्। साथै योजनामा सहभागीमध्ये उत्कृष्ट १० हजार खुद्रा विक्रेतालाई पनि एनसेल गिफ्ट ह्याम्पर प्रदान गर्ने जनाएको छ।