तीन जिल्लाका कुखुरामा बर्डफ्लूको संक्रमण: सवा लाख कुखुरा नष्ट

काठमाडौं – मुलुकका तीन जिल्लामा पालेका कुखुरामा बर्डफ्लूको संक्रमण देखिएको छ। मकवानपुर, काठमाडौं, पोखरामा बर्डफ्लूको संक्रमणले धमाधम कुखुरा मरेका छन्। कुखुरा मर्न थालेपछि शंका लागेर परीक्षण गर्दा बर्डफ्लू भाइरस एच५एन१ संक्रमण भएको पुष्टि भएको पशु सेवा विभागले जनाएको छ।

बर्डफ्लूको संक्रमण फैलिएपछि किसानलाई करोडौं रुपैयाँको क्षति पुगेको छ। बर्डफ्लूको संक्रमण देखिएको र त्यसलाई फैलिन नदिनका लागि सुरक्षात्मक उपाय अपनाएको पशु सेवा विभागले जनाएको छ। केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरले बर्डफ्लू भाइरस भएको पुष्टि गरेपछि कुखुरा नष्ट गरिएको छ।

तीन जिल्लामा संक्रमण देखिए पनि सरकार मकवानपुर, काठमाडौंमा मात्र करिब सवा लाख कुखुरा नष्ट गरेको पशु सेवा विभागले जनाएको छ। दुई जिल्लामा एक लाख २३ हजार एक सय ३४ कुखुरा नष्ट गरेको विभागले जनाएको छ। बर्डफ्लू भेटिएका ठाउँमा कुखुरा नष्ट गरेर गाड्ने काम जारी रहेको विभागका प्रवक्ता चन्द्र ढकालले बताए।

‘कुखुरा नष्ट गर्न टोली परिचालन गरेका छौं,’ ढकालले भने। किसानलाई ठूलो क्षति भए पनि राहतस्वरुप न्यून रकम दिने ढकालले बताए। हेटौंडा र काठमाडौंमा विशेष गरी लेयर्स कुखुरामा योपटक एच५एन१ भाइरसको संक्रमण देखिएको हो। पोखरामा लोकल कुखुरामा देखिएकाले सुरक्षात्मक उपाय अपनाउन केही समय लाग्ने र केही दिनमा सबै नियन्त्रणमा आउने जनाएको छ।

कुखुरा मर्न थालेपछि कुखुराको मासु बिक्रीमा कमी आएको व्यवसायीले बताएका छन्। यसले कुखुरा व्यवसायमा गरिएको अर्बौं लगानीलाई असर पार्न सक्ने विज्ञहरु बताउँछन्। मुलुक कुखुराको मासु र अण्डामा आत्मनिर्भर छ। अर्बौं लगानी गरेर व्यावसायिक रुपमा कुखुरापालन गरिँदै आएको छ। हरेक व्यक्तिलाई वार्षिक ४८ अण्डा आवश्यक पर्नेमा अहिले प्रतिवर्ष प्रतिव्यक्ति ५०.७ गोटाका दरले उत्पादन भएको पशुपक्षी विभागले जनाएको छ।

सरकारी तथ्यांक अनुसार वार्षिक रुपमा कुखुराको मासु २० अर्ब ५२ करोड ८८ लाख रुपैयाँ, अण्डाबाट नौ अर्ब १३ करोड ३७ लाख ३६ हजार, चल्ला बिक्रीबाट तीन अर्ब ६० करोड ७६ लाख, कुखुराको मलबाट ४५ करोड ३७ लाख रुपैयाँको कारोबार हुन्छ। ६४ जिल्लामा २१ हजार नौ सय ५६ व्यावसायिक फार्म रहेको विभागले जनाएको छ। उच्च हिमाली क्षेत्रमा चिसो हुने भएकाले त्यहाँको तापक्रम कम हुँदा सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, जाजरकोट, जुम्ला, मुगु, कालिकोट, अछाम, बाजुरा र हुम्ला गरी ११ जिल्लामा व्यावसायिक कुखुरापालन हुँदैन। यी बाहेक सबै जिल्लामा कुखुरापालन हुन्छ।

मुलुकभर कुखुरापालन भए पनि चितवन, काभ्रे, दाङ, सुनसरी, धादिङ लगायत जिल्ला कुखुराका पकेट क्षेत्र हुन्। तीमध्ये २० हजार चार सय ८३ बोइलर, १३ सय ३७ लेयर्स कुखुरा र एक सय २८ ह्याचरी, आठ गिरिराज कुखुराका फार्म छन्। विभागका अनुसार ६ करोड आठ लाख २६ हजार आठ सय कुखुरापालन गरिएको छ। तीमध्ये पाँच करोड २६ लाख ६६ हजार ब्रोइलर, ६९ लाख आठ हजार पाँच सय लेयर, १२ लाख ५२ हजार दुई सय अन्य जातका कुखुरा पालिएको छ। कुखुरापालनमा ५५ हजार आठ सय ७१ जनाले रोजगारी पाएका छन्। ९९ हजार ६ सय अस्थायी कामदार छन्। कुखुरापालनमा निजी क्षेत्रको लगानी छ।

कुखुरापालनमा करिब एक खर्ब रुपैयाँ लगानी भएको पोल्ट्री व्यवसायी मञ्चले जनाएको छ। उत्पादन बढाउन पशुपक्षी मन्त्रालयले कुखुरा पालन विस्तार गरेर मासु र अण्डा उत्पादन बढाउनको लागि अण्डा आत्मनिर्भरता कार्यक्रम, पारिवारिक पोषण सुरक्षा, ग्रामीण कुखुरापालन, स्थानीय पशु संरक्षण अन्तरगत कुखुरापालन कार्यक्रम सञ्चालन गर्दै आएको छ। कुखुरामा लाग्ने रोग नियन्त्रण गर्न निःशुल्क भ्याक्सिन वितरण, रानीखेत रोग नियन्त्रण, रानीखेत रोग नियन्त्रण लगायतका विभिन्न कार्यक्रम रहेका छन्।

यो व्यवसायमा रहेका ७५ प्रतिशतभन्दा बढीले नाफा कमाउने गरेका छन्। तर, बीचबीचमा आउने बर्डफ्लूको संक्रमणले कुखुरापालक चिन्तित छन्। विदेशबाट गैरकानुनी ढंगले आयात हुने चल्लामा पूर्ण प्रतिबन्ध लगाउन, बर्डफ्लू तथा महामारीमा नष्ट भएका कुखुरा, अण्डाको क्षतिपूर्ति दिनुपर्ने आवाज बारम्बार उठ्छ।

कुखुरापालनको व्यवसाय फस्टाएर मासु र अण्डा आयात प्रतिस्थापन भए पनि ठूलो परिणाममा दाना आयात हुने गरेको छ। कुखुरालाई खुवाउने दानामा प्रयोग हुने कच्चा पदार्थ वार्षिक १५ अर्ब रुपैयाँको आयात भइरहेको व्यवसायी बताउँछन्। दानामा प्रयोग हुने मकै, भटमास, सूर्यमुखीको पिना र तिलको पिनालगायत कच्चापदार्थ खरिदमा उक्त रकम बाहिरिन्छ।

कुखुरापालन अन्तर्गत ह्याचरीमा नयाँ प्रविधि भित्रिएसँगै यो व्यवसाय फस्टाएको हो । कुखरा व्यवसायमा पछिल्लोपटक व्यापारिक घरानाको लगानी भित्रिएको छ। पछिल्ला केही वर्षमा कुखुराको मासु र अण्डा उपभोग समेत ह्वात्तै बढेको छ।