पार्टीमा म्याचिङ पहिरनको फेसन

कपडा मान्छेले सौन्दर्यका लागि लगाउँछ। भद्दा कपडाले प्राकृतिक सौन्दर्य ओझेलमा पर्न पनि सक्छ। त्यसका लागि शरीर सुहाउँदो कपडा रोज्नु पर्छ।

पोखराकी सचिता अधिकारी (२५) ले गएको मंसिरमा दाजुको फूलमालामा सहभागी हुन २२ हजार रुपैयाँ खर्चेर लेहेंगा किनिन्। माघमा सम्पन्न दाजुको विवाहमा भने अरू नै कपडाले काम चलाइन्। पछि फागुनको पहिलो साता साथीको विवाहको पार्टीमा भने उही लेहेंगा लगाइन्। तर उनलाई पार्टीमै असहज महसुस भयो। एकातिर उक्त लेहेंगा डान्स पार्टीमा मिल्दोजुल्दो भएन भने अर्कातिर इम्ब्रोइडरी धेरै भएको कपडा आउटडेटेड भइसकेको टिप्पणी गरे साथीहरूले।

सांस्कृतिक परिवर्तनसँगै फेसन पनि परिवर्तन हुने बताउँछन् फेसन डिजाइनर आस्तिक शेरचन। ‘अहिले विश्वव्यापीकरण, पश्चिमाकरणको प्रभाव छ। हाम्रो बजारमा बलिउडको प्रभाव पनि तत्कालै परिहाल्छ। विवाह, चाडबाड लगायतका उत्सव मनाउने शैली पनि दिनानुदिन परिवर्तन भइरहेको छ।’ विवाहमा नै औपचारिक अनौपचारिक गरी धरै कार्यक्रम हुने बताउँदै उनले भने, ‘जब कुनै पनि नयाँ डिजाइन धेरैभन्दा धेरैले मन पराउँछन्, त्यो आउट अफ फेसन हुन बेरै लाग्दैन। फेरि कम लाउन थालेपछि डिमान्ड पनि बढ्दै जान्छ। त्यसकारण डिजाइनर सधैं चनाखो हुनुपर्छ। सोही फेसन केही वर्षमै चल्न पनि सक्छ।’

भक्तपुरकी राधिका महर्जनले न्युरोडस्थित एक डिजाइनरकहाँ साथीको कपडा लगेर आफूलाई पनि उस्तै तयार गरिदिन आग्रह गरिन्। ती डिजाइनरले केही दिनमै दुरुस्तै बनाई मात्र दिएनन्, सोही डिजाइनमा आफ्नो बजार पनि विस्तार गरे। उक्त कुरा बाहिरिएपछि ती दुई डिजाइनरबीच मुखामुख भयो। पानी बाराबार नै भयो। यसरी अर्काको डिजाइन कपी गर्ने समस्या नेपाली बजारको रोग नै भएको बताउँदै शेरचन भन्छन्, ‘यस्तो कार्यले मेहनती डिजाइनरलाई निराश मात्र बनाउँदैन, दिक्क लागेर आउँछ। धेरै महिना लगाएर बनाएको डिजाइन केही दिनमा कपी गर्छन्। यसलाई ग्राहकप्रतिको अन्यायका रूपमा बुझ्नु पर्छ।’

फेसन चाँडोभन्दा चाँडो परिवर्तन हुने हुनाले यही नै चलेको छ भनेर यकिन गर्न नसकिने बताउँछन्, डिजाइनर शेरचन। उनको विचारमा परम्परागत डिजाइनमा भन्दा नयाँ डिजाइनमा युवाको क्रेज छ। हिजोआज युवाले शृंगार भद्दाभन्दा सामान्य रुचाउने गरेको उनको बुझाइ छ। शेरचनका अनुसार फेसन सामाजिक चलन र मान्यताभन्दा पनि व्यक्तिगत सोचाइ र रोजाइका आधारमा चल्न थालेको छ। ‘अब पार्टीमा रातो सारी नै लगाउनु पर्छ भन्ने छैन। विवाहमा अरू विभिन्न रङ चल्न थालेको धेरै भयो। यो व्यक्तिगत रोजाइको विषय हो। बेहुलीले कालो सारी लगाए पनि हुन्छ नि कहिलेकाहीँ। कति खुल्छ होला ? ’, उनले हाँस्दै भने।

काभ्रेकी सुमित्रा रसाइली (२१) धेरै खोलेर सिलाएको ब्लाउज लगाउन मन पराउँछिन्। जाडोयाममा पार्टीमा सहभागी हुँदा पनि स्युस्यु गर्दै खुला ब्लाउज नै लगाइन्। उनकी हजुरआमा र आमालाई भने उनले लगाउने लुगा पटक्कै मन पर्दैन। वैदेशिक रोजगारको सिलसिलामा दुबईमा बस्दै आएका उनका बुवाले गाली नै गरे। सुमित्रा भने लुगा लगाउने कुरामा कसैले बन्देज लगाउन नहुने बताउँछिन्। ‘खुला लुगा लगाउँदैमा कसैले जिस्क्याउँछ भन्नु ठीक होइन। यस्ता कुरा व्यक्तिमा निर्भर रहन्छ’, उनले भनिन्।

सुमित्रालाई आफ्नो विवाहमा अरू कसैले नलगाएको डिजाइन लगाउन मन छ। विदेशमा बस्ने दाजुले रकमको बन्दोबस्त गरिदिने बताएपछि उनी कुशल डिजाइनरको खोजीमा छिन्। आफ्नो बजेटले भ्याएसम्म युवावयमै फेसन पछ्याउनुपर्ने सुझाव उनको छ। ‘मेसिनले भरेको भन्दा हातले डिजाइन गरेको मन पर्छ। एउटै कपडा पनि फरकफरक ढंगले लगाउन सकिन्छ। यसो गर्दा एउटै लगाएको जस्तो कहाँ देखिन्छ र ? ’, उनले बताइन्।

गर्मीको समयमा लेहेंगा र खुला ब्लाउज लगाउन सजिलो हुने शेरचन सुझाउँछन्। हलुका र सलक्क परेका कपडा नै फेसनेबल मान्छेको रोजाइमा पर्ने गरेको उनको बुझाइ छ। ‘कपडा मान्छेले सौन्दर्यका लागि लगाउँछ। भद्दा कपडाले प्राकृतिक सौन्दर्य ओझेलमा पर्न सक्छ। त्यसका लागि आफ्नो शरीर सुहाउँदो कपडा रोज्नु पर्छ’, उनी भन्छन्।

नेपाली बजारमा फेसन क्रेज सुरुआती अवस्थामा रहेको मान्न सकिन्छ। यसका लागि आवश्यक पूर्वाधार र प्रविधिको समेत विकास हुन सकेको छैन। फेसनबारे कतिपय कलेजमा पढाइ हुने गरेकाले यसलाई सकारात्मक रूपमा लिन सकिन्छ। फेसन डिजाइनलाई कलाको रूपमा बुझ्ने वातावरण बनिनसकेकाले पनि डिजाइनरहरू पसल खोलेर बस्नुपर्ने अवस्था रहेको बताउँछन्, फेसन डिजाइनिङ पढिरहेका रोशन यादव। फेसनलाई विस्तार गर्न उत्सवहरू आयोजना हुनुपर्ने उनको सुझाव छ। तर, विस्तारै विस्तारै वातावरण अनुकूल बन्दै गएको पनि उनले बताए।

महिलाको भन्दा पुरुषको फेसन अति कम मात्रै बदलिने गर्छ। नेपाली बजारमा दौरा सुरुवाल र टाई सुटले डेरा जमाएको धेरै नै भइसक्यो। कामको सीमितताका कारण तुलनात्मक रूपमा पुरुषको फेसन डिजाइनरका लागि सिर्जनशील हुँदैन। सिर्जनशील काम खोज्ने सिलसिलामा नै पुरुषको फेसन छाडेर महिलाको फेसनतर्फ आकर्षित भएको फ्रान्समा अध्ययन गरेका शेरचनले बताए।