हतियार देखाएर १ सय २० तोला सुन लुटियो

सिन्धुली : हतियारधारी एक समूहले बुधबार सिन्धुलीबाट ६० लाख मुल्यको १ सय २० तोल सुन लुटेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार स्वचालित पेस्तोल तथा तरबारसहित आएका अज्ञात लुटेराको समूहले कनपा-६ स्टलबजरमा कालिगढले बनाउँदै गरेको सुन लुटेर फरार भएका हुन्।

होलीका दिन सबै होलीमा रमाइरहेका बेला उनीहरुले सुन लुटेर फरार भएका छन्। जिल्लाका विभिन्न सुनचाँदी पसलमा कार्यरत कालीगढले स्टलबजारस्थित उद्योग बाणिज्य संघको कार्यालय पछाडीको कोठा भाडामा लिएर गरगहन बनाउँदै आएका थिए।

स्थानीयले कालो माक्स लगाएका, कपालमा विभिन्न प्रकारका रंगहरु लगाएका 4/5जनाको समूहमा आएका लुटेराले १ सय २० तोला सुन लुटेर फरार भएको भन्दै प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख चक्रबहादुर सिंहले जानकारी दिए।

कालिगढले काम गर्दै गर्दा सुन लुटेर भागेको खबर गरेपछि तत्काल प्रहरी घटनास्थित पुग्दा लुटेराको पहिचान हुन नसकेको सिंहको भनाई छ। उनले भने, ‘हामीहरुले उक्त घटनाको अनुसन्धान गरिरहेका छौं। हालसम्म कुनै शंकास्पद व्यक्तिको पहिचान हुन सकेको छैन्। घट्ना पनि रहस्यमय बन्दै गएको छ।’

कालिगढले निर्माण गर्न ल्याएको सुन कुन सुन पसलको अडरको हो भन्ने खुल्न समेत नसकेको र को को कालीगढको लुटीएको भन्ने पनि अनुसन्धानमै रहेकाले घटना थप रहस्यमय बनेको सिंहले जनाए।

उक्त सुन लुटिएको विषयमा जिल्लाका कुनैपनि सुनचाँदी व्यवसायी बोलेका छैनन्। तर, जिल्लामा पहिलो पटक हतियार सहित लुटपाट भएको घट्नालाई प्रहरीले विशेष रुपमा अनुसन्धान अगाडी बढाएका सिंहको भनाई छ।

लुटिएको सुनको बजार मुल्य ६० लाख रुपैयाँ रहेको व्यवसायीहरुले जनाएका छन्। उता जिल्लामा हतियारसहित सुन लुटिएको घटनापछि उद्योगी व्यवसायी भने त्रसिद भएका छन्।

घटनापछि एक प्रेस विज्ञप्ती प्रकाशन गर्दै सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष अमरेशचन्द्र बैदारले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। उद्योगी, व्यापारीले आफ्नो व्यापार, व्यवसाय संचालन गर्दा राज्यतर्फबाट पाउनुपर्ने सुरक्षालगायतका अन्य अधिकार सुरक्षित गर्न सम्बन्धित निकायको ध्यानार्षण गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

साथै, जिल्लाका व्यवसायीले घट्नामा संलग्न रहेकाको यथाशीघ्र पहिचान गरी कानुन अनुसारको कार्वाही अगाडि बढाइदिन अनुरोध गरिएको छ। ‘आगामी दिनमा यस्ता घट्ना घट्ना नदिन सबैमा सरोकार निकायबाट उचित सुरक्षाको व्यवस्था गरी उद्योगी व्यापारी व्यवसायिलाई सहज एवं शान्तिपूर्ण ढंगले काम गर्ने वातावरण सिर्जना गरिदिनुहुन अनुरोध गर्दछौं, विज्ञप्तिमा उल्लेख गरिएको छ।