वडा सदस्यमाथि बलात्कारकाे आरोप, उजुरीपछि फरार

ओखलढुंगा : लिखु गाउँपालिका–३ का वडा सदस्य ५० वर्षीय विष्णुभक्त श्रेष्ठमाथि बालात्कारको आरोप लागेको छ ।

१७ वर्षीया एक किशोरीले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा वडा सदस्य श्रेष्ठमाथि आज शनिबार उजुरी दर्ता गरेकी हुन् । बलात्कारको उजुरी परेपछि वडा सदस्य श्रेष्ठ भने फरार छन् । श्रेष्ठले आफैँले सञ्चालन गरेको इटा कारखनामा काम गर्ने कामदार किशोरीमाथि बलात्कार गरेको उजुरी परेको हो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार फरार रहेका श्रेष्ठको खोजी कार्य भइरहेको छ । किशोरीले इटा भट्टामा दिउसो सुतिरहेको समयमा आफूमाथि बलात्कार भएको कुरा उजुरीमा उल्लेख गरेकी छन् । उनी आफ्ना पतिसँगै ज्यालादारीमा श्रेष्ठको इटा भट्टामा काम गर्दैआएकी थिइन् ।

प्रहरीले शनिबारै पीडितको स्वास्थ्य परिक्षण गरेर अनुसन्धान थालेको जनाएको छ ।