ह्विलचेयर क्रिकेटरको पुरस्कारमा संघको आँखा लागेपछि…

काठमाडौं । ह्विलचेयर क्रिकेटमा नेपालले भारत र बंगलादेशलाई हराएर त्रिदेशीय सिरिज जितेको एक वर्ष बित्यो । अहिले खेलाडीहरु अप्रिलमा हुने ह्विलचेयर टी–२० एसिया कप क्रिकेटको तयारीमा जुटेका छन् ।

ह्विलचेयर गुडाउँदै कहिले सानेपाको काठमाडौं क्रिकेट एकेडेमी, कहिले जावालाखेल मैदान त कहिले कीर्तिपुर मैदान पुगेर पसिना बगाएका उनीहरुलाई गरिएको वेवास्ताको कथा छुट्टै छ ।

त्रिदेशीय सिरिज जितेको ६ महिनापछि सरकारले प्रत्येक खेलाडीलाई एक एक लाख रुपैयाँ पुरस्कार दिएको थियो । त्यही पैसाबाट सुरु भयाे विवाद । नेपाल ह्विलचेयर क्रिकेट संघका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले पुरस्कार वापत पाएको रकमको २५ प्रतिशत रकम मागेका रहेछन् ।

पुरस्कारले रमाएका उनीहरुलाई त्यसबेला आफ्नो मेहनत कसैले देखेको भान परेको थियो । तर अहिले उनीहरु पुरस्कारमा पाएको त्यही एक लाख रुपैयाँ आफैमाथि परेर थिचिएको महसुस गरिरहेका छन् । मेहनत र उपाधिभन्दा माथि पुरस्कारमा आएको पैसाले किचलो भएपछि ह्विलचेयरमा बसेर सुस्ताइरहेका छन् ।

खेलाडीहरुले रकम दिन चाहेनन् । त्यही कारण विवाद चुलियो र महत्वपूर्ण खेलाडीहरुले एसिया कप गुमाउने भए ।

पैसा देखेपछि निस्किएको विवाद

गत वर्ष कीर्तिपुर मैदानमा सफलतापूर्वक त्रिदेशीय सिरिज आयोजना गरेको श्रेय शेर्पासहितको नेपाल ह्विलचेयर क्रिकेट संघलाई जान्छ भने नेपालले पाएको जितको श्रेय खेलाडीलाई ।

तर, जब खेलाडीहरुको मेहनतको कदर गर्दै सरकारले जनही एक लाख रुपैयाँ दियो, संघले त्यसमा आँखा लगायो ।

अध्यक्ष शेर्पा भन्छन्, ‘हाम्रो संस्था असाध्यै गरिब छ । अहिलेसम्म जे जति काम गरेका छौं, खल्तीकै पैसा हालेर गरेको छु । खेलाडीले एक लाख रुपैयाँ पुरस्कार पाएपछि २५/२५ हजार रुपैयाँ हालेर एउटा कोष बनाऔं, जसले भविश्यमा सजिलो हुन्छ भनेर मागेको हुँ, तर उनीहरुले कुरा बुझेनन् ।’

खेलाडीले पाएको पुरस्कार रकमबाट २५ हजार संघलाई नदिने बताएपछि तत्कालिन कप्तान हिमाल अर्याल शेर्पाको ठाडो आदेशमा निष्कासनमा परे । कप्तान भएकाले आफूले सबै खेलाडीको तर्फबाट बोल्दा संघले फेसबुकमार्फत निश्कासनको सूचना दिइएको अर्याल बताउँछन् ।

‘खेलकुद परिषदले दिएको पैसा पनि लिने, मदन भण्डारी स्पोर्टस् एकेडेमीले दिएको पनि लिने । त्यसमाथि खेलाडीले पाएको सम्मानको पैसा पनि दिनुपर्ने भन्नु त अन्याय नै हो भनेर बोलेको हुँ’ उनी भन्छन् । डाइटदेखि यातायात र पानीको खर्चसम्म खेलाडीले गर्नुपर्ने भएकाले संघलाई पैसा दिन नचाहेको भन्दै उनी भन्छन्, ‘त्यो पनि पुरस्कार पाएको पैसा कसरी दिनु ?’

उनका अनुसार संघलाई सुशील कोइराला फाउण्डेसनले जर्सी लगायत सहयोग गरेको थियो भने मारवाडी संघलगायतले पनि सहयोग गर्नुका साथै नेपाल पारा ओलम्पिक कमिटीले हेरेको छ । यसका बाबजुद खेलाडीको पुरस्कारमा आँखा लगाउनु उचित नभएको खेलाडीहरुको पनि बुझाइ छ ।

अहिले टिममा नपरेका खेलाडीहरुका अनुसार संघलाई २५ हजारको ठाउँमा १५ हजार रुपैयाँ दिन्छौ भनेका थिए ।

‘हामी राष्ट्रिय टिमका खेलाडी पो हौँ त, खेलेको पैसा पाउनु त टाढाको कुरा अझ पैसा दिएर पो खेल्नुपर्ने ?’ सिरिज जित्ने टिममा विकेटकिपर ब्याट्सम्यान रहेका राजु गुरुङले प्रश्न गरे ।

‘संघप्रति हाम्रो पनि माया छ । हामीले पनि संस्थामा पैसा अभाव छ सकेको गरौँ भनेर १५ हजार दिने भनेकै थियौँ । त्यतिले हुँदैन २५ हजार नै चाहिन्छ भन्नु त लज्जाको कुरा हो’ उनी भन्छन् ।

निष्कासनमा परेका कप्तान अर्याल पनि १५ हजार दिन सबै खेलाडी तयार भएकाे बताउँछन् । ‘मदन भण्डारी स्पोर्टस् एकेडेमीले दिएको ५० हजार, राखेपले दिएको ५० हजार र खेलाडीहरुले दिएको १५/१५ हजारले पनि केही रकम त जम्मा हुन्थ्यो । अध्यक्षलाई किन २५ हजार नै चाहिएको हो बुझ्न सकिएन ।’

एकपटकका लागि २५ हजार रुपैयाँ दिनुका साथै ‘अब कुनै चोटपटक लाग्दा आफैंले उपचार गर्नुपर्ने, कुनै प्रतियोगिता जितेमा र आएका पुरस्कारमा आधा पैसा संघलाई दिनुपर्ने, आवश्यक खेल सामग्री सबै खेलाडीले नै किन्नुपर्ने’ जस्ता शर्तहरु अघि सारेको अर्यालको आरोप छ ।

अध्यक्ष शेर्पा पनि पैसा मागेको स्वीकार गर्छन् तर, खेलाडीलाई दबाव दिएको नभई सहयोग गर्न भनेको बताउँछन् । ‘मैले ऋण गरेर संस्थामा पैसा हाल भनेको त हैन नि । संस्थाको कारणले गर्दा नै पाएको पुरस्कारमा अलिकति पैसा संस्थालाई देउ भनेको हो । त्यो त्यति ठूलो कुरा पनि होइन’ उनी भन्छन्, ‘संघ गरिब छ । मैले व्यक्तिगत रुपमा मात्रै सधैँ गरिरहन सक्दिनँ । संस्थामा खेलाडी कोष बनाएर राख्छु र आवश्यक परेको बेलामा खर्च गरौँला भनेको थिएँ ।’

आफूले राम्रो गर्ने सोचेर अगाडि बढ्दा खेलाडीहरुले आफैंलाई नराम्रो बनाउने प्रयास भएको उनको दाबी छ । ‘मैले खेलाडीको पैसा खेलभन्दा अन्यथा काममा प्रयोग गर्दिन भनेको थिएँ । तर उहाँहरुले छुल्टिमले घुस माग्यो, कमिसन माग्यो जस्तो कुरा गर्नुभयो’ उनी अगाडि थप्छन् ।

एकातिर बंगलादेश जस्तो उत्कृष्ट टिमलाई हराएर सिरिज जितेको गर्विलो इतिहास जोगाउन सकिएला कि नसकिएला भन्ने चिन्ता खेलाडीहरुमा देखिन्छ भने अर्कोतिर अहिलेसम्म टिम फाइनल भएको छैन, अभ्यासमा एकरुपता आएको छैन, कप्तान कसलाई बनाउने टुंगो छैन
पुराना खेलाडी किन बोलाइएन ?

हिमाल अर्याललाई अध्यक्षले फेसबुकमार्फत निष्कासनको सूचना दिए पनि अरु खेलाडीबारे कुनै सूचना जारी भएको छैन । त्यसो भए प्लेइङ ११ मै रहेका राजु गुरुङ, विपिन पौडेल, जंगबहादुर मगर, हरिनारायण पौडेल, विष्णु अधिकारी, रामबहादुर तामाङ, भरत कार्की किन बाहिरिए त ?

तत्कालीन कप्तान अर्यालले ‘भनेको मान्ने र उनको पछि लाग्ने’ भएकाले अरू खेलाडी टिममा नआएको अध्यक्ष शेर्पाको दाबी छ ।

‘अर्याल जीले संघप्रति अलि धोका दिनुभयो । संघलाई सोध्दै नसोधि पत्रकार सम्मेलन गर्ने, खेलाडी भड्काउने काम गरेकाले यसपाली राखेको छैन । अरु खेलाडीलाई कुनै कारबाही भएको होइन’ उनले भने ।

तर खेलाडीहरु शेर्पाको दाबीमा सहमत छैनन् ।

‘एसिया कपमा ती देशहरुलाई हराउन हामी अझै पनि सक्छौँ जस्तो लाग्छ । तर पुरानो खेलाडीको वेवास्ता गर्नु राम्रो होइन । हामीसँग कुनै कुरा नै भएको छैन । अझै पनि सकारात्मक परिवर्तन केही हुन्छन् कि भनेर कुरिरहेका छौँ’ राजु गुरुङले सुनाए ।

३ जनाले पाएनन् त्यही पुरस्कार
त्रिदेशीय सिरिज जितेपछि सरकाले दिएको एक लाख रुपैयाँको पुरस्कार पनि तत्कालिन प्रशिक्षक र दुई खेलाडीले पाएका रहेनछन् । प्रशिक्षक सुधिर चौधरीसँगै खेलाडीहरु नविन राई र जंगबहादुर मगरले नागरिकता र जर्सीमा उल्लेख भएको नाम फरक भएकाले पुरस्कार रकम पाएनन् ।

असन्तुष्ट छन् खेलाडी
गत वर्ष सिरिज जित्ने टिममा रहेका नविन राई, दिगम चेम्जोङ, डम्बर मगर, दानबहादुर थिम, एम श्रेष्ठ टी–२० एसिया कपको तयारीमा जुटेको टोलीमा छन् । तर, उनीहरु पनि ह्विलचेयर क्रिकेट संघको व्यवहारदेखि खुशी छैनन् । उनीहरुमध्ये केही आफ्नै बलले अभ्यासमा त जुटिरहेका छन् तर, आफूले गर्ने मेहनतबाहिरको पाटो के भइदिने हो भन्ने अन्योलमा छन् ।

एसिया कपको तयारीमा जुटिरहेका पूर्व उपकप्तान दिगम चेम्जोङ भन्छन्, ‘हामीले अहिलेसम्म संघबाट केही पनि पाएकै छैनौँ । गएको वर्ष जितेपछि आएको ५० हजार पनि हामीलाई थाहा दिइएन । पछि भारतमा खेल्न जाँदा दोस्रो भएको बंगलादेशलाई २५ हजार दिँदा मात्र हामीले ५० हजार जितेका रहेछौँ भन्ने थाहा पाएका थियौँ । त्यो कुरा लुकाउनु जरुरी पनि थिएन ।’

यस्तै कुराले अभ्यासमा रहेका खेलाडीहरुमा उत्साह भन्दा निराशा छ । संघको पनि पटक्कै सहयोग गरेको देखिँदैन । अनलाइनखबरको टोली जोरपाटीमा पुग्दा खेलाडीहरु धुलाम्मे र ढुँगैढुँगा भएकाे मैदानमा अभ्यास गरिरहेका थिए । जहाँ कुनै पनि बेला खेलाडीहरुलाई चोटपटक लाग्ने खतरा देखिन्थ्यो ।

अभ्यासमा खेल सामाग्री समेत थिएन । ७ जना खेलाडी एउटा बल र दुई वटा ब्याटको भरमा अभ्यास गरिरहेका थिए । ‘एसिया कप भनेको मामुली खेल होइन । तर, एसिया कप भनेर कुरा आएपछि कुनै मिटिङ नै भएको छैन । हामीले गर्ने मेहनत त गरिरहेकै छौं’ चेम्जोङले दुःखेसो गरे ।

एकातिर बंगलादेश जस्तो उत्कृष्ट टिमलाई हराएर सिरिज जितेको गर्विलो इतिहास जोगाउन सकिएला कि नसकिएला भन्ने चिन्ता खेलाडीहरुमा देखिन्छ भने अर्कोतिर अहिलेसम्म टिम फाइनल भएको छैन, अभ्यासमा एकरुपता आएको छैन, कप्तान कसलाई बनाउने टुंगो छैन ।

यसका बाबजुद खेलाडीहरु आफूहरुले मेहनत गर्न पछि परेका छैनन् । तर, उनीहरुको मनमा लाग्दो हो, जितेपछि कसैले पुरस्कार दिए २५ प्रतिशत संघलाई दिनु पर्ने कि नपर्ने टुंग्याएर मात्रै दिए हुन्थ्यो !