महँगो सिन्दूर, सस्तो जिन्दगी

जनकपुरधाम : जिन्दगीको मूल्य कति हुन्छ ? भनिन्छ– अनमोल। तर, मधेसका धेरै छोरीचेलीका लागि त्यही जिन्दगी एक धर्को सिन्दूरभन्दा धेरै सस्तो भइरहेको छ। दाइजोका नाममा तीमध्ये कतिले लामो जिन्दगी पलपल मरेर बाँचिरहनुपरेको छ। कतिले बाँच्छु भन्दाभन्दै मर्नु परिरहेको छ। वीरगन्जकी सुनितादेवी यसको पछिल्लो सिकार हुन्। श्रीमान्को निर्घात कुटाइबाट उनले अकालमै ज्यान गुमाउनुप¥यो। १५ वर्षसम्मको यातनाको अन्त्य मृत्युबाट भयो।

चिकित्सक श्रीमान् सचितानन्द यादवको बर्बर यातना अन्ततः उनको शरीरले थेग्न सकेन। उपचारका क्रममा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा शुक्रबार साँझ सुनिताको मृत्यु भयो।
बाराको परवानीपुर बहुअरीकी सुनिताको विवाहका बेला चिकित्सक ज्वाइँ पाउन परिवारले दाइजोमा २० लाख रुपैयाँसम्म खर्चेको थियो। तर यादवको दाइजो मोह बढ्दै गएर सुनितामाथिको यातना चुलिँदै गयो। अन्त्यमा उनको परिवारकै यातनाले उनको हत्या भयो। उनले अझै घर र कार मागिरहेको र दिन नसक्दा चरम यातना दिने गरेको उनका माइतीले बताएका छन्।

जनकपुरधाम उपमहानगरपालिका–४ मा दाइजोकै माग पूरा नहुँदा माघमा १८ महिने छोरीसहित एक महिलाको हत्या गरिएको थियो। दाइजोमा वासिङ मेसिन नदिँदा २५ वर्षीया पत्नी सीमा शर्मा र १८ महिने छोरी गौरीलाई समिर मि श्रा र उनका बुवाआमाले हत्या गरेका थिए।
छोरीका लागि पढेलेखेका जीवनसाथी पाउन सीमाका अभिभावकले दाइजोमा ८ लाख नगद, २ तोला सुन र एउटा मोटरसाइकल दिएका थिए। तर, बिहे भएको केही वर्षमै उनले नारकीय जीवन भोग्नुप¥यो। केटा पक्षबाट दाइजोको माग निरन्तर हुँदै गयो। सीमामाथि शारीरिक र मानसिक यातना दिएर अन्त्यमा उनको हत्या नै गरिएको फुपू सरिता शर्मा बताउँछिन्।

धनुषाकै २० वर्षीया कृति झाको गत भदौमा माइती गाउँमा शव फेलाप¥यो। जिल्लाको विदेह नगरपालिका–८ वैदेही गाउँकी कृतिको बिहे भारतको मधुवनी जिल्ला रहिका गाउँका रन्धीर मि श्रासँग भएको थियो। उनको शव गाउँकै पोखरी छेउमा फेला परेको थियो। व्यापारी केटासँग कृतिको विवाहका लागि माइतले तीन लाख खर्चेको थियो। तर बिहेको चार महिना नबित्दै उनीमाथि यातना सुरु भयो। बेलाबेलामा दाइजो माग गर्ने कृतिका श्रीमान् र सासूससुराले यातना दिएर बिहे भएको दुई वर्षमै उनको हत्या गरेको उनका दाई राजीव झा बताउँछन्।
गत मंसिर ९ गते जनकपुर उपमहानगरपालिका–२ का आनन्दमोहन शर्माले दाइजोकै कारण आफ्नी २२ वर्षीय श्रीमती रञ्जना शर्माको हत्या गरे। नर्सिङ पढ्दै गरेकी रञ्जनाको शव उनको घरमै ओछ्यानमा भेटिएको थियो।

पोखरामा अस्पतालमा कार्यरत आनन्दसँग बिहेका बेला रञ्जनाको परिवारले १८ लाख दाइजो दिएको थियो। तर बिहेको केही महिनापछि नै रञ्जनामाथि यातनाको क्रम सुरु भयो। थप दाइजो माग्दै उनी पटकपटक श्रीमान्बाटै कुटिइन्। अन्त्यमा उनको हत्या गरियो।

केटा पक्षले मागेको दाइजो दिन सक्ने परिवारको हैसियत नभएका कारण पर्सामा एक किशोरीले फागुनमा आत्महत्या गरिन्। पर्साको जिराभवानी गाउँपालिका–२ का सेढवा चन्द्रका १८ वर्षीया छोरी लालसा कुमारीले आफ्नो बिहेका लागि केटापक्षबाट दाइजोको दबाबमा आएको परिवारको अवस्था हेर्न नसकी जीवन त्यागेकी हुन्।
पुसमा वीरगन्जकी २६ वर्षीया माधुरी वर्णवालको परिवारबाटै हत्या भयो। उनको वीरगन्जकै मनीष वर्णवालसँग परम्परागत बिहे भएको थियो। त्यसको एक वर्षमै हत्या भयो। उनको शव कोठामै फेला परेको थियो।

दाइजो सामाजिक अपराध भए पनि यसका पीडकलाई सामाजिक संरक्षण हुँदा झन् बढ्दै गएको अधिवक्ता रेखा झा बताउँछिन्। उनी भन्छिन्, ‘जबसम्म दाइजो दिने र लिनेलाई सामाजिक बहिष्कार गरिँदैन, तबसम्म हिंसा र यातनाको क्रम रोकिँदैन।’
पढेलेखेका अभिभावकले समाजमा आफ्नो खोक्रो इज्जत र मर्यादा जोगाउन दाइजोलाई मलजल दिइरहेको प्रदेशसभा सदस्य रानी शर्मा तिवारीको ठम्याइ छ। ‘आफूलाई इज्जतदार भनाउनेहरू आफ्ना छोरी दाइजोका कारण प्रताडित हुँदा पनि समाजमा प्रतिष्ठा जाने डरले विरोध गर्दैनन्’, उनले भनिन्। छोरीहरूलाई जसरी पनि एडजस्ट गर्न सिकाइन्छ र अन्त्यमा ती छोरी कि त आफैं मर्न बाध्य हुन्छन् वा यातनाबाट मारिन्छन्। शर्मा थप्छिन्, ‘छोरीको जीवनभन्दा पनि सिन्दूर महँगो ठानिएको समाजमा दाइजो अभिशाप छ भन्ने कुरा छोरीका अभिभावकले बुझ्नु आवश्यक छ।’

दाइजोका कारण छोरीहरूले विवाह भएको केही महिनामै यातना भोग्न थालेपछि परिवारमा इज्जतप्रतिष्ठाका नाममा प्रहरीसम्म नजाने र कतै पनि नबोल्ने परिपाटीले पीडकको मनोबल बढाउने गरेको महिला नेत्री सरिता शर्मा बताउँछिन्। ‘घरमा छोरी कुटिँदा वा यातना पाउँदा पनि आमाबुबाले सहेर बस्न सिकाउँछन्। उनका पक्षमा कोही नभएको थाहा पाएपछि पीडकबाट अझ यातना हुन्छ र अन्त्यमा ज्यानै लिइन्छ’, उनले भनिन्।

पढेलेखेका र आफूलाई बुद्धिजीवी भनाउने परिवारमा पनि बडो सानका साथ दाइजो लेनदेन हुने गर्छ। १७ वर्ष नेपाल प्रहरीमा सेवा दिई अवकाशप्राप्त गरेकी महिला बालबालिका तथा लैंगिक हिंसा निवारण सञ्जाल धनुषाकी संयोजक सुभद्रा आले भन्छिन्, ‘दाइजोको प्रताडन र हिंसाका सिकार अधिकांश शिक्षित परिवारकै महिला हुन्छन्। बिहेका बेला जे दाइजो दिने कुरा तय हुन्छ, त्यो नदिँदा वा भनिएअनुसार सरसामान नपाउँदा यातना सुरु गर्दै गएर हत्यासम्मको अवस्था सृजना हुन्छ।’ अभिभावकले जबसम्म दाइजो दिइरहन्छन्, तबसम्म छोरीहरूले यातना भोगिरहने आलेको ठम्याइ छ।