झापाबाट प्रधानमन्त्री र गृहमन्त्री हावाहुरी प्रभावित क्षेत्र प्रस्थान

भद्रपुर : प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापाका सबै कार्यक्रम स्थगित गरेर आज हावाहुरी प्रभावित जिल्लामा गएका छन् ।

सोमबार १२ः२० बजे झापाको चन्द्रगढी विमानस्थलबाट प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्रयादव सहित सेनाको स्काइ ट्रकमार्फत सिधै बारा र पर्साका जनताको अवस्था हेर्न त्यसतर्फ लागेका छन् ।
प्रस्थान गर्नुअघिअघि विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सूचना दिएर हुरी नआउने र यो प्रकृतिक प्रकोप भएकाले प्रकोप पीडितलाई सहयोग गर्न सबैलाई आग्रह गरे । ‘यो विपत्तिमा परेकाहरुलाई सहयोग गर्न म सबै नेपालीहरुलाई आग्रह गर्दुछ,’ ओलीले संक्षिप्त भनाइ राख्दै भने ।

त्यसैगरी हावाहुरी प्रभावित क्षेत्रमा सरकारले के कस्तो राहतको व्यवस्था गरेको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा गृहमन्त्री थापाले तत्काल उद्धार कार्यमा लाग्न सबैलाई आग्रह गरिएको बताए । उनले आज प्रधानमन्त्रीसहितको टोली गएर उक्त ठाउँको अवलोकन गरेपश्चात राहत र घटनाबारे एउटा समिति नै बनाएर अगाडि बढ्ने बताए ।
हुरीले बारा, पर्सालगायतका जिल्लामा जनधनको धेरै क्षति भएको जानकारी पाएपछि ओलीले झापामा सोमबारका लागि राखिएका कार्यक्रमहरु सबै स्थगित गरेर घटनास्थलतर्पm लागेका हुन् ।