पाँच-स र इस्कोनको आयोजनामा ७ जुलाई आईतबार दक्षिण कोरियामा श्री जगन्नाथको रथ यात्रा भव्यताकासाथ हुँदै….

दक्षिण कोरियामा रहेका नेपालीहरूको एकमात्र विशुद्ध आध्यात्मिक संगठन पाँच-स र श्री राधाकृष्ण मन्दिर पोछन्सी, उइजङ्बु (ISKCON)को आयोजनामा यही आउने आइतबार ७ जुलाई २०१९को दिन हरेक वर्षहरूमा झैँ यसपाली पनि भव्यताकासाथ श्री जगन्नाथ रथ यात्रा हुँदैछ।

श्री जगन्नाथको रथ यात्रा विशेषत: भारतमा रहेको चार धाममध्येको एक जगन्नाथपुरी धाम उडिसामा हरेक वर्ष आषाढ़ शुक्ल द्वितीयाका दिन आरम्भ भई करिब १५ दिनसम्म भव्यताकासाथ मनाइन्छ।
यस रथ यात्राको धार्मिक तथा साँस्कृतिक महत्वलाई जोगाइराख्न अन्तराष्ट्रिय कृष्ण भावानामृत संघ (ISKCON)द्वारा विश्वभर अमेरिका, बेलायत,अस्ट्रेलिया लगायत विभिन्न देशहरूमा पनि श्री जगन्नाथ रथ यात्रा भव्यतासाथ आयोजना गर्दै आइरहेको छ।

दक्षिण कोरियामा विगत् ८ वर्षदेखि पोछन्सी, उइजङ्बु अवस्थित श्री राधाकृष्ण मन्दिर (ISKCON)ले पनि यसलाई विशेष महोत्सबको रूपमा हरेक वर्ष मनाउँदै आइरहेको छ र गत वर्षदेखि पाँच-सले पनि सह-आयोजना गर्दै यस रथ यात्रालाई भव्य र सभ्य बनाई मनाउँदै आइरहेको छ।
यस रथयात्रामा प्रत्यक्ष सहभागी भई भगवान श्री जगन्नाथको नाम जप्नले आफ्नो सम्पूर्ण इच्छाहरू पुरा हुने र परिवारमा पनि सदैव सुख-शान्ति छाइरहने इत्यादि लाभ हुने कुरा पाँच-सको उपाध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिको नेपाली प्रतिनिधि महेश कोइराला ज्यूले बताउनु भएको छ।

श्री जगन्नाथको कृपाले सारा जगतमा सुख-शान्ति, समृद्धि र सद्भाव फैलिओस् भन्ने मनोकामनाका साथ सम्पूर्ण नेपालीमनहरूलाई यस पवित्र रथ यात्रामा प्रत्यक्ष सहभागी भई श्री जगन्नाथको भजनकिर्तन गर्दै महाप्रसाद ग्रहण गरि भगवानको शुभ-आशिर्वादले जीवन सफल बनाउन पाँच-स तथा श्री राधाकृष्ण मन्दिर परिवार हार्दिक निमन्त्रणा गर्दछ।

भगवान श्री जगन्नाथकी जय!