हेलिकोप्टरबाटै अनुगमन गरेर फर्कियो मन्त्री टोली

रौतहट । बाढीपीडित जनताको गुनासो सुन्न र स्थलगत अनुगमन गर्न भनेर पुगेका संघीय सरकारका मन्त्रीको जम्बो टोलीले हेलिकोप्टरबाटै अनुगमन गरी फर्किएको छ । रौतहटमा बाढीबाट प्रभावित क्षेत्रको अनुगमन गर्न आएका पुर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित मन्त्रीको जम्बो टोली पीडित जनता नभेटेर आकाशबाटै अनुगमन गरी फर्किएको हो ।

बुधबार हेलिकोप्टरबाट रौतहट आएका मन्त्रीसहित सांसदको जम्बो टोली हेलिकोप्टरबाट नै अनुगमन गर्दै सुरक्षा निकायसँग क्षति र राहत तथा उद्धारको अवस्थाबारे बुझ्दै फर्किएका हुन् । पूर्वप्रधानमन्त्री माधव नेपाल, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबिर महासेठ, ऊर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुन, पूर्वमन्त्री रौतहट क्षेत्र नम्बर ३ का सांसद एवं नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साह, विकास समितिका सभापति एवं रौतहटकी सांसद कल्याणी खड्कालगायतको टोलीले बाढी प्रभावित क्षेत्र रौतहटको हेलिकोप्टरबाटै अनुगमन गरेका थिए । अनुगमनपछि टोलीले नेपाली सेनाको पुरेनवास्थित इन्द्र बक्स गणमा ओर्लिएर सुरक्षा निकायका प्रमुखसहित सरोकारवाला निकायका प्रमुखलाई बोलाएर जिल्लाको वस्तुस्थितिबारे अन्र्तरक्रिया गरेका थिए । कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले बर्सेनि बाढीको चपेटामा पर्दै आएको रौतहट पूर्व बाग्मती र पश्चिम बकैयाको बाढी विभिन्न गाउँ हुँदै सदरमुकाम नै बगाउने खतरा बढेकोले सरकार दीर्घकालीन योजना साथ गम्भीर भएर लाग्न जरुरी रहेको बताए । त्यस्तै, टोलीमा रहेका गृहमन्त्री थापाले उद्धारको कार्य लगभग सकिएको बताएका छन् । सरकार अब पुनर्निमार्णतिर लागेको गृहमन्त्री थापाले बताए ।त्यस्तै, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा नपुगेको ठाउँमा तत्काल स्वास्थ्य शिविर र आवश्यक चिकित्सकको टोली पठाइने र तत्काल चन्द्रनिगाहपुरमा स्वास्थ शिविर क्याम्प राख्ने जानकारी दिए । त्यस्तै, ऊर्जामन्त्री नारायण पुनले बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न भागमा विद्युत् आपूर्ति नै बन्द हुँदा स्थानीयलाई समस्या भएकोले यसको तत्काल समाधान हुने बताए ।

हालसम्म रौतहटमा आठ जनाको शव फेला परेको छ भने दुई जना बेपत्ता रहेका छन् । भारतीय पक्षले दशगजामा बनाएको बाँधको दुई ढोका खोलेपछि पानीको सतह घटेको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताएका छन् । लाल बकैया र बाग्मतीको बाँध भत्केपछि गौर नगरपालिकासहित दर्जन बढी गाउँमा बाढी पसेको थियो । निरन्तर चार दिनदेखि परेको वर्षाका कारण बाढी र नदीको पानी बस्तीमा प्रवेश गरेपछि करिब ३० हजार बढी घरमा क्षति पु¥याएको छ । यता, अनुगमनमा आएका मन्त्रीको जम्बो टोली खाली हात आए र आश्वासन दिएर फर्केको भन्दै रौतहटका बाढी पीडितले गुनासो गरेका छन् । बाढी पीडितको अवस्थासमेत नबुझी फर्किएकोमा उनीहरू चिन्तित भएका थिए । बाढीबाट पीडित भएका बास्तीका बासिन्दा राहत कुरेर बसेको अवस्थामा मन्त्रीको टोली

आफ्नो समस्यासमेत नबुझी गएको भन्दै उनीहरू आक्रोशित भएका छन् । सो बस्ती अझै पनि डुबानमा रहेको र २ फिटभन्दा बढि पानी रहेको छ । गौर नगरपालिका बरहवा नजिकमा रहेको सो टोलमा ३५ घर धुरीका परिवारले अहिलेसम्म राहत नपाएको गुनासो गरेका हुन् । सो बस्तीका बासिन्दाले राहत नपाएको र अहिलेसम्म आफ्नो अवस्था बुझन कोही नआएको बताएका छन् । उनीहरूको घर भत्किएपछि नजिकैको गौरी शंकर क्याम्प तथा बरहवा नजिकमा रहेको हनुमान धर्मशालामा बसोबास गर्दै आएका छन् । यसैबीच, उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव नेतृत्वको उच्चस्तरीय टोलीले प्रदेश २ को बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेको छ । प्रदेश २ को निरीक्षणमा निस्केको उक्त टोलीले नेपाली सेनाको हेलिकोप्टरमार्फत रौतहट, सर्लाही, महोत्तरी, सप्तरी, सिरहाको स्थलगत निरीक्षण गरेको थियो ।

हेलिकोप्टरबाट निरीक्षणपश्चात् प्रदेश २ को राजधानी जनकपुर पुगेर उक्त टोलीले बाढीबाट परिस्थिति, राहत तथा उद्धारको अवस्था र दीर्घकालीन व्यवस्थापनका सम्बन्धमा प्रदेशसरकारसँग जानकारी लिएको थियो । बाढीको अवस्था र राहत तथा उद्धारबारे टोलीलाई जानकारी गराउँदै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बाढी आए लगतै प्रदेश सरकारले राहत तथा उद्धारका लागि तत्काल विपद् व्यवस्थापन समितिलाई १० ÷१० लाख रुपैयाँ उपलब्ध गराएको, मृतकको परिवारलाई ३ लाखको दरले राहत दिने घोषणा गरिएको बताए ।