अनि त्यसपछी कहिल्यै कोरिया फर्किन मन लागेन…

त्रियुगा (उदयपुर)– दक्षिण कोरियाको आकर्षक कमाई त्यागेर उदयपुरका एक युवा स्वदेशमै व्यवसायिक बंगुर पालनमा होमिएका छन्। ५ वर्षअघि इपिएस परीक्षा उत्तीर्ण गरेर कोरिया छिरेका जिल्लाको लिमचुङबुङ गाउँपालिका–३ बाराहा पाप्रेका ३० वर्षीय श्याम राई कोरियाबाट फर्केर ५ महिनायता आफ्नै भूमिमा व्यवसायिक बंगुर पालनमा लागेका हुन्।

०६९ मा कोरिया छिरेका उनको सुरु तलब १ लाख रुपैयाँ थियो भने ०७५ असोजमा अन्तिम छुट्टीमा फर्कने बेलासम्म मासिक ३ लाख थाप्थे। कमाई आकर्षक हुँदाहुँदै पनि जन्मभूमिको मायाले बेलाबेलामा चिमोटिरहने गरेकाले स्वदेशमै ‘केही गर्ने’ लक्ष्य लिएर घर फर्केको उनी बताउँछन्। अहिले कोरियाको कमाई बंगुर फार्ममै लगानी गरेर त्यसैमा रम्न थालेका छन्। सदरमुकाम त्रियुगा नगरपालिका ३ हात्तीमारामा खोलेको ‘त्रियुगा बंगुर फार्म’ मा हाल उनको दिनचर्या रम्ने गर्छ। गत बैशाखदेखि सञ्चालनमा आएको फार्ममा अहिले डेढ सय हाराहारी विभिन्न जातका बंगुर छन्। स्थानीय कालो पुँढी सुंगुरदेखि रातो खैरो हाईब्रीड (बर्ण शंकर) प्रजातिका अमेरिकन ल्यान्जरस र ह्यामसायर लण्डन नश्लका बंगुरहरु उनको फार्ममा बग्रेल्ती हुर्किरहेका छन्।

कोरियाको बंगर फार्ममा ५ वर्ष बिताएका उनीसँग दिनमा १६ घण्टा लगातार काम गरेको अनुभव छ। ‘मैले काम गर्ने फार्ममा ५ हजार बंगुर थिए, हामी ४५ कामदार थियौं’ सुरुमा दुई वर्ष कामदार र ३ वर्ष सुपरभाईजरको अनुभव बटुलेका उनले त्यहाँ र यहाँको फरक बताए ‘तर, त्यहाँ सबै मेसिनले काम गर्नुपर्छ, यहाँ हातैले भ्याउनुपर्छ, फरक यत्ति हो। काम त जहाँ पनि गर्नै पर्छ,।’ फार्म खोलेदेखि नै उनलाई एकछिन फुर्सद छैन तर, फार्ममा ८ घण्टाभन्दा बढी समय दिँदैनन्। दुईजना हेरालु कर्मचारी राखेर बंगुरको स्याहारसुसारको जिम्मा दिएका छन्। आफु भने धेरै समय फार्म व्यवस्थापनमै लाग्छन्। चारो (खानेकुरा), औषधि, बजारीकरण र अन्य व्यवस्थापनमा आधा समय दिने गरेको उनले सुनाए।

त्रियगा नदी उकासको २ कठ्ठा जमिनमा ४० कोठे पक्की टहराको उनको फार्मबाट ५ महिना नपुग्दै बंगुरका पाठापाठी बिक्न थालिसकेको छ। स्थानीयभन्दा उन्नत र हाईब्रीड पाठापाठीको बजार राम्रो रहेको उनले बताए। पुँढी ढिलो बढ्ने र ठूलो नहुने भएकाले अक्सर उन्नत जातका हाईब्रीड बंगुर धेरैको रोजाईमा पर्ने उनले सुनाए। ‘पुँढी सुंगुर ढिलो बढ्छ भनेर त्यति बिक्दैन। तर, यसको मासु खँदिलो र मिठो हुन्छ भन्ने धेरैलाई थाहा छैन’ उनले भने ‘हाईब्रीड बंगुर छिटो र हलक्क बढ्ने हुनाले धेरैको आँखा त्यसैमा पर्छ।’ उनले अमेरिकन हाईब्रीड र लण्डन ह्यामसायर प्रजातिको बंगुर ६ महिनामै ८० देखि १ सय २० किलोसम्मको हुने हुनाले सबैको रोजाईमा पर्ने गरेको बताए।

रातो खैरो ल्यान्जरस अमेरिकन हाईब्रीड र लण्डन ह्यामसायरका पाठा उनले काठमाडौंबाट खरिद गरेर ल्याएका हुन्। प्रतिगोटा ६ हजारका दरले २० वटा पाठा ल्याएको महिना दिन नपुग्दै २० किलोभन्दा बढीको भईसकेको उनले बताए ‘अव ४ महिनाभित्र सय किलो त कम्तीमा हुन्छ।’ उनले फार्ममै पाठा उत्पादन गर्न दुईवटा बुचो (भाले) र बाँकी भुनी (पोथी) पाठा बढाउँदैछन्। ‘बाहिरबाट ल्याउँदा महँगो पर्ने भएकाले यहीँ उत्पादन गरुँ भनेर माउ पाल्न लाग्या’ उनले भने ‘दुईटा बुचो र बाँकी भुनी छन्, सबैलाई माउ बनाएर यहीँ पाठा उत्पादन गर्ने योजना छ।’

हाईब्रीड कालो बंगुरका पाठा उनले भटाभट बिक्रीसमेत गर्न थालेका छन्। भर्खरै गैरसरकारी संस्था नेस्पेक उदयपुरले ७० वटा पाठापाठी एकैचोटी किनेर लग्यो। गरिव, बिपन्न, दलित, पिछडा बर्गका समुदायलाई गाउँगाउँमा समूह गठन गरी आयआर्जनमा संलग्न गराउन नेस्पेकले बंगुरका पाठा वितरण गर्ने प्रयोजनमा उनको फार्म छनोटमा परेको हो। बुचो ५ हजार ३ सय र भुनी ४ हजार ५ सयका दरले बेचेर एकमुष्ट साढे ३ लाख हात पार्दा उनलाई कोरियाको मासिक तलब थापेको सम्झना आयो। ‘५ महिनाको श्रम, पसिना र लगानीबाट पहिलो कमाई समात्दा कोरियामा दुःख गरेर तलव थापेको याद आयो’ उनले बिगत सम्झे ‘कोरियनको गाली खाईखाई त्यहाँ कति दुःख गरियो, त्यसबेला स्वदेशको मायाले मुटु कटक्क खान्थ्यो, त्यसैले स्वदेशमै श्रम पसिना बगाउँछु भनेरै राम्रो कमाई छाडेर आएँ।’

सुरु लगानी १६ लाखबाट व्यवसायिक बंगुर फार्म थालेका उनले त्यही माछा पालन पनि थालेका छन्। फार्मसँगै जोडिएको ५ कठ्ठा जमिन भाडामा लिएर उनले मुङ्ग्री जातको माछा पालेका उनले ३ महिनाको पहिलो लट बेचिसकेका छन्। पछिल्लो लट भने हुर्कनै नपाई असार अन्तिमको वर्षापछि आएको त्रियुगा बाढी पसेर सबै लगेको उनले बताए। ‘एक लट बेच्दा उत्साहित भएर अर्को लट भुरा हालेँ, बढ्न नपाई डुबान भएर सबै लग्यो’ उनले बाढीले ५० हजार क्षति पुगेको बताए। लामो समयसम्म खोला पसेर बगरमा परिणत नदी उकासको जग्गामा खोलेको फार्म बर्खायाममा बाढीको खतरा हुने उनले बताए। अरु १०/२० लाख लगानी गर्ने योजनामा रहेका उनको फार्म भने वर्षायाममा बाढीको जोखिम रहेकोमा चिन्ता लागेको छ।

उनलाई लिमचुङबुङ ५ जाँतेका कनक राईले लगानीमा साझेदारी गरेका छन्। वैदेशिक रोजगारीमा कोरिया जाने प्रयास गरिरहेका कनकलाई श्यामकै परामर्शमा बंगुर फार्ममा साझेदारी गराउन राजी गराएका हुन्। लगानी गरीगरी विदेशिनुभन्दा त्यो पैसाले स्वदेशमै मेहनेत गरे घरमा परिवारसँग बसीबसी विदेशको जत्तिकै कमाई गर्न सकिन्छ भन्ने प्रमाण देखाउन आुफहरु लागी परेको दुवैले बताए। स्वदेशमै उद्यम व्यवसाय गरुँ, आप्mनै माटोमा पसिना बगाउँ, योगदान दिउँ भन्ने मनसायका युवालाई सरकारले प्रोत्साहन र सहयोग दिनुपर्ने उनीहरुको सुझाव छ। तर, बंगुर पालन व्यवसाय थालेको आफुहरुलाई स्थानीय सरकार, बैंक र वित्तीय संस्थाहरुले सहयोग नगरेको गुनासो उनीहरुको छ। दुई/चार पटक बैंक, बित्तीय संस्था धाउँदा चासो नदिएको र स्थानीय सरकारसँग सहयोग माग्दा कुनै प्रतिक्रिया नपाएको उनीहरुले बताए।

युवा पुस्तालाई विदेश पलायनबाट रोक्न स्थानीय, प्रदेश र संघीय सरकारले थुप्रै कार्यक्रम ल्याएको सुनेका उनीहरुले आफुहरुको प्रयासलाई बेवास्ता गरेको पाउँदा भने झुटो हल्ला हो कि भन्ने लागको छ। ‘सरकार युवामैत्री, उद्योग/व्यवसायमैत्री भए ४५ लाख युवा किन विदेशी मरुभूमिमा दुःख गर्न बाध्य हुन्थे र?’ उनीहरुको कामना छ ‘राज्य युवामैत्री बनोस्, घर परिवार त्यागेर सात समुद्रपारी सियोको टुप्पोमा ज्यान राखेर जीवन धान्नुपर्ने युवापुस्ताको बाध्यता अन्त्य होस्।’ आप्mनो व्यवसायलाई साथ सहयोग मिले फेरि कोरिया फर्कने सोँच नलिएको बताउँने श्याम व्यवसाय चलेन भने बाध्य भएर उतै जानुपर्ने अवस्था आउनसक्ने बताए।

कोरियामा लाख लाख तलब थाप्न युवाहरुले धेरै सास्ती भोग्नु परेको अनुभव पनि श्यामले सुनाए। ‘युवाहरुले सिर्जनशील समय, उर्जाशील जीवन, श्रम, बिबेक सबै विदेशमा खर्चिरहनु परेको छ, परिवार, छोराछोरीसँग बिछोडिनु पर्छ’ उनले भने ‘हाम्रो पुस्ताका युवा जति विदेशिए, अब बाँकीलाई विदेशिनु नपरोस्, त्यस्तो अवस्था सरकारले सिर्जना गर्नुपर्छ। नेपाल १० वर्षमा कोरियाभदा समृद्ध र विकसित बन्छ, त्यसै पनि स्वर्ग बराबर छ मेरो देश !’
* नागरिक दैनिक