पूर्वेलीलाई पोखरा घुम्ने निम्तो

पोखरा – चाँडबाँडको बिदा सदुपयोग गर्दै पोखरा घुम्न आउनु भन्दै यहाँका पर्यटन व्यवसायीले पूर्व क्षेत्रका आन्तरिक पाहुनालाई निम्ता गरेका छन्। गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष २०१९ मनाइरहेकाले आन्तरिक पाहुनालाई पहिलो प्राथमिकता दिएर घुम्न बोलाएको यहाँका व्यवसायीले बताए। पश्चिमाञ्चल होटल संघले धरानमा पत्रकार सम्मेलन आयोजना गरी त्यहाँका पर्यटन व्यावसायीमार्फत आन्तरिक पाहुनालाई पोखरा भ्रमणको निम्ता दिएका हुन्। वर्षायामको समाप्तिसँगै चाँडबाँडको मौसम सुरु भएको र पोखरा नजिकका हिमाली शृंखला यो बेला निकै आकर्षक देखिने भएकाले पनि पाहुनालाई पोखरा घुम्नका लागि उपयुक्त समय रहेको भन्दै घुम्न बोलाएको संघका अध्यक्ष विकल तुलाचनले बताए।

‘यतिबेला पोखरा घुम्ने उपयुक्त समय हो। त्यसैले पोखरा घुम्नका लागि हामीले पूर्व क्षेत्रका पाहुनालाइ निम्ता गरेका छौं,’ तुचाचनले भने, ‘यतिबेला पोखराको मौसम घुम्नका लागि अनुकूल छ।’ पोखरामा यो बेला पूर्वमात्र नभई पश्चिम क्षेत्रका पाहुनालाई पनि उत्तिकै महत्व दिएको उनले बताए। ‘हाम्रा लागि सबैतिरका आन्तरिक पाहुनाको उत्तिकै महत्व छ,’ उनले भने, ‘यो पटक पूर्वका पाहुनालाई धरान पुगेको बखत घुम्ने निम्ता गरेका हौं। हाम्रा लागि सबैतिरका पाहुना आवश्यक छ।’ गण्डकी प्रदेश सरकारले अहिले आन्तरिक पर्यटन वर्ष २०१९ समेत मनाइरहेको छ। भौगोलिक र सांस्कृतिक रुपमा समेत पोखरा र धरानबीच धेरै समानता भएको भन्दै पोखरा घुम्न आउने आन्तरिक पर्यटकलाई विभिन्न छुटका प्याकेजसमेत व्यवस्था गरिएको जानकारी तुलाचनले सो अवसरमा गराए।
पोखरामा सामान्यदेखि पाँचतारे स्तरसम्मका होटल उपलब्ध रहेको भन्दै तुलाचनले पर्यटकले आफ्नो आर्थिक हैसियत अनुसार होटलमा बस्ने, खाने र घुमघामका प्याकेज किन्न सक्ने बताए। ‘सबैखाले पाहुनाका लागि पोखरामा होटल रहेका छन्। ती होटलमा खर्च गर्ने क्षमता अनुसार पाहुना बस्न सक्छन्,’ उनले भने, ‘पोखरा महंगो सहरको रुपमा चिनिए पनि सबै पाहुनाका लागि उपयुक्त होटल रहेकोले बढी खर्च हुन्छ भनेर तर्सिनु पर्दैन।’

पोखराका होटलमा ३० हजारभन्दा बढी बेड संख्या रहेको र पर्याप्त रेस्टुरेन्टसमेत रहेको उनले बताए। संघले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ‘जाउँ है पोखरा’, भारतीय पर्यटकका लागि ‘चलिए पोखरा’ र तेस्रो मुलुकमा समेत पर्यटन प्रवद्र्धन अभियान सञ्चालन गर्दै आएको तुलाचनले गराए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लोपटक मुक्तिनाथको भ्रमण गरेपछि पोखरा र वरपर भारतीय पर्यटक आगमनमा समेत बढोत्तरी आएको उनले जानकारी गराए। सोही अवसरमा तुलाचनले पर्यटनको विकासका लागि पूर्वाधारको विकास पनि उत्तिकै महत्वपूर्ण हुने भन्दै यस विषयमा प्रदेश र संघीय सरकार गम्भीर बन्नुपर्ने उनले बताए। होटल संघका केन्द्रीय सदस्य भरत पराजुलीका अनुसार पोखराका होटलको करिब ५० प्रतिशत हिस्सा आन्तरिक पाहुनाको रहेको छ। वर्षभरिमा ५० प्रतिशत अकुपेन्सी आन्तरिक पाहुनाले धानेकै कारण पोखराले व्यावसाय सञ्चालनलाई निरन्तरता दिन सकेको उनले बताए। ‘आन्तरिक पाहुनाको आगमनले हाम्रा लागि सबैभन्दा बढी महत्व राख्छ,’ पराजुलीले भने, ‘दसैं तिहारका बेला आन्तरिक पाहुनाको आगमन राम्रो हुने गरेको छ। अरु बेला पनि बिदाको सदुपयोग आन्तरिक पाहुनाले मज्जैले गर्ने गरेका छन्।’ उनका अनुसार भूकम्प पछि आन्तरिक पाहुनाले पोखराको पर्यटन धानेको छ। ‘आन्तरिक पाहुना हुँदैनथे भने विदेशीको भरमा मात्र व्यावसाय धान्न मुस्किल हुन्थ्यो,’ पराजुलीले भने।

पराजुलीको अनुभवमा पोखरामा पश्चिमको तुलनामा पूर्व क्षेत्रबाट बढी आन्तरिक पाहुना आउँछन्। त्यसको कारण सहज पहुँच र सडक सुविधाले हो। चितवनलाई आधार मान्दा पूर्वेली पाहुना नै बढी पोखरा घुम्न आउने चलन रहेको उनले बताए। धरान, विराटनगर, वीरगन्ज, हेटौंडाका आन्तरिक पाहुना पोखरामा बढी आउने गरेको उनले बताए। ‘पाहुना आउने सहरसम्म सडक सुविधा छ। त्यसले गर्दा पोखरा आउन बढी सहज भएको हो,’ उनले भने।

‘पोखराबाट सिमरा, विराटनगर, भद्रपुरसम्म सिधा हवाई उडान सञ्चालन गर्ने हो भने यो आगमन अझै उकासिन्छ,’ पराजुलीले भने, ‘पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि पूर्वी सहरसँग हवाई सेवाको समेत पहुँच बढ्न गई पोखरा आउने आन्तरिक पाहुना अझै बढ्नेछन्।’ पोखरामा आन्तरिक पाहुना भिœयाउनकै लागि संघले विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको पनि उनले बताए। ‘प्रत्येक वर्षजसो सञ्चालन हुने जाउँ है पोखरा अभियानले पोखरामा आन्तरिक पाहुना बढाएका छन्,’ उनले भने। संघले दशक अघिदेखि आन्तरिक पाहुना लक्षित गर्दै जाउँ है पोखरा सञ्चालन गर्दै आएको छ।