आमा, अर्को दसैंमा आउँछु है !

आमा, धेरै बर्ष भएछ तिम्रो पाउको स्पर्श नगरेको पनि । चारैतिर हल्लीखल्ली दसैंको नै छ । किन नहोस पनि ? बर्ष दिनमा आउने ठूलो पर्व जो पर्यो । गॉउघरमा चहलपहल निकै नै होला । सबैका छोराछोरी खेलेको बोलेको देख्दा मन दुख्दो हो तिम्रो । नदुखोस् पनि किन ? आफ्नो सन्तान, चाडबाडमा आँफुसंगै होस् भनेर कुन आमाले चाहा गर्दिनन् होला र ?

हिजो बहिनीले पनि फोन गरेकि थिई, भन्दै थिई “यो साल पनि आउनुभएन है तपाई ?” म भावुक भएँ, उसको प्रश्न सुन्ने बितिक्कै कुरा घुमाएर भने “पिर नगर्न, बरु तलाई के ल्याईदिउँ?” उसको इच्छा थियो एउटा आइफोन र साइड ब्याग । मैले नकार्न सकिन “हुन्छ ल्याइदिउँला” भनें । “भाईलाई फोन दे त” भनेको उ बोल्न चाहेन, दाइसंग अलि डराउँछ त्यो । भाइलाई के चाहिन्छ सोध त भने बहिनीलाई, “एप्पलको ल्यापटप” उसले भन्यो । सामानहरुको लिस्ट थपिंदै थियो । केही छैन परिवारको खुशीका लागि बेचिन तयार छु यही सोच्दै हिँडे कोठातिर ।

दैनिकी सधैको उस्तै थियो । कुनै चाड होस् या सामान्य दिन, जापानमा कामको रफ्तार सधैंको उस्तै । घर र आफन्त सम्झदा त झोला बोकेर अहिले नै घर जाउँ जस्तो नलागेको कहाँ हो र । डाँको छोडेर रुन मन पनि नलागेको पक्कै थिएन । ‘तिमी संसारको महत्वपूर्ण मान्छे हौ आफूलाई कमजोर नठान’ मेक्सिम गोर्कीको यही भनाईले मलाई कहिल्यै गलत कार्य गर्न अभिप्रेरित हुन दिएन । गाउँमा मलाई मेरै आफन्तले भनेको “यो खलासी बन्छ, सबैको बिजोग बनाउछ” यो शब्द बारबार गुन्जिरहन्थ्यो झस्काइरहन्थ्यो । त्यही इखले त आज जापानमा मेहेनत गर्न सिकाइरहेछ ।

आमा, अकस्मात जुन रोगले तिमीलाई च्याप्यो त्यसपछि हाम्रो परिवारलाई हेर्ने सबैको हेर्ने नजर बदलियो । आखिर सबैलाई धन प्यारो न हो । जिवन भर साथ दिन्छु भनेर कसम खानेले पनि तिम्रो अबस्था देखे पछि अर्कै सुरसार गरे । जुन ब्यबहार तिमी माथी हुन्थ्यो, टुलुटुलु हेर्नु सिवाय के नै गर्न सक्दथें र म । अर्की आमा भित्रिएपछि बाबुको व्यवहार पनि फरक भयो । तिनीहरुको अगाडी केहि गर्न पर्छ भन्ने मनमा लागि रहन्थ्यो, आज पनि लाग्छ । कुखुरालाई हाल्ने मकैसम्म घरमा नहुँदा गैर्हीबारी काकाको घरबाट ल्याएको कहॉ बिर्सिएको छु र ? आमा, संसारको नियम नै यस्तै हो, गरिब नै हो हेपिनुपर्ने । म यता आउँदा लागेको रिन पनि त तिरिसकेको छैन।

आमा, बहिनीको फेरि फोन आएको थियो । “मेरो र भाइको सामान किन्नुभयो कि भएन ?” भनेर सोध्दै थिई । “आमाले तपाईको अलि पिर गर्दै हुनुहुन्छ” भन्दै थिर्इ। मैले बाचा गरेको थिए यसपाली दसैंमा आउँछु भनेर । यहाँ भने जस्तो सजिलो कहाँ छ र आमा ? बल्लतल्ल पाएको काम, यसै छाडेर हिँड्नपनि नमिल्ने ।

अस्ति एउटी भाउजु “दुधे बालक छाडेर आएको ४ बर्ष भयो यो साल पनि जान पाइन” भन्दै रुँदै थिइन । म मात्रै हैन आमा, धेरै जना छन् जो चाहेअनुसार चल्न पाउँदैनन्, मन लाग्दा घर जान पाउँदैनन । कहॉ काठमाण्डौंंबाट रामेछाप खुरुरुरुरु गए जस्तो कहाँ हुन्थ्यो र आमा ? आजकल त यहाँ आउँन भन्दा नेपाल फर्कन गाह्रो हुनेरैछ जस्तो लाग्छ ।

मलाई थाहा छ आमा, आमाको मन साँच्चै कोमल हुन्छ । आफ्नो सन्तान सधै संगै साथमै भैदिए हुन्थ्यो भन्ने लाग्छ । के गर्नु आमा खानकै लागि र आफुमात्रै बाँच्नका लागि हो भने त दिनभरी चोकमा बसेर क्यारिम खेलेर र गफ गरेर रै जीबन बिताउन पनि सकिन्थ्यो होला तर चिन्ता नलिनु आमा, तिम्रो छोरो जापानमा मेहेनत गर्दैछ । तिम्रो, भाई बहिनीको र हाम्रो परिवारको सुखद् भविश्यका लागि । धेरै कुरा सिक्दैछ जापानसंग, नियम र अनुशासन । यही कुरा भोली देश फर्किदाँ बोकेर आउनेछु आमा ।

तिमी आँफै भन्थेउ नि आमा, “हिउँ खपेको मकै र दुः ख खपेको छोरो कहिलै बिग्रिदैन ।” हो हण्डर ढक्कर खाएपछि मान्छे, मान्छे भन्न लायकको बन्छ, दुखले जीबन जिउँन सिकाउँछ । तिम्रो छोरो त्यही सिक्दैछ आमा यहाँ । यसपाली आउन पाईन त के भयो ? दसैं अर्को साल पनि आउँछ आमा, अनि तिम्रो छोरो पनि आउँछ, त्यही दसैंमा ।

बि.पि रामेछाप ,हाल टोकियो जापान