‘पावरको अभ्यास गर्न र धन कमाउन राजनीति गर्नेहरु रहुन्जेल जनताले सुख पाउँदैनन’

पछिल्लो दुई सातामा तीन जना सांसद प्रहरी निउन्त्रणमा परे । एक जनालाई नियन्त्रण गर्न अदालतले आदेश दिएको छ । राजनीतिको आडमा अपराध अनि अपराध लुकाउन राजनीति गर्ने प्रचलन यहाँ छर्लङ देखिएको छ । यो दल, उ दल होइन अपराधमा संलग्न र राजनीतिको आडमा अपराध गर्नेहरु प्रायःसबै दलमा छन् । कार्टुनिष्टद्वय बासु क्षितिज र रवि मिश्रका कार्टुनहरु नियाल्नुहोस् ।

रवि मिश्रको कार्टुनले सांसद जस्तो देखिने मानिसलाई समात्दै प्रहरीले भनेको छ, ‘ अपराध गरिनस् भनेर कसरी पत्याउने ?’ त्यस्तै बासु क्षितिजको कार्टुनले त थप केही बोल्नै नपर्ने गरी सबै बताएको छ । निर्वतमान सभामुख कृष्णबहादुर महरा सांसद सचिवालय की महिला कर्मचारीलाई जवरजस्ती करणी प्रयासको आरोपमा हिरासतमा छन् । रौतहट–२ का कांग्रेस सांसद मोहम्मद अफ्ताब आलम २०६४ सालमा भएको विस्फोटमा घाईते भएकालाई इट्टा भट्टामा जिउँदै जलाएर ज्यान लिएको आरोपमा प्रहरी नियन्त्रणमा परेका छन् ।

त्यस्तै राजपा नेपालका नेता सांसद प्रमोद शाह हवाई उडान ऐन विपरित काम गरेकाले ४ दिन थुनामा बसे । नेकपा नेता, सांसद पर्वत गुरुङ विरुद्द ज्यान मार्ने उद्योग सम्बन्धि मुद्दामा पक्राउपुर्जी जारी भएको छ। सांसदहरु अपारधिक क्रियाकलापमा लागेको पाइएको घटना धेरै छन् । कैलाली ५ बाट प्रतिनिधि सभामा विजयी नारदमुनी रानामाथि कुटनीतिक राहदानी दुरुपयोग र भ्रस्टाचार गरेको अभियोगको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

अर्का सांसद रेशमलाल चौधरी डिल्लीबजार कारागारमा छन् । जनकपुरमा ५ जनाको ज्यान जाने गरी गरिएको प्रकरणमा दोषी पूर्व सांसद तथा पूर्व राज्य मन्त्री संजय शाह आजीवन कैद भोग्दै छन् । अर्का पूर्वमन्त्री श्यामसुन्दर गुप्ता अपहरण मुद्दामा १० बर्ष कैद सजाय भोग्दै छन् । यस बाहेक पैसा खर्च गरेर राजनीतिमा प्रवेश गरेको कालो धन बचाउन र पचाउन राजनीतिमा छिरेकाहरुको नालिबेली निकाल्ने हो भने स्पस्ट थाहा हुन्छ, कि यो मुलुकको विकास, न्याय शान्ति, सुरक्षा कसले लुट्यो भनेर ?

राजनीतिमा अपराधी, अपराधलाई राजनीतिकरण र पैसाको बिटोमा चुनावी टिकटको विक्री वितरण, त्यो पनि खुलम खुल्ला ! देश बर्बाद हुन अरु थप के नै चाहिन्छ र ? दुई वटा कुरा गरौं, एउटा पैसा कमाउन राजनीति र अर्को पैसा कमाएपछि राजनीति । देशका संवैधानिक निकायहरुमा नै राजनीतिक नियुक्ति प्रष्ट छ । न्यायालय, अख्तियार, निर्वाचन आयोग, मानवअधिकार आयोग, सबैमा राजनीतिक भागबन्डा नै हो ।

जनताको सेवा गरेर, सत्य निष्पक्ष काम गरेर प्रगति हुँदैन, सबलाई थाहा छ । धन, दौलत, मान, प्रतिष्ठा, सरुवा, बढुवा निस्कने भनेकै दलको ढोकाबाट हो। फलानोलाई थुन्देउ, हस हजुर ! फलानोलाई नथुन, होस हजुर ! पावरको एक्सरसाइज गर्न र धन कमाउन राजनीति गर्नेहरु रहुन्जेल जनताले सुख पाउँदैनन् । तीन पुस्ताले हड्डी घोटेर अर्बौंको लगानी गरेका उद्योगीका टाई र कट्टु समेत ऋणमा छ ।
तर, हिजो राजनीतिमा आएकाहरुको सम्पत्ति, विना लगानी ? विना रिस्क कति हो कति ! सोध्ने कसले ? खोज्ने कसले ? अनुसन्धान गरी फेरिफार गर्ने कसले ? त्यत्रो घर, जग्गा, शेयर हुने गरी कमाउनेले ट्याक्स चाँही कति तिरेका रहेछन् त ? कुनै अनुसन्धान अधिकारीसँग यस्तो आँट छैन । कसैले आँट गरिहाल्यो भने पनि त्यसको खैरियत छैन । अर्को पैसा हुनेहरुले गर्ने राजनीति ।

पैसा हुनेले राजनीतिनै गर्नुहुन्न भन्ने होइन, तर पैसाको विटो बोकेर आउनेलाई चुना वको टिकट दिदाको परिणामा स्वरुप नै राजनीतिक आवरणमा अपराध लुकेका छन् । बाटो, पुल, भवन त भनेको समयमा गतिलोसँग बनाउन नसक्नेहरु यो देशको नीति बना उँछु भनेर सांसद भएर आएका छन् । पैसा कमाउन राजनीतिमा आउने र पैसा कमाएर त्यही पैसा खर्च गरी राजनीतिमा आउने संस्कारले मुलुक विकासमा स्पिड ब्रेकरको काम गरेको जस्तोसुकै अपाराधलाई पनि बचाइदिने कार्यकर्ताहरु भए सब पुग्ने रहेछ। अबको पुस्ता त्यो साउथ इन्डियन फिल्मको जस्तो विकृत राजनीति चाहँदैन ।

नेतालाई सरापेर मुलुक बन्ने पनि होइन । त्यसैले चुनावमा कुनै व्यक्ति लाई टिकट दिदा अब पनि विचार गर्ने हो भने पूराना–नयाँ कुनै दलको दलदलमा जनता भाँसिने छैनन् । र बाँकी कुरा देशका तीन शीर्ष नेता ज्यूहरुले आँट गर्नुपर्यो । ओली, प्रचण्ड र देउवा लाई आँफै फसिन्छ भन्ने ड’र भए बेग्लै कुरा तर सम्पत्ति शुद्धिकरणलाई पूरा अधिकार दिने हो भने राजनीतिबाट अपराध तेल र पानी जस्तै छुिटन्छ ।

तपाईसँग जति नै पैसा र पावर भएपनि खाने यति नै हो । भोक धेरै लाग्दैमा थाल नै खान मिल्दैन क्यारे ! गाँठो फुकाअौँ प्रहरीलाई, अख्तियारलाई, सम्पत्ति सुद्धिकरणलाई आदेश होइन कानूनको पालना गर्न लगाऔं। होइन भने ती भवनहरुमा गाई पालन गरौं , कमसेकम कर्मचारीहरुलाई पोषिलो दुध दही घ्यू भएपनि मिल्छ । संकेत राम्रो देखिएको छ, तर यतिमा जुंगा मुठार्न मिल्दैन ।