कोरियामा मासिक तीन लाख कमाई छाडेर फर्किएका युवाका अठोट

नेपाली युवा युवतीको लागि रोजगारीको गतिलो गन्तव्य हो, दक्षिण कोरिया।कोरियन भाषा परीक्षा पास गर्ने। कोरिया जाने। ५-६ वर्ष कमाउने। गतिलो घर घडेरी किन्ने। ५-६ वर्षको परिश्रम पछि आरामले बस्ने। जिन्दगीलाई रमाइलोसँग बिताउने। बैदेशिक रोजगारीमा जाने अधिकांश नेपालीको चाहाना प्राय यही हो।

तर, पाँचथरको फिदिम नगरपालिका ४ का सुवास सम्बाहाम्फे अलिक फरक छन्। उनले लगभग ४ वर्ष दक्षिण कोरियामा रोजगारी गरे। उनको मासिक तलब न्यूनतम नै तीन लाख थियो। ४ वर्षको कोरिया बसाइपछि उनी नेपाल फर्किए।उनले कोरियाको कमाइले चित्त बुझ्दो घर बनाए होलान्, आफ्नो परिवारलाई सुखमा राखे होलान्, त्यो आफ्नो ठाउँमा छ। उनी कोरियाको मासिक तीन लाख कमाइबाट आर्थिक रूपमा सम्पन्न मात्र भएर आएनन्, साथमा व्यवसायीक सिप पनि साथै लिएर आए।उनी हाँसी खेली मोज मस्तीमा कोरियाको कमाई सक्न तिर पनि लागेनन्। उनले कोरियामा गर्नुपरेको परिश्रमलाई नेपालमै पनि प्रयोग गर्ने अठोट लिए।कोरियाको गजबको कमाई त्यागेर आफ्नै देशमा गजबको व्यवसाय सन्चालन गर्ने सोच बनाए। आफ्नो परिश्रममा आफू रमाउने, अरूको करमा होइन आफैं मालिक बन्ने सोच उनको छ।

तर कसरी?

सम्बाहाम्फेले मनमनै सोचे, पाँचथरमा विभिन्न चिजको बजार हेरे। त्यसमध्ये माछाको बजारलाई नियाले, भारतमा उत्पादित माछा मात्र बजारमा बेच्ने गरेको पाए। यो हुनुको कारण स्थानीयस्तरमा माछाको उत्पादन कम भएर नै हो। भारतीय माछालाई विस्थापन गर्न स्थानीय स्तरमा पर्याप्त मात्रामा माछा उत्पादन गर्नैपर्छ। यो सम्बाहाम्फेको मनमा फुर्‍यो।त्यसपछि सम्बाहाम्फे माछा पालनका लागि अध्ययन गर्न थाले। गाउँका साथीसँग सरसल्लाह गर्न थाले। माछा पालन व्यवसायको सुरुवात गरियो भने पक्कै स्थानीय बजारबाट नै राम्रो आम्दानी लिन सकिने निर्णय निकाले।

उनका साथीहरु राजेन्द्र थापा मगर, खड्ग थापा मगर, दिपेन्द्र आङ्बो र दिपेन्द्र थापाले उनलाई साथ दिए।गत बैशाख महिनाको कुरा थियो। हेँवा खोला किनारमा यी पाँच जना गए। त्यसठाउँमा पोखरी निर्माण गर्ने योजना बनाए। सोही अनुसार हेवाँखोला नजिकै चार रोपनी जग्गामा चार वटा माछा पोखरी निर्माण गरेर १० हजार माछाका भूरा लगाएका छन। भूरा सुनसरीको चतराबाट ल्याएर लगाइएको सम्बाहाम्फे बताउँछन्। यसमा उनीहरुको संयुक्त लगानी छ।

माछा पालन व्यवसाय सुरु गरेपछि सम्बाहाम्फे र खड्ग थापा दिनको १० घण्टा खटिँदै आएका छन्। प्रायः यी दुई युवालाई बिहान दिउँसोको समय माछा पोखरी छेउछाउमै भेटिन्छन्।उनीहरू भन्छन् ‘जिल्लालाई माछामा आत्मनिर्भर बनाउन व्यवसाय सुरु गरेका हौँ,’ व्यवसायबाट राम्रै उत्पादन हुन सक्यो भने अझै पाँच रोपनी क्षेत्रफलमा विस्तार गर्ने तयारी छ।धैर्यताका साथ उनीहरु भन्छन्,‘माछा पालनसँगै पर्यटकीय स्थलको रुपमा यस ठाउँलाई स्थापीत गर्ने लक्ष्य छ, अब विस्तारै होमस्टे, स्वीमिङ पुल निर्माण गर्नेछौँ, हेँवा खोला घुम्न आउने पर्यटकहरुलाई आफैं बल्छी खेल्दै माछा मारेर खान मिल्ने व्यवस्थासम्म मिलाउने छौँ।’

लाखौँ रुपैयाँ खर्चिसकेका उनीहरुले त्यसठाउँलाई रमणीय र पर्यटकको मन जिताउन करिबन डेढ करोड खर्च गर्ने योजना बनाएका छन्।यसले गर्दा भारतमा उत्पादन भएर पाँचथरमा आयात हुने माछालाई बिस्थापन गर्दै जिल्लाबासीलाई स्वच्छ र ताजा माछा खुवाउन सफल हुने बताउँछन्। ‘हामी स्थानीय बजारमा जिउँदै माछा पनि बेच्छौं, पोखरी क्षेत्रमा कटेज निर्माण गरेर पोखरीमा आफैं माछा मार्दै खाएर आउने व्यवस्था पनि मिलाउँछौं। पकाउन लगाए पकाएर दिन्छौं पनि,’ दिपेन्द्र थापाले भने।

अब उनहिरुले त्यस क्षेत्रमा विभिन्न संरचना बनाउने योजना बनाएका छन्। युवायुवतीदेखि बालबालिका सम्मलाई मनोरन्जन मिल्ने खालको संरचना निर्माण गर्ने योजना बुन्दैछन्। ‘इको टुरिजमलाई प्रवर्धन गर्न हामीले यही क्षेत्रमा स्वीमिङ पुल बनाउँछौं। रेष्टुरेन्ट र चिल्ड्रेन पार्क, होम स्टे बनाउने सोच रहेको छ’, माछाापालकमध्येका खड्ग थापा मगरले भने।उनीहरूको व्यवसायको दर्ता नाम ‘हेँवा गंगा पशुपालन तथा कृषि फर्म’ हो। वैशाखमा लगाएको भुरा बढेर अहिले लगभग डेढ किलोको भएका छन्। उनीहरूले आगामी असोज–कात्तिकमा बेच्ने योजना बनाएका छन्।

जिल्लामा व्यवसायीक माछा पालन गर्ने कृषकहरु पनि नभएका त हैनन्। तर, तिनीहरुले उत्पादन गरेका माछाले ग्रामीण भेगका बजारलाई पुर्‍याउन सकेका छैनन्। यसले गर्दा ५ जना युवा आबद्ध हेँवा गंगा पशुपालन तथा कृषि फर्मले व्यवसायीक रुपमा माछापालन थालेको हो।सदरमुकाम फिदिमदेखि गाउँघरमा नै स्थानीय स्तरमा उत्पादित माछाको माग अधिक छ। यसरी हेर्दा उनीहरुको माछा पालन व्यवसायबाट राम्रो उत्पादन हुन सके बजार खोज्न टाढा जान पर्ने चिन्ता पनि छैन।सँगै बैदेशिक रोजगारबाट फर्किएका युवाको सोचमा परिवर्तन आउन सक्ने यिनीहरुको जाँगरबाट देख्न सकिन्छ।