कोरियामा पाँच बर्ष गाई फार्ममा काम गरेका दिपेन्द्र भन्छन ‘ जिन्दगीको विग्रेको हिसाब कोरिया गएर मिलाएँ ‘

काठमाण्डौं – पढाउने काम छाडेर कोरिया पुगेका सल्यानका दीपेन्द्र विश्वकर्माले त्यहाँ पुगेपछि आफ्नो गाउँठाउँ र कामलाई निकै ‘मिस’ गर्नुभयो । त्यहाँ पुग्नासाथ च्याउखेतीको काममा भएको खटाइले स्वदेशमा काम गर्दाका सजिलो र रमाइलोलाई पलपल सम्झाइरह्यो । एक हिसाबले त उहाँलाई पछुतो नै भयो । काममा खटिंदाको दुःखले कतिपटक घर सम्झेर रुनु पर्‍यो ।

चालचलन र रहनसहन नमिल्ने ठाउँमा काम मात्रै होइन, खानपिन र बसाई नै नमिल्ने । मरिहत्ते गरेर भाषा परीक्षा पास गरेर कोरिया पुगे पनि काम गर्न थालेपछि उहाँलाई लाग्यो, ‘विदेशमा जति नेपालमा खट्ने हो भने सम्भावना त आफ्नै ठाउँमा रहेछ ।’

देशमा सम्भावना छैन, विदेश गएपछि मात्र कमाउन सकिन्छ भन्ने मासिकता धेरै समय टिकेको भए आज दीपेन्द्र कोरियामै हुनुहुन्थ्यो । तर त्यो मानसिकता त्यहाँको भोगाईले फेरिदियो । त्यसैले त दीपेन्द्र अहिले स्वदेशकै काम र कमाईमा रमाइरहनुभएको छ ।देशमा हुँदा विदेशको मोह, विदेश पुग्दा देशको याद: हुन त दीपेन्द्रले विदेश जानुअघि पनि नेपालमा सम्भावना नखोज्नुभएको होइन । २०६१ सालतिर उहाँ कलेज पढ्दै बोर्डिङ स्कुल पढाउनुहुन्थ्यो । तलबले आफ्नो खर्च जेनतेन चल्थ्यो । तर उहाँको मन त्यतिमा अडिएन ।

युवा अवस्थाको जोश र जाँगर । त्यही बोर्डिङ स्कुलको काममा अल्झेर बस्न मन लागेन उहाँलाई । दीपेन्द्र २०६८ सालमा सल्यानबाट काठमाण्डौ आउनुभयो, राम्रो कलेज पढ्ने र राम्रै भविष्य बनाउने सपना बोकेर ।तर जिन्दगीमा सधै कहाँ आफूले सोचेको बाटोमा मात्र हिँड्न पाइन्छ र ? सहरका घुमाउरा गल्लीले गाउँमा छँदा देखेका त्यो मिठो सपना नमिठो बनाउन थाल्यो । सँगै दीपेन्द्रको सपनाको गन्तव्य पनि बद्लिंदै गयो ।

गणित विषयमा स्नातकोत्तर गर्दै हुनुहुन्थ्यो । कलेजसँगै अस्ट्रेलिया जाने तयारी पनि गर्नुभयो । आएल्स पास पनि हुनुभयो । तर कुरो रोकियो, पैसामा । पैसाको अभाव भएर त हो कमाउन जाने । लाखौं रुपैयाँ साथैमा भइदिए परदेशको सपना किन देख्नु ? सबै प्रक्रिया मिले पनि पैसाको मेसो नमिल्दा अस्ट्रेलिया जान गरेको मेहनत बालुवामा पानी खन्याएझैं भयो दीपेन्द्रका लागि । त्यसका लागि दिएको समय बर्बाद भयो ।त्यसपछि सस्तोमा जान पाइने र कमाइ हुने कोरिया उहाँको रोजाईमा पर्‍यो । तर भाषा परीक्षा त पास गर्नु पर्‍यो । सन् २०११ मा भाषा परीक्षा पास पनि हुनुभयो । तर दुई वर्ष बित्दा पनि पासपोर्टमा कोरियाको भिसा लागेन । कोरिया नै जान पनि फेरि भाषा परीक्षा दिनुपर्ने भयो ।

सन् २०१३ मा दोस्रो पटक भाषा परीक्षा दिनुभयो । नाम निस्कियो । पहिलेजस्तो बिलम्ब भएन । भिसा पनि लागिहाल्यो । उहाँ कोरिया पुग्नुभयो । लामो प्रयासपछि कोरियाको उडान भर्दा उहाँलाई लागेको थियो, ‘अब सपना साकार हुनेछन् ।’ जहाज बादल माथिमाथि उड्दा त्यसैगरी उहाँको खुशीले मन उडेको थियो ।त्यहाँ च्याउखेतीमा थियो काम । पहिलोपटक त्यहाँ गएर खट्दा उहाँले थाहा पाउनुभयो, सुख खोज्न परदेश जानेहरुले आफ्नो देशमा त दुःख नै गर्ने रहेनछन् । ‘विदेशको दुःख नभोग्नेलाई त्यहाँ काममा कसरी खट्नुपर्छ भन्ने थाहा नै हुँदैन, त्यतिको दुःख त कोरिया नजाने नेपालीले सायद कल्पना गरेको नै हुँदैन,’ दीपेन्द्र आफ्नो अनुभव सुनाउनुहुन्छ ।

च्याउखेतीको काम एक वर्ष गरेपछि उहाँले काम परिवर्तन गर्नुभयो । त्यसपछि उहाँले झण्डै चार वर्ष गाई फार्ममा काम गर्नुभयो । चार वर्ष गाई र गोबरसँग रमाउँदाका क्षण अविस्मरणीय छन् । कोरियामा उहाँले रेखदेख गर्ने १५० वटा गाई चार वर्षसम्म साथी बने । उहाँका सुख र दुःखका सारथी बने । अनि भविष्यको बाटो देखाउने ज्ञाता पनि ।बिहान आँखा खोलेदेखि ननिदाउँदासम्म आँखा वरिपरी गाई नै हुन्थे । ‘गाईलाई सञ्चो पो छैन कि, खाना राम्ररी खाएन कि, झोक्रायो कि, दुध पो थोरै दियो कि’ । गाईको यस्तै चिन्ता लिन पथ्र्यो । गाई कहिले हिउँमा चिप्लेर लड्थे, उठाउनु पथ्र्यो । काम मात्र गरेर पुग्दैन थियो, गाईका हरेका भाषा बुझ्न पथ्यो । हाउभाउ र हिँडाई याद गर्न पथ्र्यो ।

‘चार वर्ष गाईसँगै बिताउँदा मैले त गाईका रौंरौं पढ्न सक्ने भएको थिएँ,’ दीपेन्द्र मुस्कुराउँदै भन्नुहुन्छ, ‘ती गाईलाई मात्र पढिनँ, मैले गाईसँगै आफूलाई र जिन्दगीलाई पढ्न पाएँ त्यहाँ ।’ चिसो मौसम । कहिले घुँडा घुँडासम्म हिउँ आउँथ्यो । मौसम जस्तो भए पनि कामको दुःख कम हुँदैन थियो । १५० वटा गाईको एक्लै रेखदेख गर्न सजिलो त थिएन। तर सहारा मेशिन र साहुसाहुनीले गर्ने माया थियो ।‘मलाई त्यहाँ साहुसाहुनीले माया गर्थे, उनीहरुले राम्रो व्यवहार गर्ने भएर पनि काम गर्न सजिलो थियो, यहाँ जस्तो केही मेशिनहरु नहुने र यस्तै व्यवस्थापन हुने हो भने त कहाँ काम गर्न सक्नु’ दीपेन्द्र सम्झनुहुन्छ ।

गाईभैंसीलाई घाँस काट्दै हुर्केका दीपेन्द्रलाई अर्काको देशमा पैसाका लागि त्यही गाई र गोबरसँग खेल्नुपर्दा लाग्यो, ‘यही काम आफ्नो ठाउँमा किन नगर्ने ?’ बाउबाजेले गरेको काम छाडेर र देश छाडेर त्यही काम परदेशमा गर्न हुने, आफ्नो देशमा गर्न किन हुँदैन ? यही प्रश्नले उहाँलाई उत्तर पनि दियो । ‘हुन्छ र म नेपाल फर्किएर यही काम गर्छु भन्ने अठोट त्यही बेला गरेँ,’ दीपेन्द्र भन्नुहुन्छ । पाँच वर्ष कोरियामा बिताएर फर्किंदा पैसाभन्दा पनि मनमा कामको योजना र हातमा गाई पालनको सीप लिएर उहाँ २०७५ असोजमा स्वदेश फर्किनुभयो ।गोबरसँग खेल्न रमाइलो: घर फर्किएको झण्डै एक वर्षसम्म उहाँ आफूले जानेको र अनुभव भएको काम गाईफार्मकै भएकाले त्यसकै खोजीमा लाग्नुभयो । लगभग एक वर्ष लाग्यो, सबै व्यवस्थापन गरेर काम थाल्न ।

सल्यानका दीपेन्द्रलाई गाउँतिरै काम थाल्ने कि भन्ने सोच पनि नआएको हैन । दुधको माग त गाउँमा भन्दा सहरमा बढी छ भन्ने थाहा थियो उहाँलाई । त्यसैले काठमाण्डौको कीर्तिपुरमा चलिरहेको एउटा गाईफार्म किन्नुभयो र २०७६ असोजदेखि गाई गोठको काम सुरु गर्नुभयो । २५ लाख रुपैयाँमा सुरु गरेको व्यवसायमा अहिले त ३६ लाख रुपैयाँ लगानी पुगेको छ । २३ वटा गाई छन् । १२ रोपनी जग्गा भाडामा लिएर गोठ बनाउनुभएको छ ।

काममा श्रीमतीले सघाउनुहुन्छ । कोरियामा चार वर्ष गाईसँगै बिताएकाले पनि काम गर्न गाह्रो छैन । गाईका बारेमा ज्ञान छ । फर्म चलाउने अनुभव र सीप पनि । के खुवाउने, बिमार भए कहाँबाट डाक्टर ल्याउने भनेर पीर गर्नु पर्दैन । दीपेन्द्र आफैं गर्नुहुन्छ सबै काम । तर कोरियाको जस्तो प्रविधि र व्यवस्थापन छैन । उहाँको गाईफार्ममा मात्र हैन नेपालका धेरै ठाउँमा त्यस्तै भएको उहाँको अनुभव छ ।

मुख्य कुरा त यहाँ सबै काम एक्लै गर्दा पनि कोरियामा जति दुःख छैन । चिसो तातो नभनी खट्नु पर्दैन । परिवारसँग टाढा हुँदाको पीडा छैन । दुःख सुखमा परिवार साथमै छन् । कामको दुःख होस् या पैसाको अभाव, परिवार साथैमा हुँदा मन चङ्गा हुन्छ भन्नुहुन्छ, उहाँ ।कोरियामा पहिले पहिले ९० हजार रुपैयाँ जति हुन्थ्यो उहाँको मासिक तलब । फर्किने बेलामा महिनाको दुई लाख रुपैयाँ पुगेको थियो । अहिले उहाँ दिनको ९० देखि सय लिटर दुध बेचेर मासिक ५० देखि ६० हजार रुपैयाँ बचाउनुहुन्छ । हरेक काममा दुःखसुख त हुन्छ नै । दीपेन्द्रलाई काममा हुने दुःखसँग भन्दा पनि कहिलेकाहीँ मानिसले गर्ने व्यवहारले बढी दुःख लाग्छ ।

थर विश्वकर्मा भएकै कारणले दुध किन्ने ग्राहकले थुप्रै पटक मन दुखाएका छन् । ‘मेरोबाट नियमित दुध लिने कतिपयले यो त तल्लो जातको रहेछ भनेर दुध लिन छाड्नुभयो, यस्तो विभेदले चाहिँ कहिलेकाहीँ मन खिन्न हुन्छ’ दीपेन्द्र मन दुखाउनुहुन्छ । डेरीमा दिनुभन्दा घरघरमा दुध बेच्दा फाइदा हुन्छ । तर जातकै कारणले कतिपयले दुध लिन छाडेपछि घाटा पनि लागेको छ उहाँलाई । समाजको यो व्यवहारले आफूलाई मात्र नभएर देशलाई नै घाटा लाग्छ जस्तो लाग्छ दीपेन्द्रलाई ।

‘यो काम थाल्नुअघि धेरैले मलाई यस्तो हुन्छ भनेर सुनाएका थिए, तर अहिलेको जमानामा यस्तो होला र जस्तो लाग्थ्यो तर हुँदोरहेछ, भोगेपछि थाहा भयो,’ दीपेन्द्र निराश हुँदै सुनाउनुहुन्छ । कतिपयका व्यवहारले दीपेन्द्रलाई गलत पेशा रोजेछु कि भन्ने नलागेको होइन । तर सबै यस्ता छैनन् । जात थाहा पाएपछि पनि हाँसीहाँसी दुध किन्नेहरुको मुस्कानले दीपेन्द्रलाई काम गर्ने साहस दिन्छ ।

जात हेरेरभन्दा पनि गरेको काम र मेहनतले मानिसलाई मूल्याङ्कन गरिदिए कति मज्जा हुन्थ्यो जस्तो लाग्छ उहाँलाई । कोरियामा यस्तो छैन । सबैलाई कामलाई सम्मान गर्छन् । दुध लिन घरघरमै पुग्छन् । परदेशको लाख र स्वदेशको काख ! जे भए पनि जस्तो परिस्थिती आए पनि दीपेन्द्र हिजोआज यही काममा आफ्नो र छोराछोरीको भविष्य देख्नुहुन्छ ।आममानिसले सोचेजस्तो परदेशमा बचत हुन्छ, नेपालको कमाइमा बचत गर्न सकिन्न भन्ने कुरामा विश्वास गर्नुहुन्न उहाँ । त्यसो भन्दैमा परदेश जानै हुँदैन भन्ने आशय पनि हैन दीपेन्द्रको । उहाँलाई लाग्छ, ‘मानिसले दुःख बुझ्न भए पनि परदेश जानु पर्छ र त्यहाँको सीप र ज्ञानलाई आफ्नै ठाउँमा लगाउनु पर्छ ।’

उहाँलाई आफ्नो कामसँग सम्बन्धित थप तालिम र ज्ञान लिन फेरि एकपटक कोरिया जान मन छ । तर कामदार भएर हैन । ‘मेरो योजना अब डेरीका उत्पादनहरु बनाउने छ, त्यसका लागि एकपटक बिजनेश भिसामा कोरिया जान्छु र हेरेर सिकेर आउँछु,’ दीपेन्द्र भावी योजना सुनाउनुहुन्छ । हरेका काम थाल्दा त्यो कामसँग सम्बन्धित ज्ञान र अनुभव हुनुपर्छ भन्नुहुन्छ दीपेन्द्र ।

काम गर्दा उचारचढाव आइ नै रहन्छन् । कहिले घाटा त कहिले नाफा भई नै रहन्छ । तर दीपेन्द्र आत्तिनुहुन्न । सधैं योभन्दा राम्रो कसरी गर्न सकिन्छ भनेर योजना बनाउनुहुन्छ । गाउँदेखि सहरसम्म शिक्षक हुँदाको त्यो क्षण र कोरियाको दुःख अहिले पनि दीपेन्द्र सम्झिरहनुहुन्छ ।सँगैका साथीभाइ कोही प्रहरी निरीक्षक भए त कोही सरकारी जागिरे । गणित विषयमा मास्टसर्् पढ्दापढ्दै कोरिया पुगेका ३३ वर्षीय दीपेन्द्र आफ्नो जिन्दगीको हिसाब गर्दै भन्नुहुन्छ ‘मेरो जीवनको हिसाब बल्ल अहिले मिलेको छ ।’