‘हामी त नेताका लागि एक भोट मात्र रहेछौं’

भक्तपुर जगातीस्थित चेकपोस्टमा केही दिनयता निरन्तर बाक्लो भिड छ । ड्युटीमा खटिएका प्रहरीहरुलाई त्यो भिड व्यावस्थापन गर्न हम्मेहम्मे परिरहेको छ ।आफ्नो घर जान जम्मा भएको भिडलाई प्रहरीले तितरबितर पार्न पनि सक्दैन, राजधानीबाट फर्किँदै गरेका खाद्यान्न तथा तरकारीका गाडीहरुमा हालेर पठाउन पनि सक्दैन । उनीहरु माथिको आदेश कुरिरहेका छन् । सर्वसाधारण पनि प्रहरी सकारात्मक आदेश आओस्,

र गाडी चढेर जान र पठाउन पाइयोस् भनेर कामना गरिरहेका छन् ।प्रहरी र, सर्वसाधरण दुवै धर्मसंकटमा छन् ।एक प्रहरी अधिकृत भन्छन्, ‘बिजोक देखेपछि ट्रकमा हालेर पठाएका थियौं, तर अहिले माथिको आदेश कडा छ ।’अर्थात प्रधानमन्त्री केपी शर्मा ओलीले हिँड्दै गएका मजदुरहरु जहाँ पुगेका छन्, त्यही रोक्नू भनेका छन् ।

प्रधानमन्त्रीबाट निर्देशन पाएका प्रहरी जवानहरु अब फेरि ट्रकमा हालेर सार्वसाधारणलाई घरतर्फ पठाउन सक्दैनन् । त्यसैले त हिँडेर जान तयार भएका मजदुरहरुलाई त्यहाँ रोकेर राखेका छन् ।मजदुरहरु पनि प्रहरीको आदेश विपरीत अगाडि बढ्न सकेका छैनन् । तर हिँडेर भएपनि जान त दिनू भनेर अनुनय विनय गरिरहेका छन् ।त्यसैले त प्रहरीहरुलाई गाह्रो भइरहेको छ । जम्मा भएको भिडलाई सम्झाउँछन्, तर को सम्झिने ? सामाजिक दुरी कायम गर्न आग्रह गर्छन्, तर कसले सुन्ने ?प्रहरीहरु हैरान भइसकेका छन् । भिडमा जम्मा भएका सर्वसाधरणहरु झन् हैरान । प्रहरीको समस्या उनीहरुले बुझेका छन्, तर सहयोग गर्न सक्दैनन् । सर्वसाधारणको समस्या पनि प्रहरीले बुझिरहेका छन्, उनीहरु पनि केही सहयोग गर्न सक्दैनन् ।

किनकि, दुवै पक्ष बाध्यताको बोझले थिचिएका छन् । एक अर्काको समस्या बुझेर पनि केही गर्न सकिरहेका छैनन् ।कसैको काखमा स साना बालबालिका छन् । कोही पोका पन्तुरा बोकेर बसिरहेका छन् । सबै निराश छन् । घर जाने गाडी पाइएला कि भन्ने आशमा बाटो हेरिरहेका छन् । कोही रामेछाप पुग्ने बताउँछन् त कोही सिन्धुली । कोही उदयपुर पुग्ने बताउँछन् त कोही सप्तरी । सुनसरी, झापातिर पुग्न चाहनेहरु पनि भिडमा मिसिएका छन् ।भिडबाट अनेक थरि कुरा सुनिन्छ । आक्रोश, आग्रह । भोकको कथा । बाध्यताको कथा । भिडमा रहेका सय भन्दाबढी मानिसका आआफ्नो कथा छ । आफ्नै बाध्यता । उनीहरु जसरी पनि घर जाने योजनामा छन् । प्रहरीहरु माथिको आदेश भन्दै रोक्ने योजनामा ।

त्यहाँ रहेका एक मजदुरले सुनाए, ‘हिजो त कताको नेता आएर केही मजदुरलाई गाडी चढाएर पठाए रे.., हाम्रातिरका नेताहरुलाई वास्ता नै छैन ।उनका साथीले निराश स्वरमा भने, ‘हामी त नेताका लागि एक भोट मात्र रहेछौं, बल्ल चाल पाइयो ।’उनको कुरामा सही थाप्दै अर्को मजदुर बोले, ‘चुनाव भएको भए त गाडी लिएर लिन आउथेँ होला । अहिले त न वडाध्यक्षले फोन उठाउँछ, न मेयरले ।’उनको साथीले फेरि थपे, ‘फोन उठाएका त थिए, तर उताबाट केही व्यवस्था गर्न मिल्दैन । सरकारले नियम कडा गरेको छ भने ।त्यही समूहका अर्का एक मजदुर ड्युटीमा खटिएका प्रहरीसामू गएर अनुरोध गरे, ‘जान दिनुस् न । हामी २१ जना छौं, गाडी रिजर्भ गर्छौ बरु ।’

प्रहरीले जवाफ दिए, ‘माथिको आदेश नआइकन हामीले पठाउन मिल्दैन । कि भरेसम्म कुर्नुस्, कि इमर्जेन्सी छ भनेर प्रशासनबाट पास बनाएर आउनू ।’त्यही बेला एक प्रहरी अधिकृतले माइकिङ गर्दै भने, ‘कृपया तपाईहरु भिड नगरिदिनुहोला, दुरी कायम गरेर बसिदिनुहोला । तपाईहरुलाई हिँडेर जान नदिनु भन्ने माथिको आदेश छ । खानाको यही व्यवस्था छ । भरेसम्म माथिको आदेश आयो भने गाडीमा हालेर पठाउँछौं ।’केही क्षण भिड शान्त भयो ।त्यही भिडमा भेटिइन् सृष्टि माझी । उमेर १७ वर्ष । काखमा ७ महिने बच्चा ।सिन्धुली जान आएकी रहिछन् । साथमा श्रीमान पनि ।उनलाई सोध्यौं, ‘काखे बच्चा बोकेर कसरी जानुहुन्छ ?’

उनले भनिन्, ‘हिँड्दै हिँड्दै बिस्तारै जाने भनेर आ’को, यहाँ रोकिदियो ।’‘अनि सरकारले नहिँड्नु भनेको छ, किन हिड्न लाग्नु भएको ?’ प्रश्न भुइँमा खस्न नपाउँदै उनले भनिन्, ‘गाउँमा जस्तो यहाँ नहुने रहेछ । ज्यामी काम गर्ने श्रीमानसँग पनि धेरै पैसा छैन, त्यही भएर आफ्नो गाउँ हिँडेको ।’उनलाई गाडीको व्यवस्था हुन्छ कि भन्ने झिनो आश छ । गाडी नपाए हिँडेरै जाने बताउँदै उनी भन्छिन्, ‘अब यो भिडभाडमा मिसिएर कोठामा गयो भने त घरबेटीले कोरोना सर्छ भन्नुहुन्छ । भिडभाडमा मिसिएर नआउनु भन्नु भएको छ, त्यसैले घर जाने हो ।’उनीहरु सबै दिनभरी त्यही पर्खिरहे । घरि यता घरि उता गर्दा गर्दै दिन सकियो । छटपटाहट सकियो । प्रतीक्षा सकियो । अर्थात माथिको आदेश आयो । कसैले आफैंले गाडी रिजर्भ गरे । कसैले भाडा तिरेर जान तयार भए । त्यसपछि उनीहरुले काठमाडौंलाई बिदाईको हात हल्लाए ।