कोभिड–१९ का कारण लगाइएको आपतकाल हटेपछि जापानमा के के नयाँ भयो ?

टोकियो ।

मे २५ मा प्रधानमन्त्री शिन्जो आबेले जापानभर कोरोना भाइरस बिरुद्ध लगाएका आपतकाल हटाए । जापान विस्तारै कोभिड–१९ का कारण लगाइएको आपतकाल हटेपछिको अवस्थाको पहिलो चरणमा प्रवेश गर्दैछ ।

अहिलेको अवस्था पहिलाको भन्दा तुलनामा धेरै कुरा फरक छ । के के फरक भएको छ ?

घरबाट टेलिवर्किङ

जापानी कर्मचारीहरु घन्टौं घन्टा कार्यालयमै बिताउँछन् । यसबाहेक उनीहरु 残業 (जान्ग्योउ –ओभरटाइम) पनि गर्छन् । क्लाइन्ट, सहकर्मी र हाकिमहरुसँग अबेर रात पिउनका लागि बाहिर जान्छन् । काम गर्ने यस्तो खालको जीवनशैली नै सफलताको संकेत हो भनेर लामो समयसम्म सोचियो ।

विश्व युद्धका कारण ध्वस्त भएको जापान विस्तारै विश्वको अर्थतन्त्र अनि प्रविधिमा उदीयमान बन्नुमा जापानीहरुको यही कार्यशैलीको ठूलो योगदान पनि छ । तर काम भनेपछि मरी मेट्ने, लामो समयसम्म कार्यालयमै बिताउने जापानीहरुको यो बानी कोरोना भाइरसको महामारीका कारण विस्तारै परिवर्तन भइरहेको छ ।

यस क्रममा निहोन केइजाई शिन्बुनले जापानका प्रमुख १४० कम्पनीहरुमाथि एक अनुसन्धान सर्वेक्षण गरेको छ । यस क्रममा ५० प्रतिशतभन्दा धेरै कम्पनीहरुले आंशिक रुपमा वा सिद्धान्ततः टेलिवर्किङ अपनाएको बताएका छन् । कार्यालयमा नगइकन समेत काम गर्न सकिँदो रहेछ भन्ने कुरा मानिसहरुले महसुस गर्न थालेका छन् । यो नयाँ पद्दति यस अघिका तुलनामा निकै लचिलो ठानिएको छ । पानासोनिक र यूनिचार्म जस्ता ठूला कम्पनीहरुले पनि रिमोट वर्क शुरु गरेपछि सञ्चार माध्यमहरुमा हेडलाइन नै बनेका थिए ।

रोजगारदाताका सकारात्मक प्रतिक्रिया

मानव संसाधन परामर्शदाता कम्पनी इमिली ड्रेकोट–जोन्सका विज्ञ बताउँछन्ः ‘कोभिडले रोजगारदाताहरुलाई टाढा गएर उत्पादकत्व कार्यालय भित्रको वातावरणमा तय गरिएको समयसँग सम्बन्धित हुन्छ भन्ने परम्पारगत सोचाईबाट पर लगेको छ ।’ अन्तरर्वातामा संलग्न गरिएका मध्ये अधिकांशले के भनेका छन् भने कोरोना भाइरसको महामारीले उनीहरुलाई आफ्न्त विशेषगरी परिवारका सदस्यहरुसँग समय बिताउने मौका दियो ।

राष्ट्रिय जनसंख्या तथा सामाजिक सुरक्षा अनुसन्धात संस्थानका अनुसार हरेक दिन (सप्ताहन्तका दिन बाहेक) घरको कामका लागि महिला (श्रीमति)ले औसत २६३ मिनेट खर्च गरेका छन् । पुरुष (श्रीमान)ले भने यस्तो काममा औसत ३७ मिनेट मात्रै खर्च गर्ने गरेका छन् । जापानमा कार्यालय र घर दुबैको जिम्मा महिलाको मात्रै हो भन्ने सोच्ने गरिन्छ । जापानी पुरुषहरुले घरको काममा एकदम कम समय बिताउँछन् भन्ने कुरा फ्रिलान्सर सम्पादक तथा लेखक इरिको मियामोतो बताउँछिन् ।

दूर शिक्षण – अनलाइन कक्षा-सिकाई

लामो समय सम्म रहन सक्ने अर्को नयाँ जीवनशैली दूर शिक्षण हो । कोरोना भाइरसको महामारीका कारण जापानी विश्व विद्यालयहरुले कक्षा कोठा बन्द गरेर जूम स्काइप आदि मार्फत अनलाइन कक्षा संचालन गर्न थालेका छन् । जापानले क्रमशः सबै प्रिफेक्चरबाट आपतकाल हटाइसकेको भएपनि सामाजिक दूरी भने अझै पनि कायम गर्नु पर्छ । कार्यालयहरुमा टेलिवर्किङको बारेमा वहस चलेजस्तै विश्व विद्यालयहरुमा पनि अनलाइन कक्षा र दूर सिकाई लगायत विषयबारे बहस चल्दै आएको थियो । तर यस विषयमा खासै धेरै प्रगति भने हुन सकेको थिएन । तर कोभिड–१९ ले यो चक्रलाई निकै तीव्र बनाएको छ ।

अनलाइन कक्षाबाट कलेज र विद्यार्थी दुबैलाई लाभ भएको छ । कक्षा वा क्याम्पसमा भौतिकरुपमै उपस्थिति हुनु पर्ने बाध्यता हटेपछि विश्वविद्यालयहरुले थप भौगोलिक विविधता भएका स्थानबाट प्रध्यापकहरु भर्ती गर्न सक्छन् । अन्तरराष्ट्रिय स्तरका प्रध्यापकको भर्तीसँगै शिक्षाको स्तर पनि बढ्न छ । विद्यार्थीहरुले पनि घरबाटै लेक्चर लिन सक्छन् । यसले विद्यार्थीहरुलाई आवास स्थल नफेरिकन विदेशका विश्वविद्यालयमा अध्ययन गर्ने अवसर पनि दिन सक्छ । जापानी विद्यार्थीहरु कक्षामा भएको बेलामा पठन कार्यमा बाधा हुने हो कि भनेर चुपचाप लागेर बस्छन् । खासै धेरै प्रश्न सोध्दैनन् । तर अनलाइन कक्षाहरुमा च्याट मार्फत भने उनीहरुलाई प्रश्न सोध्न अलि सहज भएको अनुभवले देखाएका छन् । यस्ता लाभहरुले कोभिड–१९ को महामारी निमूल भएपछि पनि विश्वविद्यालय र विद्यालयहरुलाई अनलाइन कक्षा संचालन गर्न प्रेरित गर्न सक्छ ।

सर्पोर्टेड डिजिटल मञ्चको उदय

टेलि वर्किङलाई भविष्यको कार्यशैली मानिन्छ । यो प्रभावकारी, स्वच्छ, र सहज पनि छ । यसले जापानमा मात्रै होइन विश्वभर नै सर्पोर्टेड डिजिटल मञ्चको उदयलाई प्रवद्र्धन गरेका ठानिएको छ । अहिले प्रयोग गर्नका लागि अनेक टूलहरु उपलब्ध छन् । जूम, स्काइप, ह्याङ्गआउट, मिट, टिम्स आदि जस्ता अनेक अनलाइन मिटिङ एप छन् । आसाना, ट्रोलो, स्ल्याक लगायत टूल वर्किङ टूल र प्रोजेक्ट व्यवस्थापन टूल पनि छन् । छलफल गर्नका लागि भाइबर, ह्वाट्स एप, टेलिग्राम, विच्याट, जालो, मेसेन्जर, लाइन जस्ता एप छन् । सामान्यतः तपाईले जे काम अफलाइन गरिरहनु भएको छ त्यसलाई त्यही क्षण अनलाइनमा लैजान सकिन्छ ।

क्याशलेश

नगदमा कारोबार गर्दा कागजी नोटबाटै भाइरल इन्फेक्शन सर्ने हो कि भन्ने चिन्ता जापानीहरु व्याप्त हुनुले नगदरहित भुक्तानीको प्रयोगलाई प्रवद्र्धन गरिरहेको छ । हामीले यहा कुरा गर्न खोजेको मोबाइल भुक्तानी, क्रेडिट कार्ड र प्रिपेड ट्रान्सपोर्टेशन कार्डको उदय हो । जापानमा उल्लेख्य वृद्धि हासिल गर्ने कम्पनीमा पेपे, लाइन पे, राकुतेन पे, जे ट्रष्ट ग्लोबल आदि पर्दछन् । महामारीका कारण हजारौं पसलहरुले ‘यहाँ पेपे प्रयोग गरिन्छ’ भन्ने जस्तो सन्देश टाँस्न थालेका छन् । महामारीका कारण कागजी नोट छुन नचाहने मानिसहरु माझ स्मार्टफोनमा आधारित भुक्तानी निकै लोकप्रिय बन्दै गइरहेको छ । Nepali In Japan