आखिर तिमी दिनभर गर्छौं के ?

जिवनशैली

कार्यथलोबाट फर्किएपछि श्रीमान् कराउँछन्, ‘खै, एक कप चिया बनाउ त ।’ श्रीमती हतार–हतार चिया बनाएर ल्याइदिन्छे ।

सोफामा ढल्किएर तात्तातो चियाको चुस्की लिदै गर्दा श्रीमान् सोध्छन्, ‘मेरो मोबाइलको चार्जर खोजेर चार्जमा राखिदेउ ।’ कुनै आज्ञाकारी बालक झै श्रीमतीले त्यसै गर्छिन् ।

त्यसपछि उनी बालबच्चाका लागि नास्ता बनाउन थाल्छिन् । श्रीमान् भन्छन्, ‘ए, टिभीको रिमोट कहाँ राख्यौं, एकछिन समाचार हेर्नुप¥यो ।’

श्रीमती जुठो भाँडार्वतन उठाइरहेकी छिन् । उनले श्रीमान्को कुरा सुनेर पनि नसुने झै गर्छिन् । श्रीमान कराउँछ, ‘टिभीको रिमोट कहाँ छ भनेको ?’श्रीमती झर्को मान्दै भन्छे, ‘आफै खोज्नुहोस्, म भ्याउँदिन ।’

श्रीमान् अरु चर्को स्वरमा कराउँछ, ‘तिमीले काम चाहि के ग¥यौं ?’ श्रीमानलाई लाग्छ घर–व्यवहारको सम्पूर्ण भार आफुले बोकिएको छ । घर भाडा, खानेकुरा, बालबालिकाको विद्यालय शुल्क, लुगाफाटो, बिजुली–पानीको शुल्क, चाडपर्व–मनोरञ्जन खर्च सबै आफैले बन्दोबस्ती गर्नुपरेको छ । उनलाई झोंक चल्छ, ‘घरमा बस्ने श्रीमतीसँग मेरो लागि त्यती सानो काम गर्ने फुर्सद पनि हुँदैन ?’

हाम्रो पारिवारिक संरचनामा धेरैजसो श्रीमती, आमा वा दिदीबहिनीले घरधन्दाको काम सम्हाल्छन् । खासगरी भात–भान्साको सम्पूर्ण जिम्मेवारी श्रीमतीको भागमा छाडिन्छ । अर्थात उनीहरु ‘गृहणी’ हुन्छन् । हुन त श्रीमतीलाई अपहेलना गरेर यस्तो जिम्मेवारी सुम्पिएको हुँदैन । खासमा महिलाहरु नै खानपानको काममा, घर सजावटको काममा, बालबच्चा हुर्काउने काममा पोख्त र सिपालु हुन्छन् । त्यसैले घर–धन्दाको काम उनीहरुलाई सुम्पिएर घर–व्यवहारको काम पुरुषहरुले सम्हाल्ने गर्छन् । वास्तवमा यो पारिवारिक तालमेल मिलाउनकै लागि गरिएको कामको बाँडफाँड हो ।

त्यसो त कतिपय दम्पती दुबै पेशा–व्यवसायमा आवद्ध छन् र उनीहरु घरभित्रको काम पनि मिलिजुली गर्छन् । आखिर जे भएपनि पारिवारिक तालमेल मिलाउनका लागि श्रीमान र श्रीमतीले आ–आफ्नो जिम्मेवारी, कर्तव्य पुरा गर्नैप¥यो ।

धेरैजसो अवस्थामा के देखिन्छ भने श्रीमानहरु घर बाहिरको काम गर्छन् । पेशा–व्यवसायबाट राम्रै आयआर्जन गर्छन् । परिवारकै सुख र सम्पन्नताका लागि उनीहरु दिनरात खटिन्छन् । यद्यपि उनीहरु के सोच्छन् भने, परिवारको सम्पूर्ण भार आफुले मात्र थामिएको छ । अर्थात घरखर्च जुटाउने, घर व्यवहार धान्ने र आयआर्जनको काममा लाग्नु मात्र काम हो ।

जबकी घरभित्रका ति तमाम काम गर्नु आफैमा सहज हुँदैन । परिवारको स्वाद अनुसार सागसब्जी तयार गर्नु, खाना पकाउनु, बालबच्चालाई र परिवारलाई ख्वाउनु, जुठोभाँडार्तन सफा गर्नु, कुचो लगाउनु, लुगाफाटो मिलाउनु, बालबच्चालाई विद्यालयका लागि तयार गर्नु, श्रीमानको सरसामन तयार गरिदिनु । खासमा गृहणीले यान्त्र छै यी सबै काम चुपचाप–चुपचाप गरिरहेका हुन्छन् । तर, श्रीमान् भन्छन्, ‘खाखिर तिमी दिनभर के गर्छौं ?’

जसै लकडाउन भयो, श्रीमानहरुको कामधन्दा ठप्प भयो । उनीहरु घरभित्रै बसे । बालबच्चा, श्रीमान्–श्रीमती सबै एकसाथ बसे । यस अवधीमा कतिपय श्रीमानले त्यही काम गरे, जो अरुबेला श्रीमतीले गर्थिन् । संभवत उनीहरुले बुझे होलान्, घरधन्दाको काम सम्हाल्नु पनि सानो काम होइन ।

एउटी गृहणीले घरधन्दाको काम कति कुशलतापूर्वक सम्हाल्छिन् ? परिवारको स्वास्थ्य र सुखका खातिर कसरी आफुलाई भुल्छिन् ? भात पकाउनु, भाँडावर्तन माझ्नु, कुचो लगाउनु, लुगा धुनु अनुत्पादक झै लाग्ने यी काम चुपचाप-चुपचाप कसरी पुरा गर्छिन् ?

एउटी गृहणीको दैनिकी कस्तो हुन्छ ?

बिहानआफु फ्रेस हुन नपाई हतार–हतार चिया पकाउने । छोराछोरीका लागि नास्ता बनाइदिने । विद्यालयको लुगाफाटो तयार गरिदिनुप¥यो ।चिया पिउँदै सब्जी केलाउने, काट्ने । खाना पकाउनुप¥यो । सबैलाई खाना पस्कने, ख्वाउने । छोराछोरीलाई स्कुलसम्म पु¥याउने ।

दिउसोघरमा जुठोभाँडा माझ्न बाँकी नै छ । घरभरी फोहोर छ । ओछ्यान मिलाएकै छैन । सबै सफासुग्घर गर्दागर्दै समय बितेको पत्तो हुन्न । मैला लुगा धुनु पर्नेछ । साँझको लागि सागसब्जी जोहो गर्नुपर्नेछ । कामबाट फुर्सद मिलेमा फूल रोप्ने, स्यहार्ने वा घर सजाउन मन लाग्छ ।

साँझबालबच्चा विद्यालयबाट आइपुग्छन् । लुगाफाटो फेरिदिनुपर्छ । नास्ता बनाइदिनुप¥यो । होमवर्क गराउनुप¥यो । त्यसपछि बेलुकीको लागि खाना तयार गर्ने हतारो ।

रातीसबैलाई खाना दिएर जुठो भाँडावर्तन सफा ग¥यो । कुचो लगायो । ओछ्यान मिलाइदियो । बालबच्चालाई सुतायो । त्यसपछि पनि कहाँ ढुक्कले बस्न पाउँछन् ?

झ्याल–ढोका राम्ररी लगाएको छ-छैन ? खानेकुराहरु छोपछाप गरेको छ-छैन ? धोएर सुकाएको लुगाफोटो बाहिर नै पो छ कि ?

सुत्ने समय भइसक्दा पनि कुनै काम पो बाँकी छ कि भनेर मन शान्त हुँदैन । घरभित्रका स–सना काम देखिदैन । तर, त्यही काम कुशलतापूर्वक सम्पन्न गर्न त्यती सहज छैन । बिहान उठेदेखि राती सुत्ने बेलासम्म पनि घरधन्दाको काम सकिएकै हुँदैन ।

तै पनि श्रीमान् भन्छन्, ‘तिमी काम चाहिँ के गर्छौं ?’साथीसंगी भन्छन्, ‘घरमै बस्ने मात्र हो, अरु काम गर्दैनौं ?’आफन्त-इष्टमित्र भन्छन्, ‘घरमा बसिरहँदा दिक्क लाग्दैन, केही काम गर्नु नि ।’