भदौ १ देखि अन्तराष्ट्रिय हवाई उडान खूला गर्न प्रस्ताव

काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले भदौ १ गतेदेखि अन्तराष्ट्रिय हवाई उडान खूला गर्ने प्रस्ताव मन्त्रालयमा पठाएको जनाएको छ ।

विश्वव्यापी महामारीको कारण बन्द भएको आन्तरिक तथा अन्तराष्ट्रिय उडान खुलाउने सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले छलफल गरि आन्तरिक उडान साउन तेश्रो सातादेखि खुलाउने र त्यसको एकसातापछि अर्थात भदौ १ गतेदेखि अन्तराष्ट्रिय उडान खूला गर्ने प्रस्ताव निर्णयको लागि पठाइएको मन्त्रालयका सह प्रवक्ता राजन पौडेलले बताएका छन् ।

पौडेलले कोरोना महामारीलाई मध्येनजर गरि आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडानको लागि सुरक्षा सतर्कताको समेत तयारी थालिएको जानकारी दिए । उनले हवाईजहाज सेनिटाइज गर्नेदेखि सामाजिक दुरी र यात्रुको स्वास्थ्य सुरक्षालाई समेत ध्यान दिएर प्रोटोकल तयार पारि उडान सुरु गरिने तयारी गरिएको छ ।

यस अघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक उडान खोल्ने तयारी थालिएको र त्यसपछि अगस्त दोस्रो सातादेखि अन्तर्राष्ट्रिय उडान पनि खोल्ने तयारी भएको जानकारी दिएका थिए ।

हाल कोभिड–१९ को जोखिम न्युनिकरण गरी सुरक्षित हवाई सेवा सञ्चालनसम्बन्धी प्रोटोकल तयार गरि स्वीकृत भइसकेको अवस्था छ । त्यसैको आधारमा उडान सुचारु गरिने तयारी छ ।