५ बर्ष कोरिया बसेर फर्किएका झापाका एक यूवकले ७० लाख लगानीमा खोले डायमन्ड स्टिल उधोग !

सिओल

झापाको कनकाई नगरपालिका–१ स्थित जामुनबारीमा जिल्लामै पहिलो काँटी उद्योग स्थापना भएको छ।

कनकाई–२ का ३७ वर्र्षीय दीपक चापागाईंले ७० लाख लागतमा ‘डायमण्ड स्टील उद्योग’ स्थापना गरी काँटी उत्पादन शुरु गरेका छन । दक्षिण कोरियामा आधा दशक परिश्रम गरेर फर्किएका चापागाईंले स्वदेशमै उद्योग फष्टाउने सम्भावना देखेर यो प्रयास गरेको बताए।

“कोरियामा पाँच वर्ष काम गरेँ”, उनले भने, “त्यहाँ कमाएको रकमले स्वदेशमै आत्मनिर्भर बन्ने सोचका साथ उद्योग स्थापना गरेको हुँ।” उक्त उद्योगबाट पहिलो चरणमा काँटी उत्पादन शुरु गरिएको छ । चालू आर्थिक वर्षभित्र नटबोल्ट, स्टील दराजलगायत छ प्रकारका सामग्री उत्पादन गर्ने उनको लक्ष्य छ।

उद्योगमा हाल १४ लाखमा दुई वटा काँटी बनाउने उपकरण र चार लाखमा एउटा काँटी पोलिस गर्ने उपकरण राखिएको छ। उद्योगबाट दैनिक १५ सयदेखि दुई हजार केजीसम्म काँटी उत्पादन हुँदै आएको चापागाईंले बताए। उद्योगबाट उत्पादित काँटी ९६ प्रति केजीमा बिक्री हुने गरेको छ । उत्पादित सामग्री मेची अञ्चलभरिका बजारमा बिक्री गरिने जनाइएको छ।

चापागाईंले भने, “मैले कोरियाको पानीजहाज बनाउने कम्पनीमा फलामसम्बन्धी काम गरेँ, त्यहाँ सिकेको सीप अहिले स्वदेशमा प्रयोग गर्दैछु ।” उद्योग स्थापना गर्नुपूर्व भारतको कलकत्तामा कच्चा पदार्थ तथा समबन्धित उपकरणबारे जानकारी लिएको उनले बताए।

कोरिया छँदा आफूले मासिक तीन लाखसम्म कमाइ गर्ने गरेको बताउँदै उनले भने, “स्वदेश आएपछि पुनः एक पटक जाने सोच बनाएँ, भिसा पनि लाग्यो तर अब स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच आयो।” मेहनत गरे स्वदेशमै राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ। उद्योगमा हाल चार जनाले रोजगारीसमेत पाएका छन।

स्नातकसम्मको अध्ययन पूरा गरेका चापागाईंले वैदेशिक रोजगार पूँजी निर्माणका लागि गतिलो माध्यम बने पनि दीर्घकालीन विकल्प नभएकाले त्यहाँ कमाएको रकमले स्वदेशमा आत्मनिर्भर बन्नका लागि लगानी गर्न सकिने बताए।

उद्योगलाई विस्तार गर्ने योजनामा रहेका चापागाईंले केही युवासँगको साझेदारीमा हर्पिक, फिनेललगायत अन्य रासायनिक पदार्थ उत्पादन गर्ने उद्देश्यले मेचीनगर–७ मा ५२ कट्ठा जग्गासमेत खरीद गरिसकेको बताए।