‘कोरियामा तीन जना नेपाली मिलेर दिनमा एक लाख इँटा बनाइन्थ्यो’

लहराका जस्ता यो जिन्दगीमा टेका छैनन्
यहाँ बाँचेकाहरु पनि लाग्छ, बाँचेका छैनन् ।

जीवनले कहिलेकाहीँ जीवन जगतको बारेमा गजल कोर्नुहुन्छ । धेरै पढ्ने रहर थियो मनमा । कक्षा १२ को परीक्षामा राम्रै अंकका साथ उत्तिर्ण भएपछि स्नातक यहीँ पढेर देशमै जागिर गर्ने सोच्नुभएको थियो । तर पढ्ने रहर एकातिर काँधमाथिको जिम्मेवारी अर्कोतिर । नवलपरासीका जीवन भण्डारीले पढाइलाई ‘ब्रेक’ लगाएर परदेशको बाटो रोज्नुपर्यो ।

ओठमा राम्रोसँग जुँगाको रेखी बसेको थिएन । १२ कक्षा सकाएर घरमै रहँदाकाे खाली समय । एकदिन जीवनका बुवाले भन्नुभयो, ‘ल छोरा अब कोरियाको तयारी गर् ।’

बुवाले यसो भन्नुमा आफ्नो पारिवारिक आर्थिक अवस्था कारक थियो जस्तो लाग्छ जीवनलाई । ‘हामी निम्न मध्यम वर्गको थियौं, कमाउने स्रोत केही नभएपछि बुवाले मलाई पनि विदेश जान सल्लाह दिएको हुनुपर्छ’, जीवन भन्नुहुन्छ, ‘त्योबेला मलाई विदेश जान मनै थिएन, यहीँ पढौं, नेपालमै काम गरौं भन्ने सोच थियो ।’

भन्छन् नि, मान्छे परिस्थितिको दास हुन्छ । जीवनको भोगाइ पनि त्यस्तै रह्यो । पारिवारिक बाध्यताले, परिस्थितिले पढाइ भन्दा पैसा कमाउनुपर्छ भन्ने बनाइदियो । उहाँले बुवाको आग्रहलाई स्वीकार्नुभयो । कोरियन भाषा सिक्न स्याङ्जाकाे वालिङ जानुभयो ।

आजभन्दा ७ वर्ष पहिले । त्यतिबेला उहाँको उमेर १८ वर्ष पनि पुगेको थिएन । कोरिया भाषा परीक्षा दिनको लागि १८ वर्ष चाहिन्थ्यो । उहाँले अहिले पढ्दै गरौं भाषा परीक्षा दिनसम्म १८ वर्ष पुगिहाल्ला नि सोचेर पढाइ गर्न थाल्नुभयो । जीवनका काका पनि १५ वर्ष कोरिया बसेर आउनुभएको थियो । नेपालमै कोरियन भाषा कक्षा सञ्चालन गर्नुहुन्थ्यो । यो कुराले पनि जीवनलाई कोरियन भाषा सिक्न हौसला मिल्यो । पहिलेदेखि नै कोरियन भाषा सिक्दै आउनुभएको जीवनका दाइ भाषा परीक्षा उत्तिर्ण गरेर कोरिया जानुभयो । त्यसको केही समयपछि जीवनले पनि भाषा परीक्षा उत्तिर्ण गर्नुभयो । २० वर्षकै उमेरमा उहाँ पनि कोरिया जानुभयो ।

कोरियामा

जीवन कोरियामा इँटा बनाउने कम्पनीमा जानुभयो । कम्पनी ठूलो भने होइन । पाँच जना कामदार थिए । बिस्तारै काम सिक्नुभयो । यताबाट भाषा सिकेरै गएको भए पनि सुरुसुरुमा उनीहरुको लवजमा भाषा बुझ्न गाह्रो हुन्छ । इसाराले पनि कामको बारेमा बुझ्दै जानुभयो । त्यही कम्पनीमा अरु पनि नेपाली श्रमिक थिए । सबै मिलेर दिनमा लाखौँ इँटा तयार गर्नुपर्थ्याे ।

‘कोरियनहरु इँटा डेलिभरीमा जान्थे । हामीहरुले इँटा बनाउने काम गर्नुपर्थ्याे ’, जीवन भन्नुहुन्छ, ‘तीन जना नेपाली मिलेर दिनमा एक लाख इँटा बनाइन्थ्यो ।’

परदेशको बसाइ । मेहनतको काम । साहित्यिक सोचले जीवनका डायरीका पानामा अक्षर भने कोरिन छाडेनन् । कोरियामै छँदा उहाँले संगीत पनि सिक्नुभयो । गीत लेख्नुभयो । गजल लेख्नुभयो ।

लहराकाजस्ता यो जिन्दगीमा टेका छैनन्
यहाँ बाँचेकाहरु पनि लाग्छ बाँचेका छैनन् ।
त्यो छोरा गएको बाटो मधुरो देखिन लाग्यो
बाटो हेरेकी आमाका आँखा थाकेका छैनन् ।
प्रेम गर्नेले ज्यान दिन्छु त भनिरहेका थिए
ज्यान आफैँले राखे वचन राखेका छैनन् ।

सुरुमा कोरिया जाँदा जीवनको तलब झण्डै नेपाली एक लाख रुपैयाँ जति थियो । फर्किने बेला साढे दुई लाख रुपैयाँसम्म पुगिसकेको थियो । तलब बढी भए पनि त्यहाँ श्रमिकहरुले आत्महत्या गर्ने घटना बढ्दै गएका छन् । यसबारेमा जीवन भन्नुहुन्छ, ‘विदेशमा मानिस ‘मोनोटोनस’ हुँदो रहेछ । परिवारमा केही घटना घट्यो भने तनाव हुने रहेछ । त्यसैले पनि आत्महत्याका घटना बढेका हुन कि ?’

घर नछोडेर जानेहरुलाई सुरु सुरुमा ‘होम सिकनेस’ले सताउँछ । त्यस्तोबेला गीत सङ्गीतले मन हलुका बनाउने उहाँको भनाइ छ ।

‘नेपालमा हुँदा त साथीभाइसँग कुरा साँटेर तनावलाई भुलाउन सकिन्थ्यो तर त्यहाँ त्यस्तो हुँदैन’, उहाँ भन्नुहुन्छ, ‘दिनको दश घण्टा काम गर्नुपर्थ्याे । बाँकी समय लेखन र सङ्गीत गरिन्थ्यो ।’

सङ्गीतको भोक

जीवन पढाइमा अब्बल हुनुहुन्थ्यो । १२ कक्षा प्रथम श्रेणीमा उत्तिर्ण गर्नुभएका उहाँले कोरिया जानुभन्दा पहिले स्नातक प्रथम वर्ष पनि क्याम्पस नगएरै राम्रै नम्बर ल्याएर कटाउनुभयो । तर कोरिया गएपछि भने उहाँको स्नातक सकाउने सोच रोकियो । कम्पनीबाट बिदा मिलेन । उतै बसेर परीक्षा दिन्छु भन्दा हाम्रो देशको शिक्षा प्रणाली बाधक बनिदियो ।

‘उतैबाट परीक्षा दिएर नि स्नातक त सकाउँछु सोचेको थिएँ तर त्यस्तो मिल्दैन रहेछ’, उहाँ भन्नुहुन्छ, ‘मैले कति आग्रह गर्दा पनि क्याम्पसले मानेन ।’

अहिले पनि उहाँ स्नातक गर्नुपर्छ भनेर कम्मर कसेर लाग्नुभएको छ । सङ्गीत विषय लिएर उहाँ स्नातक गरिरहनुभएको छ । कोरियाबाट आएपछि उहाँ सङ्गीत सिक्नकै लागि भनेर काठमाण्डौमा बस्दै आउनुभएको छ ।

‘कोरिया फर्किने भनेर आएको थिएँ, यहाँ आइसकेपछि सङ्गीत सिकेरै जाउँ भन्ने लाग्यो’, उहाँले हाँस्दै भन्नुभयो ।

गीत, संगीत, साहित्य एकअर्काका पुरक जस्तै हुन् । जीवनले आफ्नै गजल संग्रह ‘राहत’ प्रकाशन गर्नुभएको छ । जीवन जति साहित्यमा रुचि राख्नुहुन्छ त्योभन्दा बढी गीतसंगीतमा राख्नुहुन्छ । उहाँले आफ्नै शब्द संगीतमा एकदर्जन बढी गीतहरु सिर्जना गरिसक्नुभएको छ ।

‘एकपटक फेरि कोरिया पुग्नु छ’

परदेश गएकोमा जीवनलाई कुनै पछुतो छैन । धेरै कुरा परदेशले सिकायो । अझै सिक्न बाँकी र गर्न बाँकी धेरै कुरा छन् । जुन् केही परदेशमा छँदै पूरा भए, केही नेपालमै आएर पूरा गर्ने सोच छ ।

जीवनले कोरिया गएर पैसा कमाउनुभयो । धेरै कुरा सिक्नुभयो । जीवनजगतको बारेमा बुझ्नुभयो । त्यहाँबाट कमाएको पैसालाई उहाँले विभिन्न उत्पादनमूलक क्षेत्रमा लगाउनुभएको छ । सञ्चालनको जिम्मा भाइलाई दिएर केक पसल खोल्नुभएको छ । यस्तै, बुवाको लागि भनेर उहाँले सानाे ग्रिल उद्याेग पनि खोलिदिनुभएको छ । यस्तै भाइहरुलाई टर्की र मौरीपालनमा लगाउनुभएको छ । विदेश गएर सानै उमेरमा कमाएर ल्याउनुभएको पैसाले परिवारका सबैजनालाई उद्यमी बनाउनुभएको छ ।

‘मैले उहाँबाट कमाएर ल्याएको सबै पैसा व्यापारमा लगाएको छु’, उहाँ खुसीका साथ भन्नुहुन्छ, ‘सबैजना कमाउने भएपछि अहिले म ढुक्क भएर घुमिरहेको छु ।’

उसो त जीवनलाई आफू पनि नेपालमै बसेर उद्यममा लागौँ भन्ने लाग्छ । तर एक मनले भन्छ, अन्तिमपटक पुगेरै आउनुपर्छ ।

‘साहुले पनि कहिले आउँछौ भनेर सोधिरहेको हुन्छन्, तर नगए नि चल्छ जस्तो लाग्छ’, जीवन फेरि भन्नुहुन्छ, ‘एक पटक त जाने सोचेको छ तर अब लामो समय भने बस्ने होइन ।’

काेरिया र नेपाल दुवै देशका सडकमा हिँड्नुभएका जीवनलाई लाग्छ, कोरियाको सडकमा चल्ने मान्छे बढी अनुशासित छन् । त्यहाँका नागरिकमा भएको इमान, अनुशासन र जिम्मेवारीपनका कारण कोरियाले कम समयमा धेरै विकास गरेको हो ।

‘त्यहाँका हरेक मानिसमा जिम्मेवारी छ । सडकमा कुनै गाडी आएको छैन तर सिग्नल हेरेर बसेको हुन्छन्’, उहाँ भन्नुहुन्छ, ‘नेपालमा भएको भएर रुट हापेर जान्थ्यो होला ।’

जिवन भन्डारी