कोरियामा एक यूवाले काम खोज्दा भोग्नुपरेको वास्तविक पि’डा !

विमल सिटौला

काजिको ठूलो आवाजमा तेब्बर चौब्बरसम्म एउटै शब्दको चिच्याहटले हामी बस्ने सानो कोठा गुञ्जयमान भयो । यसकारण म मध्यरात अचानक ब्युँझिएँ । मध्यरात भएकाले त्यसलाई व्यवस्था गरी सुत्ने प्रयास गरेँ तर धेरै कुराहरू मनमा खेल्न थाले ।

सायद ऊ सपनामा बौरिएको होला, सपनामा कहिलेकाहीँ जो कोही बहुरिन्छन् भनेर नसुनेको पनि होइन तर उसले पहिलोचोटि यति ठूलो आवाजमा त्यसमाथि रुन्चे स्वरमा ‘सक्दिनँ, सक्दिनँ’ भनेको सुन्दा उसलाई जबरजस्ती कसैले केही लादिरहेछ भन्ने लाग्यो र लम्पसार परेको जीउलाई उठेर नियालेँ तर ऊ मस्त निद्रामा थियो । ‘स्वाँ…स्वाँ..’ गर्दै चिर निद्रामा देखेपछि फेरि म यथास्थानमा फर्केर सुतेँ । मनमा सपनासम्बन्धी अनेक तर्क र वितर्क आइरह्यो तर पनि दिनभरीको कामको थकान र बिहानको स्वर्णिम दिनको कल्पना गर्दागर्दै चकमन्न र सुनसान रातसँगै म निदाएँ ।

किरिङरिङ्-किरिङरिङ् घडीको घण्टीले बिहान सात बजे ब्युँझायो । आठ बज्नु अगावै काममा पुग्नुपर्ने भएकाले बिहान हामी भ्याएसम्म खाजा खान्थ्यौँ । हरेक दिन घण्टीसँगै उठ्ने काजि त्यस दिन ब्युँझिए पनि लम्पसार परिरह्यो र काममा नजाने इच्छा जाएर गर्यो । मैले उसलाई प्रतिप्रश्न पनि गरिनँ किनकि ऊ मध्यरात त्यसरी चिच्याएको थियो जुन चिच्याहट मनमा ताजै थियो । कम्पनी कोठादेखि केही पर भएकाले केही मिनेट अघि नै कोठाबाट निस्कनु पर्थ्यो ।

काजिबिना एक्लै काममा जानुपर्दा खल्लो र नरमाइलो त लाग्यो नै, भित्रभित्र डर पनि लागिरह्यो । बिडम्बना यो थियो कि म नजानुको विकल्प नै थिएन र अन्त्यमा, उसको मुखबाट केही सुन्ने आशाले नजिकै गएर पर्खालमा लिन भए । मलाई निष्प्रभ भई मायालु अनुहारले मतिर हेर्दै निन्याउरो स्वरमा भन्यो, ‘बिरामी भयो भनिदिनु।’ झनक्क रिसाईहाल्ने कोरियन स्वभावको हेक्का राख्दै म सधैँझैँ मिर्मिरे घामसँगै सरासर कम्पनीतिर हानिएँ । अफिस टाएम भएकाले बाहिर मानिसहरू काममा पुग्न हतारिएका देखिन्थे । अत: म पनि हतासमै कम्पनी पुगेँ र काजि नआएको जानकारी गराई सिधै पोसाक फेरि काम शुरु गरे ।

हामीले गर्ने कामसँगै भएकाले मलाई उसको अभाव भरदिन बारम्वार खड्किरह्यो । काममा बोल्ने समय नभए पनि घरीघरी आँखाले बातमारी आफूलाई एक्लो महसुसको लहरबाट टाढैँ राख्थ्यौँ । काम जोखिपूर्ण र खतरापूर्ण भएकाले सुरक्षासम्बन्धी सम्पूर्ण कसरहरू बाँकि नराखि काम गर्थौँ । यति काम गर्दागर्दै पनि कोरियनहरूको तल्लो स्तरको गाली गलौज भने सहिनसक्नु हुन्थ्यो । तर पनि केही पाउँनका लागि केही गुमाउनु पर्छ भन्ने मान्यताले मनलाई थुमथुम्याई असह्य पीडाका बाबजुद पनि आधा वर्ष कटिसकेको थियो । इ.पि.यस. मार्फत ऊ र म नेपालबाट छ महिनाअघि दक्षिण कोरिया टेकेका थियौँ । यति मात्र होइन, हामीसँगै बस्ने र सँगै जाने योजना बुनिसकेका थियौँ ।

ऊ धेरैजसो घरको यादले बारम्बार सताइरहेको कुरा बडो दु:खका साथ पोखिरह्थ्यो । दुलहीलाई घर भित्र्याएको एक महिनामै धन कमाउन परदेश आउँदाको तीतो यथार्थले घोचिरहेको र आफू घरको जेठोबाठो भएको र सबै भाइबहिनीको भविष्यको चाबि आफैसँग भएको कुरा सुनाईरहन्थ्यो । पछिल्लो समयमा निराश र तनाब भएतापनि साथीभाईको हौसला र सल्लाहले कन्ट्रयाक्ट अवधिभर काम गर्ने बताउँथ्यो । कहिले तेह्र कहिले चौध, त कजल पन्ध्र घण्टा नबिराई काम गर्दा एकातिर गलान र थकान त थियो नै तर अर्कातिर काममा गरिने क्षुद्र व्यवहारले चिन्तित तुल्याइरह्थ्यो । काम छिटोछिटो नबिराई गरिरहनु पर्ने, सानो गल्तीमा पनि गरुडले सर्प छोपेझैँ छोप्ने, झनक्क रिसाई हाल्ने, प्रत्येक दिन अपशब्दले पाँडे गाली गर्ने आदि कुराहरूले मनलाई एक किसिमले तहसनहस नै बनाइसकेको थियो । साँझमा कम्पनीबाट निस्कँदा निथ्रुक्क पानीमा भिजेर निस्किएको जस्तै भान हुन्थ्यो ।

त्यसदिन, मैले एकातिर काजिका बारेमा सोचिरहेँ । उसको हाउभाउ, उसको बोलाई, उसको सुस्तता, उसको हिनता, जीर्णता इत्यादी । अर्कातिर कोरियनहरूको हेपाई, हप्काई, दलाई र लदाई आदि । फलाम कम्पनी भएकाले बिहानदेखि अबेरसम्मै फलामसँगै खेल्नुपर्थ्यो । आगोमा फलामका टुक्रा पोल्दै र फ्याँक्दै गर्दा शरीरको छालामा राता र अंगुर आकारका डोब देखिन्थे । बारम्बार निहुरिरहनु पर्ने भएकाले ढाड र कम्मरको थेरापी गर्न प्राय: हामी दुवै अस्पताल धाउँथ्यौँ । कोरिया आउँनुभन्दा पहिले नै विभिन्न रोगले थलिएर पछि फेरि रोगलाई जितेर कोरिया आएको थियो ।

अर्कातिर उसको आँखा र कान पनि सुस्तसुस्त हुँदै गएकाले उसको चमकतामा दिनप्रतिदिन ह्रास आउँदै थियो । तरपनि बाध्यता सम्झेर काम भने चाहिँ सकिनसकि गरिरहन्थ्यो । यहिताकामा हामी बीचमा कहिलेकाहीँ कम्पनी परिवर्तनसम्बन्धी सल्लाह पनि भयो । अपसोच् ! यससम्बन्धी सम्पूर्ण अधिकार साहुलाई दिएको हुनाले हाम्रो साहुबाट यो कुरा असम्भबप्राय: थियो । हक्कि र हिंस्रक देखिने साहु ठूलोबडो शैलीमा कहिलेकाहीँ आएर कम्पनी नियाल्ने गर्थ्यो । साहूको आगमन हुँदा हामीलाई अझ छिटोछिटो काम गर्न अह्राइरहन्थ्यो । कामदारका रुपमा केही चाइनिजहरू, हामी दुई नेपाली र बाँकि कोरियनहरू थिए । जोखिमपूर्ण काममा भने पछिल्लो समयमा आएका हामी दुई थियौँ ।
मैले काजिविनाको त्यो दिनको काम सिध्याउँन स्वदेश छाड्नु जस्तै गार्हो र नरमाइलो लाग्यो । तरपनि तोकिएको समयसम्म काम गरेपछि म सधैँझैँ ड्रेस फेरेर कार्ड चेकआउट गरी हतारोमा कोठा हानिएँ । शारीरिकरुपमा भन्दापनि मानसिक रुपमा गलेर थचक्क बसेको थिएँ । ‘पीडा त काजीलाई परेको हो तर म चै किन यति धेरै थकित छु हँ !’

‘आऊ आऊ’- ढोका खोल्नसाथ हर्षित मुद्रामा स्वागतिलो आवाज आयो । मैले जुत्ता नखोली सुरुमै काजीलाई हेरेँ । खुसीतुल्य मुद्रामा काजी भुइँमा थचक्क बसेको थियो । सायद उसले मलाई नै पर्खिरहेको थियो । सुस्तरी ढोकाकै छेउमा बसि जुत्ता खोल्न शुरु गर्न मात्र के लागेको थियो, कोठा चुरोटको धुवाँले भरिभराउ रहेछ, तातो हावाले बेलुन भरिएझैँ । कहिल्यै एक सर्को चुरोट नतान्ने काजीले फ्वाङ् फ्वाङ्ती चुरोट उडाइरहेको थियो । नियालेर नजिक गएर हेरेँ छेउमा सोजुका तीन वटा बोतल त्यसमा एक पूरा, दुई खालि र एक बट्टा मालबोर रेड । मैले काजीसँग केही बोल्ने आँट गरिनँ किनकि काजी सेर भएको थियो । रक्सीले उसलाई जितिसकेकाले रक्सी हाबी भएर काजि, काजि जस्तो देखिदैन्थ्यो । जमिनको चिसो हावा तातिएर माथिमाथि आकाशमा उडेझैँ गरी ऊ भावनामा बहकिरहेको थियो । काममा कोरियनहरूबाट हेपिनुको पीडा एकपछि अर्को निकाल्दै कहिले भावुकतामा पुग्थ्यो त कहिले खित्खित् गर्दै अट्टहासमा । मैले उसको तत्कालिन ध्यानलाई अर्कैतिर मोड्ने प्रयास गरेँ र केही समयपश्चात् सोधेँ ।

‘आज के गर्यौ ? अस्पताल गयौ ?’उसले सुस्तरी लरबराउँदै भन्यो, ‘कति जाने अस्पताल ? कति हान्ने कम्मरमा काडासरी सुई ? म थाकिसकेँ अब !’उसले फेरि थप्यो, ‘हातको उपचार गर्ने कि! आँखाको उपचार गर्ने कि! कानको उपचार गर्ने की! कम्मरको उपचार गर्ने !?’
उसले घुमाउरो शैलीमा उत्तर दिँदै नजिकै रहेको बोतल तानि नयाँ कपमा सोजु फटाफट खन्यायो र मेरो हातमा थमायो । कामबाट आएर जुत्ता मात्र खोलेर बसेको छु, बस्नासाथ कसरी रक्सी पिउँ ! तर, आजसम्म उसले भनेका सबै कुराहरू बिना हिचकिचाहट स्वीकार गरेको म जाबो एक कप सोजुलाई कसरी इन्कार गरुँ त ? त्यसमाथि फेरि हातैमा थमाइदिएको । उसको चियर्ससँगै घुट्का लगाएँ । ऊ झन्झन् मदहोश हुँदै गहिराईतिर गइरहेको थियो भने म चाहिँ उसलाई त्यो भासबाट निकाल्न तल्लिनमा भएता पनि मेरो असफल प्रयास भने जारी रहिरह्यो ।

‘जुन योजना र सपना बोकेर युवा बिदेसिन्छ, त्यो त कहाँ हुँदोरहेछ र ? उमेरमा त इश्वरले यस्तो बेहाल बनाइदिन्छन् भनेपछि पछि त के गर्लान खै । केही गरेर जिउँछु भन्नेलाई त गर्न देऊ भगवान ! हामी कोरिया धन कमाउन आएको हो न कि रोग कमाएर जान । पौरख गर्दा गर्दै पनि किन यस्तो हुन्छ जीवनमा ? तर मैले हारेको भने छैन र हार्ने पनि छैन । हामी इमान्दारपूर्वक आफ्नो ड्यूटी निभाउँछौँ तर हमेशा झुक्दैनौँ । यो रगत, यो इमान, जमान र शरीर सबैको उस्तै हैन र ? फलामले बनेको मन त सायद कसैको हुन्न होला नि ? कि कोरियनहरूको हुन्छ ? हुन्छ भने अर्कै कुरा हो तर मलाई किन काममा जबरजस्ती गरिन्छ जुन मलाई स्वीकार्य छैन । स्वीकार्य छँदै छैन । आजसम्म जन्मदिने आमा बाबुबाट त एक अपशब्द नसुनेको मैले पलपलमा कसरी ‘सेक्या’, खे सैक्या’ र ‘शिबाल’ सहन गर्ने ! यो असैह्य छ । असैह्य छ । शरीरको थकान र पीडा त म सहन गर्न सकौँला र गरेकै पनि छु तर यो निच र हिन व्यवहार कदापि सहन सक्दिनँ ।’

उसले यति भनेपछि म पनि केहि सोच्न बाध्य भएँ । कोरियनहरू झट्की स्वभावका हुन्छन् र आफूले पनि हजारौँ नराम्रा शब्दहरूले झटारो खाई बानी परिसकेको सम्झिएँ । वास्तवमा, कोरियनहरूको स्वभाव छिटो रिसाइ हाल्ने र छिट्टै हाँसि हाल्ने पनि नसुनेको होइन । तर ती रिसाएका कोरियनहरू कहिल्यै पनि हामीप्रति हाँसेनन् । लगातार रिसाई मात्र रहे । भाषिक कठिनाईले गर्दा हाम्रो कम्पनीसँग दोहोरो कुराकानी हुन पाएन । यस्तै यस्तै अनेकौँ कारणले हाम्रो कम्पनीसँग राम्रो सम्बन्ध बन्न सकेन । अति विकट ठाउँमा रहेको हाम्रो कम्पनी वरपर न त कुनै नेपाली भेटियो, न त पीडालाई बुझिदिने कुनै मान्छे वा निकाय । आएदेखि नै हामीलाई गधाकै रुपमा लिइयो । हामी पनि आफूलाई गधै सम्झेर लुरुलुरु भारी बोक्यौँ । फरक यति हो त्यो गधाले साँझमा साहूको माया पाउँथ्यो हामीले त्यो पाउँदैनथ्यौँ, मायाको अलावा गाली र गलौज ।

काजि भन्दै थियो, ‘उनीहरूले सोच्दा हुन् नेपालीहरू खान नपाएर विदेशिन्छन्, टन्न खान्छन्, कमाउछन् अनि जान्छन् । यिनीहरूलाई जस्तो व्यवहार गरे पनि हुन्छ, जति काममा पेलाए पनि हुन्छ, पारिश्रमिक मनपरी दिएपनि हुन्छ । हामी खानै नपाएर विदेशिएको त होइन नि यार, इमानले पौरख गरौँ र केही अझ कमाऊँ भनेर पो आएको त ।’
वास्तवमा उसले जे बोलिरहेको थियो, सतप्रतिशत मेरै मनको कुरा बोलेको थियो । म भित्रभित्रै उन्मादित र समर्थित भए पनि बाहिर भने उसलाई हौसिएर समर्थन गरिनँ किनकि उसलाई मैले बिस्तारै चुप बनाएर निदाउनु थियो । उसले मलाई फेरि कपमा सोजु खन्याइसकेको थियो । अन्तिम सट भन्दै दुबैले पिएर सधैं सुत्ने ओछयानमा पल्टियौँ र सधैँझैँ कुरा गर्दै निदाउन कसरत गर्यौँ ।

काजिले हरेक दिन निदाउने क्रममा फरक विषयवस्तुको बारेमा केही न केही कोट्याएकै हुन्थ्यो । यसरी कुरा गर्दागर्दै ऊ भने चैँ भुसुक्कै निदाइदिन्थ्यो । तर त्यस दिन उसले कम्पनी परिवर्तनसम्बन्धी कुरा फेरि निकाल्यो र कम्पनी छौड्नै पर्ने आवश्यकताको कुरा गर्यो । तर विडम्बना यो थियो कि कम्पनीको साहुसँग न त हामी राम्ररी परिचित थियौँ न त कहिल्यै वातचित गरेका । इ.पि.यस प्रणालीबाट आएका कामदारले विभिन्न अवस्था लगायत काम गार्हो भएको अवस्थामा तीन चोटिसम्म कम्पनी परिवर्तन गर्न सक्छ भन्ने सुनेका थियौँ । कुरा गर्ने आँट आजसम्म न त उसको थियो, न त मेरो नै । यहि योजना बुन्दा बुन्दै आजको दिनसम्म आएका थियौँ । हरेक दिन हामी त्यहि पुरानो योजनालाई नयाँ ढङ्गबाट सोच्ने गरे तापनि सम्बन्धित मानिससँग कुरा गर्ने साहसको कमीले हाम्रो मनलाई दिनप्रतिदिन कमजोर बनाइरहेको थियो । त्यस रात मनभरी यही कम्पनी परिवर्तनसम्बन्धी कुराको बतास चलाउँदा चलाउँदै समयले नेटो काट्न लागिसकेको रहेछ । काजि सधैँझैँ बोल्दा बोल्दै निदाइसकेको थियो र म पनि भोलिको काम सम्झिदा सम्झदै निदाउन पुगेछु ।

उसैगरी बिहान हामीलाई फोनको आल्रामले ब्युँझायो । ब्युझँनासाथ म भने काजि आज काममा जाने हो कि होइन भनेर सोचिरहेँ । काजी काममा नजाँदाको दिन सारै पट्यार र दिक्दार लाग्ने हुँदा आज त जसरी भए नि लाग्छु भनेर कस्सिएँ । तर मलाई काजीले कस्सिन बाध्य नबनाई झट्टै उठि बाथरुमतिर लागेको देख्दा मनभरि खुसी उम्लिएर आयो । कारण यो थियो कि म कम्पनीमा एक्लो महसुस नगरुँम । मिनेटमै काजीले कपडा लगाउँदै भन्यो, ‘आज भने चैँ कम्पनीमा कुरा गर्नु पर्यो । के प्रतिक्रिया आउँछ हेरुँ न त ।’ उसले उठ्नेसाथ गम्भीर भएर यसरी भनिरहदा दुबै संयमित भयौँ र हौसला बटुली मरिसकेको हाम्रो पुरानो गुरुयोजनालाई फेरि ब्युतायौँ अनि तम्तयार भई कोठाबाट निस्कियौँ । योजना त बनाईयो तर कुरा पो कसरी गर्ने ? को सित गर्न ? के भन्ने ? भन्ने बारेमा दुबै जना अनभिज्ञ थियौँ । पहिले पहिलेकै जस्तै हाम्रा योजनाहरू बन्दै र छोड्दै गरेझैँ त्यो योजना पनि त्यहि ड्याङमा जाने पक्कापक्की थियो । उसले धेरै चोटि ‘आज चै कम्पनीमा कुरा गर्नुपर्छ है…’ भनेकाले मलाई चैँ एकमनमा उप्रति कुनै पत्यार लागेको थिएन ।

तर पहिलेकोभन्दा झिनो आश भने चै पलाएकै थियो । त्यस दिन ऊ बतासझैँ अगाडि अगाडि चुपचाप हुइँकियो, म भने पछिपछि । जतिजति कम्पनी नजिक हुँदै आउँछ, उतिउति मेरो मनमा चिसो पस्दै गयो । अन्त्यमा, हामी गेटमा प्रवेश गर्न मात्र के लागेका थियौँ, उसले पहिलो चोटि फर्केर मलाई हेर्यो । मैले मुन्टोको ईसाराले अघि बढ्न संकेत गरेँ । ऊ अघि त बढ्यो तर त्यो गतिमा बढेन जसरी एकैछिन अघि बढेको थियो । बीचमा पुग्दा हामी अलमलमा पर्यौँ र मुखामुख गर्यौँ । उसको रिसाएको र निरासपनको मिश्रित अनुहार देखियो । यस्तै निरास मुद्रामा अघि बढ्दै सरासर खल्तीबाट कार्ड निकाल्यौँ र कार्ड चेक इन गर्यौँ । समय अलि ढिला भइसकेको रहेछ । ठिक समयमा भित्रैबाट एक आवाज हामीप्रति लक्षित गरेको सुनियो । हामी आफ्नो गतिलाई एक्कासी रोक्न बाध्य भयौँ र टक्क अडियौँ ।

‘अहिले कति बज्यो ?’ पहिलो आवाज सुनियो ।
‘काममा किन ढिला ?’ अर्को आवाज आयो ।
‘भोलिदेखि तीस मिनेट अगाडि आउँने, बुझ्यौँ कुकुरहरु ?’
हामीले बुझेपनि दुवैले टाउको चैँ हल्लाएनछौँ र यथास्थानमा फेरि पनि तीब्र आलोचित भइरह्यौ । काजि र म उठेदेखि नै आफ्नै योजनामा घोत्लिनाले समय चिप्लिएको पत्तै पाइएनछ । यता कोरियनसँग सम्बाद गरेको काममा बाहेक अरु ठाउँ नभएकाले हामीलाई केही बोलिहाल्न असजिलो महसुस भयो । काममा पनि अत्याचार भएपछि मात्र प्रतिउत्तर दिनाले धेरै चोटि हाम्रो होस् न हवास् भएको थियो । एकैछिन अघि हामी दुबै यान्त्रिक बनेर निस्केका एकैछिनमा चुपचाप परिरह्यौँ । डरले भित्रको खरी नै झर्लाझैँ भयो । समय ठिक उल्टो गतिमा दौडिरह्यो । बोल्नुको अलावा सिधा हेर्न नसकेर मुन्टो झुकाएकाले हाम्रो योजना थप पछि धकेलियो । त्यहाँ हामीलाई केहीछिन थमाएर गाली गरेपछि दोस्रो व्यक्तिले पठाउने आदेश दियो र दुबै मलिन अनुहार बोकेर दगुर्दै काममा लाग्यौँ । यस अवधिमा हामीलाई धेरै नराम्रा वाणहरू प्रहार गरियो । थोरै बुझियो धेरै बुझिएन तर बुझेका ती शब्दहरू सदियौँसम्म मनसपटलमा कुदिएर बसे र छत्रछाँया पाउँनसाथ झक्काइरहेँ । नियमित समयमा नआइपुग्नु हाम्रो गल्ती स्वीकार्दै हतारिदै काममा पुग्यौँ ।

पहिलो चरणमै हतोत्साहित र निराश भइसकेका हामीलाई काममा फेरि गाली खाने पक्का पक्कि नै थियो । हुन त हरेक दिन काममा गाली खाँदै र पचाउँदै गरेकाले त्यो गाली गौण नै लाग्थ्यो । तर त्यसदिन काममा आउँनुपूर्व तर्सिएकाले कसैको आवाज पनि ‘आगोमाथि तेल’ भनेझैँ भयो । नभन्दै फान्जाङनिम (बोसले ) परैबाट अपशब्द प्रहार गर्दै ढोकाको साँधमै उभ्यायो । बिनाकारण किचकिच गरिरहँनेले कुनै कारण पाउँदा त झन् उखरमाउलो भयो । हामी केही मिनेट ढिलो आउँदाको र काजी हिजो काममा नआउँदाको परिणाम आज दुवैले चाख्न बाध्य भयौँ । प्रतिउत्तरमा काजीले मुख फोर्यो र भन्यो ।

‘ढाड दुखेर आउँन सकिनँ, माफ गर्नुहोला फान्जाङनिम ।’
उसको उत्तर भुइँमा खस्न नपाउदै झन् मकै पट्किएझैँ पटट गालीका बर्षा बर्षाइरह्यो ।बुझे नबुझे पनि त्यो आवाज हाम्रा कानमा गुन्जिरह्यो र लगातारको गुन्ज्याइले एकाएक भित्रभित्रै उनीहरूप्रतिको धारणा नकरात्मक बन्न गयो । काजि रिसले आक्रामक भइसकेको थियो । उसको अनुहार हिजोको सराबले बिगारेजस्तै आज पनि बिग्रिसकेको देखिन्थ्यो । यता अरु कोरियनहरू भने मप्रति अनेक प्रश्नहरू तेर्साइरहन व्यस्त थिए । मैले पनि सकेजति उतर दिइरहेँ । अन्तत: ‘अब उपरान्त मिहिनेत गरैनौ भने नेपाल पठाउँने’ भन्दै काममा जाने आदेश पायौँ । हामी लाचार बनेर लुरुलुरु कामतिर लाग्यौँ ।

‘कस्तो भासमा फसिएछ राजै, न त निस्कन सकिन्छ न त उतै भासिन ।’ रातको दश बजेपछि ठिक कम्पनी गेटबाहिर निसक्ने बित्तिकै उसले निधारमा लपेटिएको पसिना पुछ्दै भन्यो । उसले फेरि थप्यो, ‘जाबो कामदारले एकदिन काम गर्न नसक्दा यस्तो पीडा दिने ? तीन सय पैसठ्ठि दिन काम गर्न, के हाम्रो शरीर मेसिन हो ? फेरि गल्ती स्वीकारी माफी त मागेकै थिएँ नि, किन यत्रो ताण्डब रच्नु पर्यो ? यस्तो पाराले कसरी कटाउने समय ! यहाँ त दिन कटाउनै पहाड फोरेभन्दा गार्हो हुनेभयो ।’
गलेर लखतरान भएता पनि उसको आवाजमा कुनै वजन घटेको थिएन । हामी सरासर कोठामा गयौँ र विभिन्न संघसंस्था वा व्यक्तिलाई फोन दबायौँ तर अबेर भएकाले कसैको फोन रिसिभ भएन । बिहान जुन उर्जा बोकेर गएका हामी रातमा ठिक विपरित भएर फर्कियौँ र त्यस दिन थकित मुद्रामै सुत्यौँ ।

मलाई गार्हो भयो म अस्पताल जान्छु’ ,हप्तादिन पछि काजिले काममै फान्जाङनिमसँग आग्रह गर्यो तर उसले अनुमति दिन ठाडै अस्वीकार गर्यो । बिहान उठेदेखि नै ढाड दुखेको कुरा गरिरहेको उसलाई जबर्जस्ती मैले नै काममा ल्याउन प्रेरित गरेको थिएँ । काजी साँच्चै नै ढाड दुखेर फत्फत् भएकाले काम गर्न सक्ने अवस्थामा थिएन । केहिछिन पछि ऊ काम गर्दागर्दै एक्कासि शरीर थेग्न नसकेर भुइँमै थचक्क बस्यो । काजीले बस्नुअघि धेरै बिन्ती बिसायो । सट्टामा उसले फान्जाङको फगत गाली बारम्बार खाइरह्यो । तर यतिले मात्र हुनेवाला थिएन, भएजति घिनलाग्दा शब्दहरूले काजीलाई घोचिरह्यो । मोबाइलमा ऊ बसेको तस्वीरहरू घुमीघुमी कोणकोणबाट कैद गर्यो । काजी बिस मिनेटसम्म डेग चलेन । फान्जाङ ऊदेखि अत्याधिक चिढिँयो ।

कसै गर्दा केही नलागेपछि उसले खुकुलो बेल्ट कस्यो र जब्बरजस्ती काममा हात बढायो । फान्जाङले उसलाई अर्कै डिपार्टतिर काम गर्न पुर्यायो जुन गरिरहेको कामभन्दा झन् गार्हो थियो । त्यस दिन चाहेर पनि मैले उसलाई केही गर्न सकिनँ र गर्ने कुराहरू पनि केही थिएन सायद । यस्तै यस्तै गर्दै महिना दिन बित्यो ।हरेक रात सपनामा काजि बोलेकै हुन्थ्यो र बोल्नु र बौराउँनु सामान्य लाग्थ्यो । एकरात त कोरियनसँग चर्चरी बाज्यो र कम्पनी छाडेर जाने भन्दै अनुमति पत्र माग्यो । गार्हो कामले रोग निम्त्याएको भन्दै विनम्र हुँदै एकोहोरो ढिपी गरिरह्यो । लगातार लिँढेढिपी गरेपछि मैले दाहिने पाखुरामा समाएर हल्लाई काजी काजी भनेँ । ऊ झसङ्ग हुँदै ब्युँझियो अनि एक चुरोट तानेर घोप्टो परेर फेरि सुत्यो । यही तनावले गर्दा दुबैको जिउ सुक्दै गयो । पर्याप्त निदाउन सकिएन । पर्याप्त खान सकिएन र दुवै अस्वस्थ भइयो । फलस्वरुप केहीदिन काममा जान सकिएन । यही अवधिमा अस्पताल धाइयो ।

साथीभाइहरूसँग कुराहरू साटासाट गरियो । कसैले कम्पनी छोड्नै नहुने त कसैले आजै छोडिहाल्न सुझाव दिए । दुतावासबाट पनि यस विषयमा केही गर्न नसकिने प्रतिक्रिया आयो ।कम्पनीमा काम गर्न फिटिक्कै मन नलाग्ने, यतिसम्म कि कम्पनी वरिपरि नै नबसौँ जस्तो भयो । तर यो दुवैको विकल्प भने अरु केही थिएन । जानै पर्थ्यो, गर्नै पर्थ्यो । हामीले सबै संघसंस्थामा आवद्द नेपालीभाषीलाई गुहारियो र सबैलाई गुनासो पोखियो । सबै अधिकार साहुको हुनाले हाम्रो केही नचल्ने भनेपछि झन् मनभित्र आगो दन्कियो । कोरियामा त्यत्रो संख्यामा नेपाली हुँदाहुँदै पनि हामीलाई एक्लो महसुस भयो । अन्य साथीभाई हुँदा पनि नभए जस्तो भयो । तर त्यो दिन फोन घुमाएका सबै ठाउँबाट साहुसँग एकचोटि कुरा गरिदिन अनुरोध गरियो । सायद बारम्बार हाम्रो विषयमा अफिसमा कलहरू आउँथे । सट्टामा काममा कोरियनबाट आगोझैँ तातो हप्काई खाइन्थ्यो ।

‘हामीले अफिससम्म गएर स्वयम्ले हाम्रा पीडाहरू पोख्न नसक्नाले हाम्रो यो दुर्दशा हुँदैछ । सायद कम्पनीको साहुलाई हामी उसको साइनको पर्खाइमा छौँ भन्ने कुरा थाहा नहुन सक्छ काजी । बिरामी मानिसले यहाँ दुख्छ नभनी डाक्टरलाई के थाहा ?’ मैले उसलाई एकदिन कोठा फर्कने क्रममा भनेँ । उसले हच्किदै उतर दियो, ‘साहुले त यो कुरा सुन्यो भने मात्र हामी झन आँखाको तारो भइन्छ । त्यस्तो ठूलो साहुसँग हामीले कुरा गर्न सकिन्छ भन्या ? म त बोरु नेपाल जान्छु । आफ्नै बारीमा केही गर्छु, मरे पनि स्वदेशमै मर्छु । बिचरी, के गर्दै होली अम्बिका ? श्रीमान कोरिया छ भनेर दंग छे भन्थिन आमा । उनीहरूले त त्यहाँबाट कल्पना मात्र गर्ने हुन्, वास्तविक पीढा त भोग्नेलाई थाहा हुन्छ नि जसरी हामी भोगिरहेका छौँ ।’

‘तर अन्त्यमा त साइन दिने त्यहि साहु नै हो नि । हामी कतिन्जेल हाम्रा पीडामा जलिरहने ? सोच त, वर्षदिन नाघिसक्दा पनि समस्या ज्यूकात्यू छ, यस्तो पाराले कसरी हुन्छ ? हामीले गलत बाटो त हिँडका छैनौँ नि । हाम्रो अधिकारको कुरा गरिरहेका छौँ जुन नियमसंम्मत छ । आजसम्म हामी कति चोटि अस्पताल भर्ना भयौँ ? कति चोटि कम्मरमा काँडासरी सुई लगायौँ ? काममा कति हेपियौँ ? कति सह्यौ गालि र गलौज ? कति रोयौँ रातीराती, अरु त छाड्दे, कति कराइस् तँ मध्य रातमा ? यो सराहर सबै अन्याय होइन र ? आखिरमा हामीलाई हाम्रो कमजोर मानसिकताले न जलाएको हो । मनोबल उच्च बनाएर भोलि नै कुरा गरौँ । सोचेजस्तै भयो भने सरल काम खोजी गरौला, नत्र अरु उपायमा जाऔँला ।’ त्यस दिन उसले अनकनाउँदै भनेको ‘तर’ ले एकमनबाट मेरो कुराहरूमा समर्थन गरेजस्तो त गर्यो तर अर्को मन भने त्यही पुरानै बाटोमा पुर्यायो जुन हाम्रा लागि कदापी हितकर थिएन ।

‘कसैकसैको साहु त कति मर्म बुझ्ने हुन्छन्, कामदारप्रति कति उदार हुन्छन्, हाम्रो त कस्तो कठोर मुटु भाको साहु परेछ, यतिका दिनसम्म हामीसँग एक शब्द पनि नबोल्ने, के छ कसो छ पनि नसोध्ने ? कस्तो कम्पनीसँग कन्ट्याक्टमा साइन गरिएछ ।’ एकदिन कोठा फर्कने क्रममा उसले पछुतो मान्दै भन्यो । खै मान्छेहरू भाग्यमा विश्वास नगरौँ भन्छन् तर नगरिहाल्न पनि कहाँ सकिँदो रहेछ र ? सुनिल, बिनोद, पासाङहरूको बोल्नै परेन, साहु आफैँले काम गार्हो लागे परिवर्तन गर्ने अनुमति छ भनेछ, हामी सबैले एकैदिन त साइन गरेका थियौँ, उनीहरूको खुला आकाश हाम्रो चै कठोर धर्ती ! हाम्रो त भाग्य नै नभए जस्तो । एया.. या या’ काजीले दुख्दै गरेको डाढ समाउदै बस्ने घरको खुट्किला उक्लियो ।

‘सबैको कहाँ एकै किसिमका साहु हुन्छन र ? तर हामीले हाम्रा पीडाहरू खुलस्त राख्यौँ भने कसको मन पो नरसाउँला र ? दु:खमा छौँ । साहु पनि त हामीजस्तै मानिस न हो । दुरी चुलिएको मात्र नबोलेर न हो । अब बोल्नुपर्छ, मुख खोल्नुपर्छ । हामीले त्यस दिन अन्तसकरणबाटै ठूलो बल निकाल्यौँ र भोलिनै नडराई कुरा गर्ने प्रण गर्यौँ ।त्यस दिन कोठा पुग्ने बितिकै दुवैले भोलिका लागि पूर्वभाषिक तयारीमा जुट्यौ । आवश्यक पर्ने शब्दहरू आधा रातसम्म रटेर भए नि कण्ठ गर्यौ । हामीलाई भाषा नजानिकन कोरिया आउदा ठूलो पश्चताप भयो । कोरियन भाषा दुईमध्ये ऊ नै बढी जान्नाले भोलिको दोहोरो कुराकानीको जिम्मा उसैले लिने निधो गर्यो ।

सोमबार बिहान हामी आल्रामभन्दा अघि ब्युँझियौँ । उसले ब्युँझनेलगतै भाषाको किताब पल्टायो र अति उपयोगी शब्दहरू उठिउठि यताउता गर्दै घोक्न शुरु गर्यो । म पनि यसैमा जोडतोडका साथ खोजी गर्न लागेँ । घडी हेरेँ, आठ बज्नलाई पन्ध्र मिनेट ।त्यसपछि हतारहतार गर्दै कोठाबाट निस्कियौँ । हिजोअस्तिको मनको डरलाई त्यस दिन सहास र शक्तिले अठोटमा रुपान्तरण गर्यो र भित्रैबाट अठोट लिएपछि जस्तोसुकै काम पनि सरल हुने रहेछ भन्ने भान भयो । एक लक्ष्य बोकेको विद्यार्थीझैँ आफ्नो लक्ष्य र उदेश्यमा केन्द्रित भई सरासर अफिसमा पुगियो र कम्पनीको साहुसँग भेट्ने इच्छा जाहेर गरियो । हाम्रो कुरा सुनेर अफिसको काममा तल्लिन कोरियनहरू ट्वाल्ल परिरहेँ र मुखामुख गर्न लागे ।

काजीले फेरि थप्यो, ‘हामी हाम्रो साहुलाई भेट्न चाहन्छौँ । साहुसँग हाम्रो काम छ ।’ केही महिना अघि हाम्रो सातो लिदै च्याँठिएको कोरियन हाम्रो कुराले चुपचाप देखियो । सायद अफिसभित्रको वातावरण हाम्रो आगमनले विपरित दिशामा मोडिदियो । काजी साहुसँग भेटेर कुराहरू राख्न आतुर देखिन्थ्यो । तर कहिलेकाहीँ मात्र कम्पनी धाउँने साहु आजै चैँ आउँछ कि आउँदैन भनेर हामीमा खुल्दुलि बढ्यो । कर्मचारीले साहु कम्पनी आउँदै गरेको खबर सुनाए र केहीछिनसम्म पर्खन अनुरोध गरे । हामीले साहुको ब्यग्र पर्खाइमा त्यहाँ बिस पच्चिस मिनेट खर्चियौँ । यस अवधिमा हामीलाई कसैको हप्काई खाइन्छ कि भन्ने भय थियो । तर भाग्यबस कोही हाम्रो अगाडि देखा परेन र झन्झन् हौसला प्राप्तिए जस्तो ठान्यौँ ।

पर्खाइको बिस मिनेट लगतै अर्थात बिहानको आठ बजेर बिस मिनेट जाँदा अफिसभित्रको वातावरण शान्त देखियो । सबै आआफ्नो काममा एक्कासि तल्लिन देखिए । त्यतिकैमा एक कोरियन बाहिर गयो र आफूसँगै ठूलो जिउडाल भएको, अग्लो, आधा कपाल खुइलिएको रातो वर्णको मानिस लिएर प्रवेश गर्यो । हेर्दामा चिटचट र सुकिँलो मानिस हाम्रै साहु हो भनेर ठाम्यायौँ । दुवैले एकैसाथ अभिवादन गर्यौँ । हसिलो अनुहारमा मीठो मुस्कानका साथ हामीलाई ‘ह्वाई’ भनी पश्न छोड्दै एक कुनाको कुर्सीमा बस्न अनुरोध गर्यो । साहु क्षणभरमै नजिकिएपछि काजीले कुराहरू पोख्न शुरु गर्यो ।

हात र पाखुराभरी निस्किएका आला र पुराना डामहरु, खतहरु, घाउहरू, एकपछि अर्को गर्दै देखायो । दैनिकजसो कम्मरमा बाधिएको पेटी साथसाथै फरकफरक अस्पतालका रिपोर्टहरू, दैनिक खाइएका औषधिहरू, अन्य प्रेसकृप्सनहरू सबै देखायो । साहु चुपचाप बसि सुनिमात्र रह्यो । साहुबाट मौन प्रतिकृया आएपछि काजि केहीबेर रोकियो । सायद ऊ डरायो । तर ऊ रोकिए लगतै मैले शुरु गरिहाले पीडाहरू पोख्न । मेहेनत गरी काम गर्दा पनि दैनिक चर्को गाली खानु परेको जसले दिनप्रतिदिन तनाब बढेको बताएँ । काम अति गार्हो भएकाले वर्षदिन बिताउँदा पाँच वर्ष कटाएजस्तो भएको र दुवैको स्वास्थ्य अवस्था नाजुक भएकाले अगाडि काम गर्न असमर्थ भएको कुरा पोखेँ । काममा फान्जाङबाट हातपात भएको, गर्न नसक्ने काम एकोहोरो लादिएको, कोरियनबाट माया नपाएको, आजसम्म कामको बारेमा कोही कसैले नसोधेको, अस्पताल जान अनुमति नदिएको आदि सबै गुनासो पोखेँ । हाम्रो कुरा सुनेर साहु एकाएक भावुकजस्तै देखियो र छटपट गरेजस्तो गर्यो ।

यहि मुद्रामा उसले सोध्यो, ‘परिवारका सदस्यहरू कति हुनुहुन्छ ?’ ‘आमाबुबासँग कुरा हुन्छ ?’काजिले फटाफट उतर दियो तर स्वदेशको माया धेरै लागेको बतायो । देश छोडेर कोरिया आउँदा यहाँका कोरियनबाट माया पाउँनुको सट्टामा अझ घृणित र अपहेलित हुनु परेको यथार्थता पोख्यो । कोरियनहरूको मन ढुङ्गोभन्दा कठोर भएको र हामी विदेशी कामदारहरूलाई बढी पीडा दिई आत्महत्याको बाटोमा घचेडिएको तितो सत्यलाई अति सरलताका साथ प्रस्तुत गर्यो । साहुसँग शुरुवातबाटै भेट्ने इच्छा भएपनि भेट्न नसकिएको र फान्जाङसँग बारम्बार भेट्ने इच्छा राख्दा हाम्रो कुरालाई बेवास्ता गरिदिएको कुरा बतायो ।

‘तिमीहरू के चाहन्छौ’ साहुले तेस्रो प्रश्न गर्यो । मैले लगतै उत्तर दिएँ, ‘हामी कम्पनी परिवर्तन गर्ने अनुमति पत्र चाहन्छौँ ।’ उसले त्यसमाथि थप्यो, ‘हामी साजाङनिमको साइन चाहन्छौँ ।’ ‘धेरै दुःख गर्यौ, मिहेनत गरी धेरै पैसा कमाउनु ।’ साहु यति भन्नेसाथ एक अर्को व्यक्तिका साथ केहीछिन बाहिरियो । साहु हिँडेपछि हामी अलमलमा पर्यौँ । र केही मिनेटमै अर्को मानिस हातमा पत्र बोकेर आयो र सही गर्न अनुरोध गर्यो । अन्त्यमा आ-आफ्नो पत्र लिएर ‘जब सेन्टर’ जानु भनेपछि हामी दुईको आँखाबाट खुसीका आँशु बरर्र बर्सिए । तर हाम्रो बाँकि पाउँनुपर्ने तलब कम्पनीले अकाउन्टमा हालिदिन मन गरेन ।
नोट: ‘यो कोरियाको वास्तविक घटनामा आधारित कथा हो ।’