नेपाल मुक्तक प्रतिष्ठान कोरियाले बाल दिवस विशेष मुक्तक वाचन कार्यक्रम गर्दै

सिओल

नेपाली मुक्तकको विकास र विस्तारमा परदेशी भूमिमा रहेर पनि लगातार क्रियाशील संस्था नेपाल मुक्तक प्रतिष्ठान कोरियाले बाल दिवसको अवसरमा मुक्तक वाचन कार्यक्रम आयोजना गरेको छ ।

भदौ महिनाको २६ गते आयोजना गर्न लागिएको उक्त कार्यक्रममा ५ जिल्लाका विद्यालय तहमा अध्ययन गर्ने किशोर किशोरीहरूले मुक्तक वाचन गर्ने छन् । आइतबार आफ्नो आधिकारिक फेसबुक पेजमा सूचना निकालेर प्रतिष्ठानले उक्त कुरा सार्वजनिक गरेको हो ।

हामीसँगको सम्पर्कमा नेपाल मुक्तक प्रतिष्ठान कोरियाका अध्यक्ष एवम् मुक्तककार आ एन अधिकारीले आफूहरूले मुक्तकको क्षेत्रमा ऐतिहासिक कार्यक्रम गर्न लागेको र यसले नयाँ पुस्ताका किशोर किशोरीहरूलाई मुक्तक लेखनमा आकर्षित मात्रै नगरेर साहित्यप्रति अभिरुचि जगाउने आशा लिएको बताउनुभयो ।

भर्चुअल माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने उक्त कार्यक्रम नेपाल मुक्तक प्रतिष्ठान कोरियाको आधिकारिक पेजमा भाद्र २६ गते साँझ ६ बजे हेर्न र सुन्न सकिने छ ।

नेपाल मुक्तक प्रतिष्ठान कोरियाले यसका अलावा सर्वाधिक पुरस्कार राशिको विश्वव्यापी खुला मुक्तक प्रतियोगिता पनि सञ्चालन गरिरहेको छ । जसमा मुक्तक पठाउने अन्तिम मिति असोज १ गते सम्म राखिएको छ ।