दक्षिण कोरियामा कुकुरको मासुमा प्रतिबन्ध लगाउने तयारी हुँदै !

सिओल

दक्षिण कोरियाले कुकुरको मासुमा प्रतिबन्ध लगाउने भएको छ ।दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनले कुकुरको मासु खपतमा प्रतिबन्ध लगाउने सकिने बताएको बीबीसीमा उल्लेख छ।

वर्सेनि दक्षिण कोरियामा १० लाखसम्म कुकुरहरू मासुका लागि मारिने अनुमान गरिएको छ। प्रधानमन्त्रीसंगको एउटा भेटघाटमा राष्ट्रपति मूनले कुकुरको मासु प्रतिबन्धबारे सोच्ने बेला भएको हो कि भनेर प्रश्न गरेको छन्।

राष्ट्रपतिले पूर्ण प्रतिबन्धको बारेमा बोलेको भने यो पहिलो पटक रहेको जनाइएको छ । उनी कुकुरलाई माया गर्ने भनेर चिनिएका छन् ।दक्षिण कोरियामा कुकुर र बिरालोलाई क्रूर तरिकाबाट मार्न नपाइने कानुन छ तर त्यसको मासु खान प्रतिबन्धित छैन।

तर हालैका वर्षहरूमा मानिसहरूले कुकुर पाल्न थालेपछि बिस्तारै कुकुरको मासु खान छोड्न थालेका छन्।प्रधानमन्त्रीले अलपत्र छोडिएका जनावरहरूको सुरक्षाका सम्बन्धमा गरिएका नयाँ व्यवस्थाहरूबारे जानकारी गराएपछि राष्ट्रपतिले यस्तो प्रतिक्रिया दिए।

दक्षिण कोरियामा गर्भवती र बालबालिकालाई कोभिड विरुद्धको खोप लगाइने

दक्षिण कोरियामा गर्भवती महिला र १२ देखि १७ वर्षका बालबालिकालाई कोभिड –१९ विरुद्धको खोप लगाइने भएको छ। यहाँको स्वास्थ्य निकायले जनाएअनुसार अर्को महिनादेखि गर्भवती र बालबालिकाले पनि खोप लगाउनेछन् । यस निर्णयसँगै अक्टोबर १८ देखि शुरु हुने खोप अभियानबाट १२ देखि १७ वर्ष उमेर समूहका २० लाखभन्दा बढी बालबालिका लाभान्वित हुनेछन् ।

गत जुलाइदेखि बालबालिकामा पनि सङ्क्रमण तीव्र रूपमा बढेको पाइएपछि यो अभियान घोषणा गरिएको थियो। अगस्टमा मात्र उक्त उमेर समूहका ३,०५० बालबालिका सङ्क्रमित भएका थिए। त्यसैगरी १३६,००० गर्भवती महिलाहरूले पनि अब पहिलो मात्रा खोप लिनेछन् । अध्ययन रिपोर्टअनुसार गर्भवती महिलाहरू सङ्क्रमित हुँदा अन्य भन्दा छ गुणा बढी जटिलता हुनसक्ने हुन्छ।

यसैगरी स्वास्थ्य निकायले दिएको जानकारीअनुसार स्वास्थ्यकर्मी र अन्य जोखिममा रहेका समूह र ६० वर्ष माथिका समूहलाई अक्टोबर २५ देखि तेस्रो मात्रा अथवा बुस्टर डोज लगाइने भएको छ। हालसम्म दक्षिण कोरियाले ७४.२ प्रतिशत जनतालाई खोप लगाइसकेको छ। एजेन्सी