कोरियाबाट हामीले के सिक्ने ?

डि.आर लामिछाने

करिब सात वर्षको कोरिया बसाइमा चिल्ला फराकिला सडक, लामा-लामा सुरुङमार्ग, गगनचुम्बी महल, समुद्र माथिका अग्ला-अग्ला पुलहरू मात्रै कोरियाको समृद्धिको परिचय हैनन्, त्योभन्दा ठूला परिचय त स्वयम कोरियनहरुको संस्कार हो भनेर राम्रोसँग बुझ्न पाएँ।

५०/६० वर्ष पहिले उस्तै हैसियतमा रहेका नेपाल र कोरियाको वर्तमान धराताल हेर्नुस् त, आकाश पातलको फरक छ। एसियाकै बाघ बनेर उदाइरहेको कोरिया र म्याउ पनि गर्न नसक्ने अवस्थामा नेपाल छ। आधुनिक विकास र टेक्नोलोजीमा कोरियाले गरेको विकासको स्तर पछिल्लो पटक उड्ने ट्याक्सी र प्लेनको गतिमा गुड्ने रेल परीक्षणबाट सहजै मापन गर्न सकिन्छ।

जापानिजहरुको अमानवीय क्रुर उपनिवेशको लामो पीडाले छटपटाइरहेको कोरिया फेरि आफैमा कहाली लाग्दो लडाइँले खरानी भए पनि आधुनिक विकास र प्रविधिमा उदयमान पहिचान बनाउन सफल भइरहेको छ। छोटो अवधिमा द्रुत विकास गर्ने राष्ट्रमा कोरिया संसारकै पहिलो राष्ट्रभन्दा फरक पर्दैन। तर यो कसरी सम्भव भयो? अनि समान हैसियतको नेपालको हकमा किन त्यो हुन सकेन?

यी कुराहरुलाई मैले धेरै कोणबाट देखेको र भोगेको आधारमा विश्लेषण गर्न थालेँ। कोरियाको राजधानी सहरलाई दुई फ्याक बनाएर बगेको हान नदीको किनारमा गएर यसो नियाले पनि यी दुई प्रश्नको उत्तर भेटिन्छ। हान नदीको स्वच्छ र निर्मल पानीलाई हेरेर बागमतीमा बगेको ढल सम्झिँदा पनि मन धर्केर आउँछ।

हान नदीमा कोरियन नागरिकहरूको सभ्यता र संस्कार छर्लङ्ग देखिन्छ। भौतिक विकास त चमत्कारी नै छ त्योभन्दा बढी सामाजिक, मानवीय, बानी-व्यहोरा झनै प्रशंसनीय लाग्दछ। कोरियनहरु केही पनि फाल्दैनन्। या भनौँ खान मिल्ने चिजहरु हर किसिमले उपयोग गर्दछन्। खुर्सानीका पात, सिलामका पात, लेउहरुको साथमा अन्य धेरै चिजहरु जसलाई हामी स्वाभाविक रुपले फ्याक्ने गर्छौं, त्यस्ता चिजहरुलाई यिनीहरुले खानाको रुपमा प्रयोग गर्दछ।

अर्को महत्वपूर्ण र प्रशंसनीय कामहरुमा यिनीहरुले गर्ने पुनःप्रयोऊ हो। पुनः प्रयोगमा आउन सक्ने सामानहरु यिनीहरू कहिलै फ्याक्दैनन्। फोहोरलाई मोहरमा परिणत गर्दछन्। नेपालमा लवाइबाट पेसा छुट्याउन सकिन्छ तर यहाँ ड्राइभर, शिक्षक, बैंकर, किसान आदि एउटै देखिन्छन्। कोठा होस् या अपार्ट होस् मानवीय सुविधाले केही फरक हुँदैन।

सडक वरिपरि फूलहरु, खोला छेउमा आकर्षक पार्कहरु, देशैभरि मौसम अनुसारका फूलहरूले रंगिन बनाउँछन्। कुनै पनि चिज परीक्षणपछि मात्र खानुपर्छ भन्ने शिक्षाले होला यिनीहरु बाटोमा फलेका फलहरु अनि जंगली जनावर कसैले खाँदैन। सबै चिजहरु परीक्षण गरेर मार्ट गएपछि मात्र किनेर खान्छन्। मेहनतका साथ काम गर्ने अनि रमाइलो गरेर खानपिन गर्ने यिनीहरुको बानी हुन्छ।

काम गरेर मात्रै सुख र समृद्धि हुन्छ भन्ने मान्यता कोरियनहरुमा छ। काम सानो-ठूलो हुँदैन भन्ने मान्यता नै यिनीहरुको समृद्धिको मुख्य आधार हो। प्रधानमन्त्रीको छोराले बंगुरपालन गर्ने किसान बनेमा पनि हामी नेपालीहरु जस्तो अनौठो मान्दैनन्। कोरियनहरुको सबैभन्दा राम्रो बानी भनेको मान्छे पेसाले भन्दा पनि उमेरले ठूलो हुन्छ भन्ने मान्यता हो।

यता फुच्चे हाकिमले पनि बुढो किसानलाई ४५ डिग्रीमा निहुँरिएर सम्मान गर्दछ वा हाम्रो भाषामा प्रणाम गर्दछ। विकासमैत्री सरकारी नीति, इमान्दार कर्मचारीतन्त्र, मेहनती नागरिककै कारण कोरियाले समृद्धिको यो उचाइ प्राप्त गरेको हो। एउटै पुस्ताको जीवनकालमा अत्यन्तै जिर्ण कोरिया र अत्यन्तै विकसित, आधुनिक एवं औद्योगिक राष्ट्रको रुपमा देख्न पाउने सौभाग्य कोरियनहरुले मात्र प्राप्त गरे जस्तो लाग्छ।

कुनैबेला खाद्यान्न सहयोग गर्ने नेपालबाट अहिले करिब ६० हजार माथि नेपालीहरु कोरियामा काम गरेर नेपालमा समृद्धिको सपना सजाइरहेका छन्। एकै पुस्तामा कोरिया कसरी यो समृद्धिको शिखरमा पुग्न सक्यो? बुढाबुढी जोसुकैलाई सोधे पनि एउटै जवाफ हुन्छ, त्यो हो काम मात्र काम।

हात खालि गरी बस्न नसक्ने कोरियनहरु आफूहरु काम नगरे देशै ठप्प हुन्छ भन्ने मान्यता राख्दछन्। काममा व्यस्त नहुने हो भने अनेक विसंगति र विकृतिको सामाना गर्नुपर्छ भन्ने मान्यता उनीहरुमा छ। काम नै शरीरको मुख्य औषधि हो भन्ने ठान्छन् कोरियनहरु। सरकारले जेष्ठ नागरिकहरूको लागि मासिक भत्ता र निःशुल्क औषधि उपचारको व्यवस्था गरेपनि उनीहरुको हात पाखुरो चलुन्जेल त्यो सरकारी सुविधा लिन नपरे हुन्थ्यो भन्ने ठान्दछन्।

बुढाबुढीको लागि सरकारले टोलटोलमा व्यायामशाला बनाएको छ, केही बुढाबुढीहरु फुर्सदमा घाम तापेर टहलिएको देखिए पनि धेरैजसो खेतबारीमा व्यस्त देखिन्छन्। चोकमा जम्मा भएर अर्काको कुरा काट्ने भट्टि र जुवामा समय बर्बाद बनाउने काम उनीहरु कहिलै गर्दैनन्। काम नै हाम्रो भगवान हुन् भन्ने मान्यता नै यहाँको विकासको मुख्य आधार हो।

सरकारी वा जुनसुकै अफिसमा जाँदा त्यहाँ गरिने व्यवहार त झन् कुरै छोडौं। पाँच मिनेट ढिला भयो भने पनि ५ पटक माफी मागिरहन्छन्। सेवाग्राहीलाई गरिने नम्र व्यवहार लोभलाग्दो हुन्छ। विदेशी भनेर कुनै पनि निकायमा हेपिनु पर्दैन। हराएको सामना आफ्नै ठेगानामा आइपुग्छ।

नागरिकको अनुशासन कति छ अनुमान सहजै गर्न सकिन्छ। सुरक्षाको हिसाबले त्यस्तै अब्बल छ कोरिया, दुई बजेपछि पनि एउटा महिला एक्लैले सडकमा हिँड्न सक्छ। अभियोग जेसुकै होस् प्रमाणित भएमा जोसुकै होस् कारबाहीको भागीदार हुनैपर्छ, चाहे त्यो उच्चपदस्थ होस् वा सामान्य नागरिक।

झगडा गरे भने पनि सकेसम्म हात उठाउँदैनन् किनकि कुनै चोट वा रगत प्रमाणको रुपमा रह्यो भने सजायको भागिदार हुनै पर्छ। चाहे त्यो उच्चपदस्थ होस् वा सामान्य नागरिक। काम गरेर भोग जगाएर खानु नै उनीहरुको सुख ठान्छन्। जति पनि भौतिक विकास गरे त्यति नै विनाश पनि कम गर्ने रणनीतिले गर्दा पर्यावरणीय क्षति न्यून देखिन्छ, बिरुवा हैन ठूला-ठूला रुख रोप्ने चलन छ यहाँ, यसको मतलब रातारात जंगल बनाइदिन्छन् कोरियनहरु।

गरगहनामा खासै रुचि नदेखाउने उनीहरु व्यक्तिगत मोजमस्तीमा भने अगाडि छन्। सडक, रेल, बस कतै पनि यिनीहरुको हो-हल्ला गर्दैनन्। बरु कानमा इयरफोन छोड्दैनन्। यस्तै सकारात्मक बानीका कारण कोरियनहरु सुखी र सम्पन्न छन्। आधुनिक विकास अति नै भएपनि आफ्नै कला संस्कृतिलाई औधी माया गर्छन्।

कोरियामा रोजगारी गर्न जाने मजस्तै कयौँ नेपालीहरुले पैसा मात्रै हैन, कोरियनहरुको सभ्यता र संस्कार पनि कमाएर भित्र्याउन सक्ने हो भने केही न केही सकारात्मक परिवर्तन पक्कै देख्न पाइन्थ्यो होला।