सियोल
कोरोना भाइरसको महामारीका कारण २० महिनादेखि रोकिएको दक्षिण कोरियामा श्रमिकहरू आउने क्रम शुरू भएको छ ।
पहिलो चरणमा कोरोनाका कारण रोकिएका ४८ जना नेपाली आज दक्षिण कोरियातर्फ प्रस्थान गरेका हुन् ।
लामो समयपछि कोरिया आउने श्रमिकलाई आज दिउँसो ३ बजे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड– १९का कारण लामो समयदेखि प्रक्रिया पूरा गरेर पनि नेपाली कामदार कोरिया आउन पाइरहेका थिएनन् ।
रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरिसकेका नेपाली कामदार कोरोना महामारी कम भएसँगै दक्षिण कोरिया आउन लागेका हुन्।
अझै सबै प्रक्रिया पूरा गरेका १० हजार श्रमिक दक्षिण कोरिया जाने पर्खाइमा रहेका छन्।
दक्षिण कोरियालाई नेपाली कामदारका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्यको रूपमा लिइन्छ ।