नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाको मुक्तक परिचर्चा कार्यक्रम सम्पन्न

सौल कोरिया

नेपाली मुक्तकको विकास र उन्नयनमा विभिन्न कार्यक्रम गर्दै आएको नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाले यसपटक ‘समकालीन नेपाली मुक्तक र मुक्तकको रचना विधान’ विषयक मुक्तक परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ ।

पछिल्लो समय निकै लोकप्रिय रहेको मोबाइल एप्लिकेसन Club House मा गत आइतबार साँझ ६ बजे कार्यक्रम सुरु गरिएको थियो । नेपाली मुक्तकको क्षेत्रमा लामो समयदेखि साधना गरिरहेका विज्ञहरूलाई वक्ताको रूपमा बोलाएर नेपाली मुक्तक सम्बन्धी विविध विषयमा परिचर्चा गरिएको प्रतिष्ठानका अध्यक्ष आर एन अधिकारीले जानकारी दिनुभयो ।

करिब साढे दुई घन्टा सञ्चालन गरिएको उक्त कार्यक्रममा वक्ताको रूपमा पोखरा घोषणापत्र एवम् मुक्तक रचना विधान उपसमितिका सदस्य डा. घनश्याम परिश्रमी, नेपाल मुक्तक प्रतिष्ठान केन्द्रबाट निशा केसी, मुक्तक मञ्च केन्द्रीय समिति पोखराका निवर्तमान अध्यक्ष प्राञ्जल, लेखक तथा समालोचक सञ्जीव पौडेल र नेपाल मुक्तक प्रतिष्ठान बेलायतका महासचिव नृपेश उप्रेतीको उपस्थिति थियो ।

नेपाल मुक्तक प्रतिष्ठान कोरियाका अध्यक्ष आर एन अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रममा ६० जना भन्दा बढी मुक्तकप्रेमी महानुभावहरूले स्रोताको रूपमा सहभागिता जनाएका थिए । कार्यक्रममा नेपाले मुक्तकको संरचना पक्ष, भाव एवम् विचार पक्ष र आधारभूत सैद्धान्तिक नियमका बारेमा बृहत् चर्चा गरिएको थियो ।

कार्यक्रमका विशेष आकर्षक एवम् नेपाली भाषा अनि साहित्यका प्राध्यापक डा. घनश्याम न्यौपाने परिश्रमीले यस्ता कार्यक्रम धेरैभन्दा धेरै गरिनुपर्ने आवश्यकता औल्याउँदै परदेशमा रहेर पनि मुक्तकको विकास र उन्नयनमा अत्यन्तै क्रियाशील रूपमा लाग्ने संस्थाहरूको अग्रपङ्तिमा रहेको नेपाल मुक्तकप्रतिष्ठान कोरियाको खुलेर प्रशंसा गर्नुभएको थियो ।

प्रतिष्ठानले आफ्नो स्थापनाको सातौं वर्ष पूरा नहुँदै ३ मुक्तक कृति प्रकाशित गरिसकेको छ भने ‘ सक्रिय युवा मुक्तककार सम्मान’ जस्तो राष्ट्रिय सम्मान समेत प्रदान गर्दै आइरहेको छ । यसका अलावा सर्वाधिक पुरस्कार राशिको मुक्तक प्रतियोगिता, मुक्तक पाठशाला, मुक्तक प्रशिक्षण , गोष्ठी तथा अन्तरक्रिया, लेखन तथा वाचन कार्यक्रम, मुक्तक मेला, मुक्तक अध्ययन तथा अनुसन्धानका कार्यहरू सञ्चालन गर्दै प्रतिवेदन समेत सार्वजनिक गरिसकेको छ ।