नेपाल मुक्तक प्रतिष्ठान कोरियाले लक्ष्मी पूजाका दिन शुभकामना आदानप्रदान, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम गर्ने

सियोल

पछिल्लो समय नेपाली मुक्तकको विकास र उन्नयनमा क्रियाशील संस्था नेपाल मुक्तक प्रतिष्ठान कोरियाले लक्ष्मीपूजाको अवसर पारेर शुभकामना आदानप्रदान,मुक्तक प्रतिभा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम गर्ने भएको छ ।

कान्तिपुर समाचार सँग कुरा गर्दै प्रतिष्ठानका अध्यक्ष आर एन ले भन्नुभयो हामीले सबैभन्दा बढी पुरस्कार राशिको मुक्तक प्रतियोगिता मात्रै सञ्चालन गरेनौं नेपाल सरकारले गर्न नसकेको ‘ प्रखर युवा मुक्तक प्रतिभा सम्मान’ पनि दिन सुरु गरेका छौं । यो सम्मानका लागि छनोटमा परेका ५ नामहरूबाट उहाँहरूले गर्नुभएको कामको मूल्याङ्कन गरी रामजी प्रसाद आचार्य सम्मानित हुँदै हुनुहुन्छ ।मुक्तकमा अहोरात्र खट्ने अभियन्तालाई सरकारद्वारा पनि सम्मान गरिनुपर्छ; भनेर बताउनुभयो ।

उक्त कार्यक्रम प्राज्ञ सरुभक्त श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न्न हुनेछ भने विशेष अतिथिका रूपमा नेपाल मुक्तक प्रतिष्ठान केन्द्रका सल्लाहकार डा. रुपक श्रेष्ठ, नेपाल मुक्तक प्रतिष्ठान अमेरिका शाखाका अध्यक्ष आनन्द श्रेष्ठ र नेपाल मुक्तक प्रतिष्ठान कोरियाका निवर्तमान अध्यक्ष रामचन्द्र शर्मा त्रय रहनुभएको छ । स्मरण रहोस् उहाँहरू संस्थाले आयोजना गरेको सर्वाधिक पुरस्कार राशिको मुक्तक प्रतियोगितामा निर्णायक पनि हुनुहुन्छ ।

यसका अलावा मुक्तक मञ्च पोखराका अध्यक्ष रामजी प्रसाद आचार्य उक्त कार्यक्रममा प्रखर युवा मुक्तक प्रतिभा सम्मान (नगद रु ११,१११ र सम्मानपत्र) बाट सम्मानित हुनुहुने कार्यक्रम रहेको छ । खुला विश्वव्यापी मुक्तक प्रतियोगितामा विजयी क्रमशः पदम पाण्डे, मदन घिमिरे, दीक्षा भण्डारी र विषयगत रूपमा विजयी अजय राई, प्रकाश कुइँकेल र कल्पना काफ्ले समेत कार्यक्रममा अतिथिको रूपमा रहनुहुने छ ।

यसका साथै ‘प्रखर युवा मुक्तक प्रतिभा सम्मान’का प्रायोजक डी. आर न्यौपाने ‘सूर्य’ समेत कार्यक्रममा अतिथिका रूपमा रहनुहुने छ । ह्यारी बोण्डले सञ्चालन गर्ने भनिएको उक्त कार्यक्रम लक्ष्मी पूजाका दिन नेपाली समय अनुसार साँझ ६ बजे सुरु हुने आयोजकले जनाएको छ ।