आमाले मेलापात गरेर कमाएको पैसाले भाषा पढेर कोरिया आएको यूवकको कथा !

पुर्णमान तामाङ/दक्षिण कोरिया

जिन्दगीको त्यो अवस्था गुजार्दै छु जहाँ शारीरिक भन्दा मानसिक थकाइ धेरै छ।पारिवारिक स्थिति ,सफल हुन नसकेको रहर र योजनाहरु,अन्योल भविष्य,टुटेको दिल!

कुनै पनि निर्णय एकैपटक लिन सक्दिन, आफ्नलाई दुःख सुनाएर दुःखी बनाउन सक्दिन । पराईलाई देखावटी खुशी देखाउने बानी परिसक्यो । कहिले सानो कुराहरुमा ठुलो प्रतिक्रिया दिन्छु । कहिले ठुलै घटनाहरु सामन्य मानेर बेवास्ता गरिदिन्छु । पाउने कुराहरु भन्दा पाएका कुराहरु बढी गुमाउदैछु।

कहिले भाईहरुलाई हेरेर बुढो भए जस्तो महसुस गर्छु । कहिले दाईहरुलाई हेरेर हैट उमेर छ जस्तो महसुस गर्छु । कहिले कमाउने चिन्ता कहिले रमाउने चिन्ता, कहिले अरुलाई हेरेर आफु पछि परेजस्तो महसुस गर्छु। कहिले काहीँ होइन सबैको बाटो फरक , गन्तव्य फरक , यात्रा सुरुगरेको ठाँउ अलग किन एक अर्कालाई दाँज्नु जस्तो महसुस गर्छु।

उमेर ढल्किदै जानु भएका आमा- बुबालाई सम्झिदाँ डर लाग्छ, कतै हातको समयमा गन्तव्य पुग्न नसकिने पो होकि ? ढिला हुने होकि भनेर ।

जिन्दगी यहीँ होला , हिजो नजिक हुनेहरु आज पराई, कहिल्यै नसोचेको मानिसहरुसगँ भेट। केही साथीहरु त एकपटक म्यासेज रिप्लाई नगरेपछि कहिल्यै बोल्दैनन्, केही साथीहरु भनेको बेला सहयोग गर्न नसक्दा बोल्दैनन् , पैसाको कारोबार भएका साथीहरु कहिल्यै बोल्दैनन् (कसैलाई दिएन बोल्दैनन् , कोहीले लिएर पनि बोल्दैनन्)।

कति साथीहरु कुनबेला छुटे याद नै भएन। जो जहाँ जसरी छुटेपनि जिन्दगीको केही पलहरु सगै बितायौ, सपनाहरु देख्यौ, सबैजना खास छन्। दोष कसैको छैन , जिन्दगी नै यहीँ रहेछ।

मलाई कसैले फलनाले यति कमायो, यो गर्यो , त्यो गर्यो भनेर आफुलाई अरुसगँ दाँजेर तल झारेको मन पर्दैन , मेरो परिवारले आजसम्म यस्तो भनेका छैनन्। अहिले सम्म यति कमायो होला, यति पैसा होला, कहाँ छ भनेर सोधेको झन् सहन सक्दिन। कमाउन सकिएन होला या बचाउन सकिएन होला खोजि किन गर्नु र ?

हिजो सगै १२ पास भएको साथीहरु ब्याजलर पढ्दा म आमाले खेतीपाती , मेलापात गरेर पठाउनु भएको पैसाले भाषा पढ्थे , त्यतिबेला कहिले कसले सम्झिए र ?

हरेक कुराहरु क्षणिक रहेछन्, हरेक पलहरु जिन्दगीको खास छन्, छुटेको सबैजनालाई धेरैधेरै शुभकामना , जीवनमा सफल होस् , खुशी मिलोस् ।

मेरो चाँही धेरै सोच्ने समस्या चाँढै ठिक होस्, केही सपनाहरु छन् कोशिश गर्दैछु , समयमै सफलता मिलोस्। अनि मेरो हरेक खुशीको पलहरु र सफलताहरुमा नजिकबाट आमा बुबालाई मुस्कुराएको देख्न पाइयोस्।