कोरियाले तयार गर्यो देशकै सबैभन्दा लामो समुन्द्रमुनि सुरुङमार्ग, १.५ घण्टाको बाटो अव मात्र १० मिनेटमा

सिओल

दक्षिण कोरियाले ६.९ किलोमिटर लामो समुन्द्र मुनि बनाइरहेको सुरुङमार्ग पूरा हुन लागेको छ। बोरयोङ टनेल नाम दिइएको यो सुरुङमार्ग आउँदो डिसेम्बर १ मा निर्माण सम्पन्न गरी खुल्ला गरिन लागिएको हो। कोरियाले समुन्द्रमुनि बनाइरहेको यो सुरुङमार्ग कोरियाकै सबैभन्दा लामो समेत हो।

बोरयोङ सुरुङमार्ग कोरियाले ११ बर्षअघिदेखि बनाउन सुरु गरेको थियो। यो सुरुङमार्गले कोरियाको थेछन सामुन्द्रिक तटलाई बोरयोङमा अवस्थित ओनसान टापुलाई जोड्नेछ। बोरयोङ छुङछननाम्दो प्रदेशमा अवस्थित रहेको छ। अहिले थेजनबाट ओनसान टापु पुग्नका लागि कारमा करिब १ घण्टा ३० मिनेट लाग्दछ तर अब सुरुङमार्गबाट मात्रै जम्मा १० मिनेटमा पुगिनेछ।

कोरियाले देशकै एक महत्वपूर्ण र महत्वाकाँक्षी यो आयोजना सम्पन्न गर्नका लागि ४ सय ८५ दशमलव ३ विलियन कोरियन वन खर्च गरेको छ। यस सुरुङमार्ग सन २०१० को डिसेम्बरबाट निर्माण सुरु गरिएको थियो। निर्माण कार्य सुरुङमार्गको दुबैतिरबाट सुरु गरिएको थियो। सुरुङ निर्माणका क्रममा त्यस्तो खासै ठूलो दुर्घटना भोग्नुपरेन भने दैनिक १ देखि ३ मिटरको दरमा निर्माण कार्य अघि बढेको थियो।

यस सुरुङमार्गको सबैभन्दा गहिरो भाग समुन्द्रभित्र ८० मिटर तल रहेको छ। यो मार्ग दुई लेनको भएकाले दुबैतर्फबाट गाडीहरु आवत जावत गर्न सक्नेछन। यो सुरुङमार्ग कोरियाकै सबैभन्दा लामो समुन्द्रमुनिको मार्ग हो भने विश्वकै लामोमा पाँचौ स्थानमा समेत पर्दछ। जापानमा रहेको टोकियो वे एक्वालाइन टनेल विश्वकै सबैभन्दा लामो समुन्द्रमुनि रहेको मार्ग हो जसको लम्बाई ९.५ किलोमिटर रहेको छ।

त्यसैगरी दोश्रो, तेश्रो र चौथो स्थानमा नर्वेमा रहेका बोम्लाफजोर्ड टनेल, इकसुण्ड टनेर तथा ओस्लोफजोर्ड टनेल रहेका छन जसको लम्बाई क्रमश ७.९ किलोमिटर, ७.८ किलोमिटर तथा ७.२ किलोमिटर रहेका छन। यसअघि कोरियाको सबैभन्दा लामो समुन्द्र मुनिको सुरुङमार्ग इन्छन नर्थ पोर्ट टनेल रहेको थियो जसको लम्बाई ५.४६ किलोमिटर छ।

यो टनेल निर्माण सम्पन्न भएपछि यस क्षेत्रमा अझ धेरै पर्यटकहरुको आगमन हुने अपेक्षा छुङछननाम्दो प्रदेश सरकारले अपेक्षा राखेको छ किनभने यस मार्गले अब एकदमै कम समयमा नै थेजन सामुन्द्रिक किनारा तथा एनम्योन टापु पुग्न सहयोग पुर्याउँदछ।ईपिएस साथीबाट