मिल्तीखोला हाइड्रोपावर बनाउन कोरियामा नेपालीबाट उठाइएको ११ करोड खाेई ?

सिओल

”मेरा सपनाहरू नभएका होइनन्, केही थान हेटौंडाको सुरुङमार्गले पुरिदियो र केही थान सानो मिल्तीखोलाले बगाइदियो ।” कोरियामा रहेका उत्तम खाजुमले आफ्नो सामाजिक सञ्जालमा लेखेको वाक्कांश हो यो । उनले उल्लेख गरेको सानो मिल्तीखोला रामेछापको फुलासी गाउँमा पर्छ ।

सुनसरीका उनी कहिल्यै रामेछापको फुलासी पुगेका छैनन् । सन् २०१५ मा सानो मिल्ती हाइड्रोपावर आयोजना बनाउन भन्दै चार लाख रुपैयाँ लगानी गरेका थिए । त्यही समयदेखि उनले मिल्तीखोला सुनेका हुन् । सन् २०१७ सम्म विद्युत् उत्पादन गर्ने भनेर गरिएको लगानी डुब्ने अवस्था आएपछि उनले सामाजिक सञ्जालमा दुखेसो पोखेका छन् ।

उत्तमझैं बुटवलका रामकुमार केसीले पनि सो विद्युत् आयोजनामा ८ लाख रुपैयाँ लगानी गरेका थिए । रामकुमार र स्याङ्जाका कपिलदेव न्यौपाने एउटै कम्पनीमा काम गर्थे । दु:ख सुखका कुरा हुन्थे । कोरियामा कमाएको पैसा लगानी गरेर राम्रो आम्दानी गर्ने सपना रामकुमारले सुनाएपछि कपिलले पनि लगानी गरे ।

कोरियामै रहेका इन्जिनियर तेन्जी शेर्पा, सुरेश लिम्बू, देवेन्द्र सम्बाहाङ्फे सहितको टोलीले मिल्तीखोलामा लगानी गरेर विद्युत् उत्पादन गर्ने योजना बनाएका थिए । उनीहरुले कोरियाको विभिन्न ठाउँमा विद्युत् आयोजनामा लगानी गर्नेबारे भेला गरे । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा रहेका झन्डै ३ सय ६३ जना नेपालीबाट लगानीका लागि ११ करोड ४५ हजार रुपैयाँ उठ्यो । प्रतिव्यक्ति १ लाखदेखि १२ लाखसम्म लगानी उठाइएको थियो ।

विद्युतमा लगानी गर्नुपर्छ भनेर कोरियामा रहेका नेपालीलाई आग्रह गर्नेमा इन्जिनियर शेर्पा अगाडि थिए । तत्कालीन समयमा उनै शेर्पा आयोजनाका संस्थापक अध्यक्ष थिए । उनले सन् २०१५ मा एउटा लगानी भेलामा बोलेको भिडिओ अझै पनि सुरक्षित छ । उनले भनेका थिए ”हाम्रो सानो मिल्ती खोला आयोजना साढे दुई वर्षमा बन्छ । त्यसपछिका दुई वर्षमा लगानी फिर्ता भई २५ वर्षसम्म निरन्तर फाइदा हुन्छ ।” पाँच लाख रुपैयाँ लगानी गर्नेले प्रत्येक वर्ष ३ लाख २२ हजार रुपैयाँका दरले कमाउने उनले बताएका थिए ।

पैसा उठाउँदा भनिएका योजना जसरी काम भएको भए अहिलेसम्म लगानी गर्ने सेयरधनीको लागत उठिसक्ने थियो । तर सात वर्ष पहिले लगानी गरेको पैसा फिर्ता पाउनुपर्‍यो भन्दै अहिले नेपालमा भएका लगानीकर्ताहरुले संघर्ष समिति नै बनाएका छन् । ‘अहिलेसम्म ४ किलोमिटर कच्ची सडक खन्ने काम मात्रै भएको छ । हामीले लगानी के भयो भन्दा संचालक समितिमा बसेकाहरु एकले अर्कालाई आरोप प्रत्यारोप गर्छन्’ संघर्ष समितिका संयोजक चेत बस्नेत भन्छन् , ‘कोरियामा काम गर्नेहरुको लगानीमा बन्ने कम्पनी भनेर हामी सबैले लगानी गरेको हो । हाम्रो लगानी गरेको पैसा के के गर्‍यो भन्दा उत्तर दिने मान्छे पनि छैन ।’

सानो मिल्तीखोला विद्युत् आयोजनाले सन् २०१३ मा विद्युत् विकास विभागबाट ३ मेगावाटमा उत्पादन गर्ने स्विकृति पाएको छ । पैंतालीस करोडको हाराहारीमा लगानी हुने भनिएको आयोजनामा ३० प्रतिशत लगानी कोरियामा काम गरिरहेका नेपालीको र ७० प्रतिशत लगानी बैंकको हुने भनिएको थियो । ‘काम हुँदै गएको भए कोरियामा रहेका अन्य नेपालीले पनि लगानी गर्न सक्थे तर मिल्तीमा सुरुदेखि नै विस्वास गर्ने मान्छेहरु भएनन् जस्तो लाग्छ’ हाल ख्याङ्गीदोमा काम गरिरहेका अनिल कार्की भन्छन् । उनका अनुसार कोरियामा रहेका लगानीकर्तालाई आयोजनामा के कस्ता काम भए भनेर संचालक समितिले कहिल्यै भनेन । ‘नत साधारणसभा गरेर कम्पनीको अवस्थाको बारेमा जानकारी दिए’, आयोजनामा दुई लाख लगानी गरेका उनले भने ।

अहिलेसम्म मिल्तीखोला विद्युत् आयोजनामा १४ करोड खर्च भएको बताइएको छ । कोरियामा उठाएको ११ करोड र राष्ट्रिय वाणिज्य बैंकबाट लिएको ३ करोड । ‘हामीले दिएको पैसा संचालकहरुले कता कता खर्च गरे थाहा छैन । थप बैंकको पैसा पनि सकाएछन् । अहिले त बैंकको ब्याज नतिरेको पनि धेरै भयो रे ’ एक लगानीकर्ता रामजी श्रेष्ठले भने ।

सञ्चालकहरुकै बीचमा भएको विवादले काम अगाडि नबढेको मिल्तीखोला विद्युत् परियोजनाका तत्कालीन संस्थापक अध्यक्ष तेन्जी शेर्पा स्वीकार्छन् । ‘हामीले सुरुमा भनेअनुसारको काम गर्न नसकेको हो, टिम राम्रो बन्न सकेन,’ काठमाडौंमा रहेका उनले फोनमा भने, ‘साथीहरुले ०७४ सालमै मलाई हटाएका हुन् । त्यो समयसम्म केही काम भएका थिए । हामीले बैंकसँग लगानीका लागि सम्झौता गरेका थियौं । म कम्पनीमा नभएपछि के गरे केही थाहा भएन ।’

रोजगारका लागि कोरिया आएका नेपालीहरुबाट सबैभन्दा धेरै लगानी गरिएको मिल्तीको भविष्य के हुने अझै थाहा छैन । यसबाट सामुहिक रुपमा काम गर्न चाहनेहरुलाई नकरात्मक सन्देश गएको दक्षिण कोरियामा उर्जा क्षेत्रमा काम गरिरहेका इन्जिनियर कुसाङ शेर्पा बताउँछन् । ‘यो मिल्ती खोलाको काम भएको भए सामूहिक लगानीका अन्य काम हुन सक्थ्यो । कोरियामा ईपीएसमार्फत आएका नेपालीले मासिक कुल ५ अर्ब रुपैयाँ भन्दा बढी कमाउँछन् । यसरी कमाएको पैसा सही ठाउँमा लगानी भए देशलाई नै फाइदा हुन सक्थ्यो’ उनले भने ।आजको कान्तिपुर समाचारमा गोकुल थोकरले ले्नुभएको समाचार